एसिया स्वच्छ व्यवसाय सम्मेलन आजदेखि «

एसिया स्वच्छ व्यवसाय सम्मेलन आजदेखि

काठमाडौं-फेयर ट्रेड ग्रुप नेपालले बिहीबारदेखि ‘एसिया स्वच्छ व्यवसाय सम्मेलन–२०१८’ आयोजना गर्ने भएको छ । हरेक दुई वर्षमा एसियाका विभिन्न सहरहरूमा आयोजना हुने यो सम्मेलन यस वर्ष नेपालमा हुने भएको हो । स्वच्छ व्यवसाय समूह नेपालले काठमाडौंमा तीन दिनसम्म विभिन्न विषयहरूमा छलफल, विचार विमर्श र प्रदर्शनी आयोजना गरी सम्पन्न गरिने जनाएको छ । सम्मेलनमा विश्व स्वच्छ व्यवसाय संगठन वल्र्ड फेयर ट्रेड अर्गनाइजेसन एसियाका सदस्यहरूका साथै विश्वभरका स्वच्छ व्यवसाय संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन् । जसमा विभिन्न मुलुकका उत्पादकहरू, क्रेता, विक्रेता, विज्ञहरू र नीति निर्माताहरू गरी करिब १ सय ५० प्रतिनिधिले सहभागिता जनाउने छन् ।
‘दिगो विकास लक्ष्य २०३० मा स्वच्छ व्यवसायको भूमिका’ प्रमुख मुद्दा रहने यो सम्मेलनले स्वच्छ व्यवसायको मूल्यांकन पद्धति, बजार विस्तार र स्वच्छ व्यवसाय प्रवद्र्धनका विषयमा व्यापक छलफल गर्नेछ । सम्मेलनमा उत्पादकहरूका लागि जीवननिर्वाह ज्याला र स्वच्छ ज्याला विषयमा पनि छलफल गरी स्वच्छ व्यवसाय अभियानका भावि नीतिहरू पनि तय हुने आशा गरिएको जनाइएको छ । विज्ञहरूले हालसम्म स्वच्छ व्यवसाय अपनाई रहेका व्यवसायहरूको अनुभव र दिगो व्यावसायिक मोडलमा स्वच्छ व्यवसायका प्रचलित मुद्दाहरू पनि छलफलका विषयहरू हुने छन् ।
सम्मेलनको प्रमुख आकर्षणका रुपमा प्रद्धर्शनी तथा बीटूबी मिटिङ पनि आयोजना गरिने छ । जसमा उत्पादहरूले आफ्ना नयाँ उत्पादनहरू प्रर्दशन गरी एसिया प्रशान्त, युरोप र उत्तर अमेरिकी क्रेताहरूसँग सम्पर्क बढाउन सक्नेछन् । प्रदर्शनीमा विश्व स्वच्छ व्यवसाय संगठनका सदस्य र उत्पादक गरी करिव ५० वटा स्टल रहनेछन् । विगतका अनुभवहरूले यस किसिमको प्रदर्शनीले नयाँ व्यापारिक सम्झौताका लागि प्रमुख माध्यम सावित भइसकेको विज्ञप्तिमा उल्लेख छ ।
बजारीकरणका लागि हुने कार्यशाला तथा गोष्ठीमा डिजाइन र बजार विज्ञहरूद्वारा प्रचलित बजार ट्रेण्ड र वस्तु विकास सम्बन्धमा प्रकाश पार्ने कार्यक्रम छ भने सामाजिक सञ्जाल प्रबद्र्धनका विधिहरू पनि सम्मेलनका प्रमुख आकर्षणका विषय हुने छन् ।
विश्व स्वच्छ व्यवसाय संगठनले आफना १० सिद्धान्तमा प्रतिबद्ध रहेका सदस्यहरूलाई ग्यारेन्टेड सदस्यता प्रदान गर्दै आइरहेको छ । डब्लूएफटीओ ग्यारेन्टी सिस्टम मार्फत स्वच्छ व्यवसायलाई अझ बढी विश्वश्नीय र पारदर्शी बनाउने विषयमा पनि सम्मेलनमा छलफल हुने जनाइएको छ
सम्मेलनमार्फत स्वच्छ व्यवसाय प्रवद्र्धन गरी क्षेत्रीय नेटवर्क( संजाल) विस्तार गर्ने, स्वच्छ व्यवसायलाई दिगो व्यवसायिक मोडल बनाई दिगो विकास लक्ष्य २०३० मा योगदान पु¥याउन सक्ने विषयमा छलफल, बहस र सम्बादको विषय बनाउने लक्ष्य लिइएको छ । यस्तै, बजार पहुँचको अवसर प्रदान गर्ने नेपालको परिपेक्षमा स्वच्छ व्यवसाय वारे जनचेतना जगाउने लगायतका उद्देश्य छन् ।

प्रतिक्रिया दिनुहोस्