३६ सय ६७ आवास एकाइ सम्पन्न «

३६ सय ६७ आवास एकाइ सम्पन्न

सहरी विकास मन्त्रालयले सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा तीन हजार ६६७ आवास एकाइ सम्पन्न गरेको छ । मन्त्रालयको चालू आवमा हालसम्मको प्रगति सार्वजनिक गर्न आज आयोजना गरेको कार्यक्रममा मन्त्रालयले सो कार्यक्रमअन्तर्गत हालसम्म छ हजार ९६७ आवास एकाइ सम्पन्न भएको जनाएको छ ।
त्यस्तै सुरक्षित नागरिक आवास कार्यअन्तर्गत १२ हजार १४२ नयाँ लाभग्राही छनोट गरी पहिलो किस्ताबापतको रकम भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ । शहरी विकासमन्त्री प्रभु शाहले विपन्न वर्गलाई लक्षित जनता आवास र सुरक्षित आवास कार्यक्रम स्थानीयस्तरमा अपेक्षा गरिए जस्तो प्रगति नभएको बताए ।
यी कार्यक्रममा प्रभावकारिता, जवाफदेहिता र एकरुपता ल्याइने उनले बताए । नयाँ शहर निर्माणका लागि कतिपय स्थानमा विस्तृत अध्ययन भइरहेको र अध्ययन भइसकेका स्थानमा कार्यन्वयनको क्रममा रहेको उनले बताए ।
फुसको छानालाई विस्थापित गरी जस्तापाताले छाना छाउन सरकारले विसं २०७४÷७५ मा कार्यक्रम शुरु गरेको थियो । चालू आवभित्र मन्त्रालयले एक लाख ५० हजार सुरक्षित नागरिक आवास निर्माण गर्ने कार्यक्रम तय गरेको छ । आगामी तीन वर्षभित्र सात लाख ५० हजार फुसको छाना विस्थापन गर्ने लक्ष्य लिइएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्