Logo

प्राविधिक शिक्षा पढ्न स्थानीयलाई कर्जा

प्रदेशः कर्णाली
जिल्लाः रुकुम पश्चिम
नगरपालिकाः आठबिसकोट
वडा संख्याः १४
प्रमुखः गोर्खबहादुर केसी ‘सन्देश’
उपप्रमुखः गीता नेपाली
नि.प्रमुख प्रशासकीय अधिकृत : धुब्रप्रसाद लम्साल
क्षेत्रफलः ५६०.३४ वर्गकिलोमिटर
जनसंख्याः ३३,६०१
बजेट : ९१ करोड ९६ लाख

मेरो पालिका


रुकुम पश्चिममा छ वटा स्थानीय तह छन्, जसमा आठबिसकोट नगरपालिका धेरै कारणले चर्चामा छ । नगरपालिका भए पनि भौतिक पूर्वाधार र विकासका हिसाबले पछि परेको तथा दुर्गम बस्तीहरू पनि यस नगरपालिकामा धेरै नै छन् । जसले गर्दा राजनीतिक तथा स्थानीय सरकारको नेतृत्वले यस क्षेत्रको विकास र समृद्धि सपना देख्दैमा मात्र अन्य स्थानीय तहको जसरी सहज तरिकाले विकास भने सम्भव देखिँदैन । यद्यपि स्थानीय सरकार बनेपछि त्यस क्षेत्रको विकासमा अन्य स्थानीयतहको भन्दा तिब्रता पाइएको छ ।
जसको पछाडि नेतृत्वको ईच्छाशक्ति र निरन्तरता नै हो । भौतिक पूर्वाधार निर्माण, गाउँमै उद्योग सञ्चालन, शैक्षिक कर्जामार्फत विद्यार्थीलाई उच्च शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि केही उल्लेखनीय काम भएको नगर प्रमुख गोर्खबहादुर केसी बताउँछन् ।
प्रमुख केसीका अनुसार शिक्षालाई व्यवस्थित बनाउन ४५ जना विद्यार्थी बराबर एउटा शिक्षकको व्यवस्था गरिएको छ । यसअघि एक सयभन्दा बढी विद्यार्थीहरूपनि एउटै शिक्षकले पठाउनुपर्ने बाध्यता थियो । शिक्षक अभाव रहेका विद्यालयमाहरूमा १ सय ६२ जना शिक्षक नगरपालिकाले करारमा नियुक्त गरेर पठाएको छ । उच्च शिक्षामा नगरपालिकाले केही विषयहरूमा विद्यार्थीलाई ब्याजमा अनुदान दिइएको छ ।
हालैको उदाहरणमा नगरपालिकाका दुई जनाले पाइलट पढिसकेका छन् । उनीहरू हुन्, गोविन्द केसी र ललित भण्डारी । केसी र भण्डारीले फिलिपिन्सबाट पाइलट पढेर भर्खरै फर्किएका छन् भने उनीहरूको शिक्षाको लागि नगरपालिकाले ब्याज अनुदानमा ५० लाख रुपैयाँ शैक्षिक कर्जा दिएर पाइलट पढ्न सघाएको थियो । नगरपालिकाले यी दुइलाई पाइलट पढाउनुका साथै अन्य दर्जन विद्यार्थीलाई स्वास्थ्य र इन्जिनियरिङका प्राविधिक शिक्षा लागि पनि ब्याज अनुदानसहित शैक्षिक कर्जा दिएकाले उनीहरू देशका विभिन्न शैक्षिक संस्थामा अध्ययन गरिरहेका छन् ।
यस आर्थिक वर्षमा भने कोरोना महामारीले शैक्षिक क्षेत्र प्रभावित बनेका कारण कर्जा उपलब्ध गराएर अध्यन हुन नसके पनि आगामी आर्थिक वर्षमा निरन्तरता दिईने उपप्रमुख गीता नेपालीले जानकारी दिइन् । स्वास्थ्य क्षेत्रको सुधारका लागि पनि विभिन्न स्वास्थ्य संस्थालाई स्तरवृद्धि गरिएको छ भने १५ शैय्याको नगर अस्पताल निर्माण र संचालन गरेर सेवा विस्तार गरिएको छ । वन तथा कृषि क्षेत्रमा आधारित विभिन्न उद्योग सञ्चालन गरिएको छ ।
फलफूलमा आधारित जुस उद्योग, प्लाई उद्योग, बेसार उद्योग, गार्मेन्ट उद्योग र साबुन उद्योग सञ्चालन गरेर उत्पादन सुरु गरिएको छ । स्थानीय सरकार गठन भएपछि २ सय किलोमिटर नयाँ सडक खनिएको छ भने धेरै सडकहरू स्तरवृद्धि गरिएको छ । विभिन्न १३ वा झोलुंगे पुल र ३५ ठाउँमा काठेपुल निर्माण गरेर स्थानीयलाई सुविधा दिइएको छ ।
विद्युत्को क्षेत्रमा पनि अधिकांश वडामा पहुँच विस्तार भइसकेको छ भने निकट भविष्यमै स्यालाखदीमा १ मेगावाटको विद्युत् आयोजना सञ्चालनमा आउँदै छ । यसका लागि डीपीआर तयार पार्ने लगायतका काम भइसकेको छ ।
यो बिजुलीले नगरपालिकाको आवश्यकता पूरा भएर पनि अन्यत्र बिक्री गरी पालिकाको आम्दानी बढाउने योजना छ । नगरपालिकाको आन्तरिक आयलाई पनि व्यवस्थित बनाइएको मेयर केसीले बताएका छन् । प्रत्येक आर्थिक वर्षमा लक्ष्यभन्दा बढी नै आन्तरिक राजस्व संकलन गरिरहेको नगरपालिका जिल्लामै उदाहरणीय बनेको छ । ‘समृद्ध सहरको रहर, स्वच्छ, सफा र शान्त आठविसकोट नगर’ भन्ने मूल नारालाई आत्मसात गर्दै यस नगरपालिका क्षेत्रको समृद्ध, समुन्नति र विकासको लागि एकतावद्ध ढंगले अगाडि मेयर केसीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्