क्लिनफिडले चलचित्र क्षेत्रमा थपिदिएको चुनौती— २ «

क्लिनफिडले चलचित्र क्षेत्रमा थपिदिएको चुनौती— २

अनधिकृत रूपमा चलचित्रहरू पाइरेसीको सिकार हुनु भनेको व्यापारको विषय मात्रै होइन, यो त गम्भीर अपराध र मौलिकताविरुद्वको अपराधसमेत हो ।

अपमानित गहना
कलाकारहरूलाई राष्ट्रको गहना भनिन्छ । कलाको माध्यम अनि नेपाली चलचित्रको माध्यमबाट नेपालको अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित हुने गर्छ, तर नेपालमा नेपाली कलकारहरूको सम्मान हुने गरेको देखिँदैन । कलाकारहरूको सार्वजनिक जीवन र कलाको विषय उसको अभिनय कौशलको प्रशंसा गर्नेभन्दा पनि उसको व्यक्तिगत जीवनप्रति अत्यधिक चासो रहेको देखिन्छ ।
कुनै कलाकारलाई देशको राष्ट्रिय टेलिभिजनमा अन्तर्वार्ता दिन बोलाए उसको हुर्मत लिने साथै उसको व्यक्तिगत विषय त्यसमा पनि यौनजीवन, उसको अनुहार, छालाको प्रसंग निकालेर उछितो काढ्ने गरिन्छ । यसले नेपाली दर्शक र श्रोताप्रति कस्तो असर पार्छ, साथै उसको व्यक्तिगत विषय र पारिवारिक तथा सामाजिक रूपमा कस्तो असर पार्छ सोबारेमा हेक्का राखिँदैन । यतिमात्रै होइन, नेपाली कलाकारहरूले आफ्नो स्टारडम र सेलिब्रेटीपनालाई जोगाउन सकेको देखिँदैन वा आफ्नो सेलिब्रेटीपनाप्रति हेक्का राखेको देखिँदैन । दरबारका पसलमा पाइन्ट दलाल गर्ने पनि के सेलिब्रेटी ! कोही सेलिब्रेटीहरू होटलबाट रंगेहात प्रकाउ परेको उदाहरण भेटिन्छन्, जसले नेपाली कलकारहरूको सार्वजनिक स्तर घटाइरहेको देखिन्छ, जसले नेपाली चलचित्रको व्यापारका साथै विज्ञापनको प्रभावकारितामा समेत असर पर्ने देखिन्छ । यसर्थ अब क्लिनफिडपश्चात् नेपाली कलाकारदेखि मिडियाहरूले कला पहिचान र मर्यादा कायम राख्न सक्नुपर्ने देखिन्छ, जुन अर्को चुनौती हो ।

पुरातन शैलीको निरन्तरता
हाल नेपालमा बनेका चलचित्रहरूमा जिन्दगीभरि कपाल घुमाएर वा ठड्याएर, ओठ लेप्य्राएर, ढाड बङ्ग्याएर, टिसर्ट र पाईन्ट अनि जुत्ता च्यातेर, जबरजस्ती मान्छे हँसाउने प्रयास गरेको देखिन्छ । अहिले त पहिले–पहिले जस्तो पाइन्टको पछाडि कागजको पुच्छर हालेर दर्शक हँसाउने प्रयास गर्दा त भर्खरका बालबालिकाहरूसमेत हाँस्दैनन्, यस्तो के गरेको, के कुनै नयाँ कस्सेप्ट र आइडिया आउँदैन । जीवनमा कहिल्यै नसुनेको थेगो हाल्न लगाएर पनि मान्छे हाँस्ने प्रयास गर्दा हुन्छ । टाउको कन्याएर, चुइगम पट्काएर, ङिच्च दाँत देखाएर, जिङ्ग्रिङ्ग परेको कपालको लट्टा कोरेको भनेजस्ता डाइलग बोल्न सिकाउने नेपाली चलचित्रका लेखक, निर्देशक साथीहरू, थिंक ट्याङ्कहरू ! तपाईंहरू गलत पेसामा हुनुहुन्छ । यसमा कलाकारहरूको खासै गल्ती पनि देखिँदैन । यही हो नेपालीले राम्रो र हाम्रो भनेर गर्व महसुस गर्ने कार्यक्रमहरूको स्तर । नेपाली दर्शकलाई सधैं यसरी नै हँसाउन सकिएला त ? के अनि हामीले पनि दर्शक नै भएर यस्तै कमसल चलचित्रहरूलाई नै आफ्नो भनेर माया गरिरहनुपर्ने । अनि यस्तै चलचित्रका लागि भनेर निर्माताहरूले लगानी गर्नुपर्ने अनि कम्पनीहरूले पनि विज्ञापन दिनपर्ने ।
ट्र्याङ, ट्र्याङ गरेको गर्ने ब्याकग्राउन्ड म्युजिक हाल्यो, क्रियटिभ भइयो, नयाँ सोच आयो । कम्तीमा नक्कली दाह्री–जुँगा हालिसकेपछि राम्ररी त हाल्नु । दर्शकले यो नक्कली हो भन्ने जानी–जानी हालेको अनि दर्शकले पहिले नै थाहा पाएको अनि पूर्वानुमान गर्ने चलचित्र पनि कहीं दिगो हुन्छ, अनि कुनचाहिँ काम नपाएको मानिसले हेर्ला यस्ता चलचित्रहरू । एउटा तन्नेरी ठिटोलाई साइड–साइडमा सेतो पाउडर रंग दलेर बूढो बनाएको दृश्य देखाउँदा दर्शकले पत्याइदिनुपर्ने अनि होमा हो मिलाउनुपर्ने अवस्था अहिले पनि हाम्रा चलचित्रहरूमा देखाउने गरिन्छ । यस्ता दृश्यले चलचित्रमा गरेको लगानी रिटर्न हुने त परको कुरा, दर्शक आकर्षित हुनुको सट्टा दर्शक भड्किन्छन् । बजेट र बजार सीमित भएर भन्ने तर्क गर्ने हो भने यो तर्क र तथ्य गलत सावित हुन्छ । राम्रा चलचित्रहरूलाई प्रायोजन गर्ने कम्पनीहरूको कहिल्यै कमी हुँदैन । न त यस्ता चलचित्रहरूमा लगानी गर्ने लगानीकर्ताको कमी नै हुन्छ, तर नेपालमा क्लिनफिडपछिको समयमा पनि यसरी नै गुणस्तरहीन चलचित्रहरू निर्माण गरेर प्रदर्शन गरिरहने हो भने दर्शकले राम्रा चलचित्रहरू जुनसुकै माध्यम अपनाएर भए पनि हेर्ने निश्चित छ । र, क्लिनफिडपश्चात् पनि नेपाली जनताले यस्तो प्रवृत्तिमा सुधार नभए क्लिनफिडलाई राष्ट्रवाद भनेर मात्रै स्वीकार गरिरहलान् र नेपाली सिनेमाप्रति अटल माया गरिरहलान् भन्नेमा शंका गर्ने ठाउँहरू देखिन्छ ।

पूर्वाग्रही समीक्षा
नेपाली चलचित्रको क्षेत्रमा सुधार हुन नसकेको अर्को पक्ष हो— चलचित्रप्रति गरिने पूर्वाग्रही समीक्षा । समीक्षा यसरी गरिन्छ कि यसबाट चलचित्रकर्मी र चलचित्रप्रति तुष पोख्ने माध्यमका रूपमा लिने गरिन्छ । पूरा चलचित्र हेर्ने भन्दा पनि घरमा ट्रेलर हेरेर एउटा माइन्ड सेट गरेर चलचित्र हेर्न जाने अनि घरमा आएर चलचित्रप्रति समीक्षा गरेर हत्तपत्त त्यसलाई मिडियामा ल्याउने गरिन्छ । यस्तो हतारो किन, कम्तीमा एक शो त चलचित्र हेरेर समीक्षा गर्नु उचित होला । आफैंले पूर्णाङ्क निर्धारण गरेर आफंैले अंक दिने प्रवृत्ति देखिन्छ ।
नेपाली चलचित्रप्रति पूर्वाग्रही हुने समीक्षक भने बलिउड र हलिउडप्रति नरम हुने गरेको देखिन्छ । नेपालीभन्दा कम व्यापार गरेका र फ्लप भएका बलिउड र हलिउडका चलचित्रहरूलाई पनि राम्रो हुँदाहुँदै पनि व्यापार गर्न असफल भन्न ट्याग लगाइन्छ भने नेपाली चलचित्र भन्नेबित्तिकै एक किसिमको अमिलो अनुहार बनाउने, हेर्दै नहेरी नेपाली चलचित्रप्रति नकारात्मक धारणा पैदा गर्ने गरिन्छ ।
के नेपाली मिडियाहरूमा समीक्षा गर्नेहरूको हैसियत समीक्षा गर्न लायक छ त । समीक्षकहरूले नेपाली चलचित्रकर्मीहरूको शैक्षिक स्थिति र धरातलप्रति जुन धारणा राख्छन् नि के नेपाली चलचित्रका समीक्षकहरू पनि समीक्षा गर्न लायक छन् । हिजो समीक्षक रहेकाहरू आज आफैं निर्देशक बन्दा पनि किन दर्शकको रुचिअनुसार र सफल व्यावसायिक फिल्म दिन सक्दैनन् । के दुई–चारवटा चलचित्रका छायांकनमा देख्दैमा, प्रोस्ट प्रोडक्सन स्टुडियोमा जाँदैमा कोही पनि समीक्षक बन्न सक्ला त । यसर्थ नेपाली समीक्षकहरूले समीक्षा गर्ने नाउँमा नेपाली चलचित्रप्रति यति धेरै विष वमन गर्नु जरुरी छैन ।

पाइरेसी
नेपाली चलचित्र क्षेत्रले खेप्नुपरेको अर्को समस्या हो— चलचित्रहरू पाइरेसी हुनु, कपि भएर अनधिकृत रूपमा बिक्री–वितरण हुनु । नेपालमा सञ्चारको विकास र सामाजिक सञ्जालहरूको व्यापकतासँगै नेपाली चलचित्रहरू झन् व्यापक रूपमा कपि हुने साथै फेक आइडी र एकाउन्टबाट युट्युब र फेसबुकतिर सेयर हुने गरेको देखिन्छ ।
यसरी अनधिकृत रूपमा चलचित्रहरू पाइरेसीको सिकार हुनु भनेको व्यापारको विषय मात्रै होइन, यो त गम्भीर अपराध र मौलिकताविरुद्वको अपराधसमेत हो । यसले चलचित्रकर्मीहरूलाई आर्थिक व्यवहार थप्ने मात्रै होइन कि चलचित्र उद्योगबाट नै पलायनको स्थिति सिर्जना गराउने देखिन्छ । नेपालमा पाइरेसीसम्बन्धी कानुनी व्यवस्था र दण्डका प्रावधानहरू कमजोर भएका कारण पाइरेसीका घटनाहरू दिनप्रतिदिन बढिरहेका छन् । अब क्लिनफिडको कार्यान्वयनपश्चात् नेपालमा विदेशी लगानीसहितका महँगा बजेटमा चलचित्रहरू बन्ने अवस्थामा पाइरेसी हुन पुगेमा हालको फितलो कानुनी व्यवस्थाले नेपाली चलचित्रमा विदेशी लगानी भित्रिन कमी आउने मात्रै होइन, यसले राष्ट्रको कानुनी शासन र दण्डहीनताको अवस्थालाई अन्तर्राष्ट्रिय स्तरमा चित्रित गर्ने हुँदा यसको उचित सम्बोधन अर्को चुनौती देखिने निश्चित छ ।

नेपोटिज्म
बलिउडमा निकै बहसको विषय बनेको नेपोटिज्म अर्थात् आफ्ना भाइभतिजा र छोराछोरीदेखि स्टार किड्सलाई चलचित्र उद्योगमा अवसर दिने प्रचलन नेपालमा पनि अब बलिउडको अनुसरण गर्दै गएको देखिन्छ । राम्रो र क्षमतावान्लाई भन्दा आफ्नोलाई लगानी दिने, प्राथमिकता दिने, आफ्नो गुट निर्धारण गर्ने प्रवृत्ति नेपाली चलचित्र क्षेत्रमा पनि मौलाउँदै गएको देखिन्छ ।
स्टारपुत्रहरूका लागि महँगो रूपमा लगानी गर्ने साथै प्रचारप्रसारमा सहयोग गर्ने तर क्षमतावान् र अभिनयमा निखार भएका कलाकारहरूलाई स्थान नदिने साथै ब्रेक दिँदा पनि पारिश्रमिक कम दिने र प्रचारप्रसारमा सहयोग नगर्ने गरेको गुनासो नेपाली चलचित्रकर्मीहरूले बेलाबेला पोख्दै आएका छन् ।

रिल लाइफ र रियलको व्यवस्थापन
नेपाली चलचित्रको अर्को समस्या भनेको कलाकारहरूले रियल र रिल लाइफमा फरक छुट्ट्याउन नसक्ने अवस्था देखिन्छ । बत्तीको उज्यालोमा पुतली होमिए जसरी चलचित्रको रंगीन संसारमा युवा पुस्ता आकर्षित हुने र यसलाई व्यवस्थान गर्न नसक्दा उनीहरू डिप्रेसनमा जानेदेखि लिएर यौन हिंसा र दुव्र्यसनको सिकार हुन पुगेको देखिन्छ । नेपाली चलचित्रहरूमा नायकले गुन्डाहरूबाट नायिकालाई बचाएको साथै नायकले नायिकालाई औधी माया गरेको, मन पराएको र आफ्नो माया पाउन जे पनि गर्न सक्ने र जुन हदसम्म पनि जान सक्ने अवस्था देखिन्छ । तर, रियल लाइफमा नायिकहरूका असली शत्रु फिल्मका खलपात्र नभएर रिल लाइफका रक्षकहरू नै रियल लाइफमा भक्षक बन्न पुगेको समाचारहरू बारम्बार आउने गरेको देखिन्छ । आफ्ना बाबु, हजुरबासमानका निर्माता–निर्देशकहरूले नवनायिकाहरूलाई ब्रेक दिने वा निरन्तरता दिने नाममा दुव्र्यवहार गरेका उदाहरणहरू सार्वजनिक भएका देखिन्छन् ।
चलचित्रमा कथाले मागेभन्दा नायिकाले बढी दिन तयार भएको, कथामा भन्दा निर्देशकलाई बढी चाहिने र निर्देशकभन्दा लगानी गर्ने निर्मातासँग बढी सम्झौता गर्नुपर्ने अवस्थामा नायिकाहरूले चलचित्रमा नामभन्दा बढी बदनाम र अभिनयभन्दा बढी शरीर बिक्री गर्ने गर्नुपरेको अवस्थालाई विभिन्न समाचार र अन्तरबार्ताहरूमा नायिकाहरूले नै दुखेसो पोख्ने गरेको देखिन्छ, तर नेपालमा फितलो कानुनी प्रबन्ध र पुरुषवादी सोच र मानसिकताले जरो गाडेको अवस्थामा बलिउडमा मिटु अभियान सफल भए पनि नेपाली चलचित्रमा मिटु सम्बन्धीका समाचारहरू बाहिर आउन सकेको देखिएन ।

राजनीतिक यात्रा
बलिउडमा कलाकारहरूले राजनीतिक पदहरूमा समेत आफ्नो दर्विलो स्थान बनाउन सफल भएका छन् । उनीहरूले पेसेवर राजनीतिक खेलाडीहरूलाई पराजित गर्दै विधानसभा र मन्त्रीसमेत बन्न सफल भएको अवस्थामा नेपाली चलचित्र क्षेत्र राजनीतिक रूपमा अछुतो नभए पनि राजनीतिक नियुक्ति लिन सक्ने अवस्थामा देखिँदैन ।
कलकारहरू राजनीतिमा आउँदा यसले चलचित्र क्षेत्रको मात्रै स्तर फेरिने होइन, यसले समाजमा कला र गहनाको पहिचान स्थापित गर्न मद्दत पु-याउने देखिन्छ । नीति निर्माणदेखि चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पु-याउन साथै आमजनसाधारणमा थप ध्यान आकर्षण गर्न सफल हुने देखिन्छ । चलचित्र क्षेत्रभन्दा बाहिरका मानिसहरू चलचित्र सम्बद्ध नीति निर्माण गर्ने तहमा पुग्नुभन्दा सोही फिल्डकाले अवसर प्राप्त गरेमा यसले थप ऊर्जा थपिने निश्चितप्रायः छ ।

प्रतिक्रिया दिनुहोस्