Logo

रुकुमका केही क्षेत्र पर्यटकीय गन्तव्यमा समेटिएनन्

रुकुम- सरकारले केही दिनअघि सार्वजनिक गरेको १ सय नयाँ पर्यटकीय स्थलहरूको सूचीमा रुकुम पूर्व र पश्चिमबाट भने सम्भावना बोकेका पर्यटकीय स्थलहरू समेटिएका छैनन् । थोरै लगानी र थोरै प्रचारप्रसार गर्दा पनि राम्रो पर्यटकीय सम्भावना बोकेका रुकुम पश्चिमको डिग्रे शाईकुमारी मन्दिर, स्यार्पु ताल र पूर्वको कमलदह नयाँ पर्यटकीय गन्तव्य र प्रवद्र्धन गर्नुपर्ने पुराना पर्यटकीय स्थल कुनैमा पनि नपरेका हुन् ।
सरकारले सार्वजनिक गरेको सूचीमा रुकुम पूर्वबाट प्रवद्र्धन गर्न गुरिल्ला ट्रेल पारेको छ भने नयाँ गन्तव्यमा ढोरपाटन मैकोट सेफोक्सुण्डो पर्यटन पदमार्ग छ । त्यस्तै रुकुम पश्चिममा स्थापित र प्रवद्र्धन गर्नुपर्ने गन्तब्यहरू कुनै नराखिएको भए पनि नयाँ विकास गरिने गन्तव्यमा गोतामकोट चित्रिपाटन साहासिक पदमार्ग राखिएको छ । रुकुम पश्चिम आठबिसकोट नगरपालिकाका स्थानीय तथा सञ्चारकर्मी हरि परियारले चित्रिपाटनले मात्र पर्यटनको मन तान्न नसक्ने भन्दै त्यस रुटमा अन्य पर्यटकीय स्थल र पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउँछन् ।
“सरकारले घोषणा गरेको यो पदमार्ग अपुरो छ, स्यार्पुताल बेशक्याम्प बनाएर झारमारे लेख, ठूलो खर्च, भेडापाटन हुदै चित्रिपाटन जोड्नुपर्ने थियो,” उनले भने, “जसले गर्दा रुकुम पश्चिमको अर्को पर्यटकीय स्थल स्यार्पुताल पनि जोडिने थियो भने साहासिक उक्त पदमार्गको यात्रा थप आनन्दित र रोमाञ्चक हुने थियो ।” रुकुम पूर्वमा थप प्रवद्र्धन गर्न गुरिल्ला पदमार्ग राखिएको भए पनि रुकुम पश्चिममा भने समेटिएको छैन । तर गुरिल्ला पदमार्गको अवधारणा द्वन्द्वकालमा लडाकु हिँडेका रुकुम पूव र पश्चिमका द्वन्द्वग्रस्त क्षेत्रलाई समेटिएको थियो ।
तर, रुकुम पूर्वमा मात्र यस कार्यक्रमलाई प्रवद्र्धन दिएर रुकुम पश्चिममा नसमेटिदा गुरिल्ला पदमार्ग अपुरो हुने स्थानीयहरूको भनाई छ । रुकुम पश्चिमका खारा, डलसिंगे, चुनबाङ र महत जस्ता ठाउँहरू द्धन्द्धकालमा लडाकु हिँड्ने चर्चित ठाउँहरू हुन् । रुकुम पूर्व मैकोटका स्थानीय तथा पर्यटनका जानकार भरतकुमार पुनले सरकारले रुकुम पूर्वबाट छनोट गरेको नयाँ पर्यटकीय गन्तब्यले पर्यटनमा केही उत्साह थपे पनि प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताउँछन् । “रुकुम पूर्वमा गुरिल्ला पदमार्गको रुपमा राखिएको रैछ, तर यार्सा पदमार्गको रूपमा नाम राखिएको भए निकै राम्रो हुन्थ्यो होला,” पुनले भने । रुकुम पूर्वको ढोरपाटन, मैकोट र पाटन क्षेत्र यार्सा पर्यटनका क्षेत्रमा चर्चित छ ।

प्रतिक्रिया दिनुहोस्