एनआरएनएको लगानी कम्पनी एक साताभित्र «

एनआरएनएको लगानी कम्पनी एक साताभित्र

१० अर्बको कम्पनीमा सरकारको लगानी ५० करोड


गैरआवासीय नेपाली संघ (एनआरएनए) को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोषका लागि कम्पनी दर्ता अन्तिम चरणमा पुगेको छ ।
संघले एनआरएन नेपाल डेभलपमेन्ट फण्ड कम्पनी लिमिटेड दर्ताका लागि दुई वर्षदेखि प्रक्रिया अघि बढाएकोमा अहिले अन्तिम चरणमा पुगेको हो । कम्पनीमा १० प्रतिशत गैरआवासीय नेपाली संघका सदस्यको संस्थापक सेयर र ८५ प्रतिशत गैरआवासीयको साधारण सेयर तथा ५ प्रतिशत सरकारको सेयर रहनेछ । १० अर्बको पुँजी रहेको फण्डमा १ अर्ब संस्थापक सेयर, ५० करोड सरकार तथा ८ अर्ब ५० करोड गैरआवासीय नेपालीको सेयर रहनेछ । गैरआवासीय नेपालीले न्यूनत्तम १० डलरसम्म सेयर हाल्ने व्यवस्था गरिएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, अर्थ सचिव शिशिरकुमार ढुंगाना, राजस्व सचिव रामशरण पुडासैनी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टसमेतको उपस्थितिमा अर्थ मन्त्रालयमा बिहीबार बसेको बैठकले कोषमा नेपाल सरकारको तर्फबाट पूर्व सहमति बमोजिम पाँच प्रतिशत लगानी गर्ने निर्णय भएको समेत भएको छ ।
सो अवसरमा अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालयको तर्फबाट उक्त कोष सञ्चालन गर्ने सन्दर्भमा आवश्यक रकमका साथै अन्य सहयोग उपलब्ध गराउने प्रतिवद्धता प्रकट गर्दै एक हप्ताभित्र कम्पनीको दर्ता प्रक्रिया टुंगो लगाई तत्काल काम सुरु गर्न गैरआवासीय नेपाली संघलाई आग्रह गरे । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले कम्पनी दर्ताको प्रक्रिया छिट्टै टुंग्याई दर्ताको काम सुरु गर्ने बताए ।
सन् २०१८ मा एनआरएनले कोष निर्माण प्रक्रिया अघि बढाएको थियो । सो वर्ष भएको लगानी सम्मेलनमा १० अर्बको लगानी गर्ने प्रतिवद्धतासहितको समझदारी पनि भएको थियो । विश्वभरका गैरआवासीय नेपालीको विवरण संकलनमा ढिलाइ भएपछि बल्ल दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको हो । एनआरएनएका वित्तीय परामर्शदाता अनलराज भट्टराईका अनुसार दर्ता गर्न प्रबन्धपत्र निमयावली अन्तिम चरणमा पुगेको छ भने आवश्यक सबै विवरण तयार भइसकेकोले आगामी हप्ता दर्ताको लागि प्रक्रिया अघि बढ्नेछ ।
गैरआवासीय नेपालीको लगानीका लागि आईपीओ जारी गरिने एनआरएनएले जनाएको छ । गैरआवासीय नेपाली संघका अनुसार लगानीका क्षेत्रहरुबारे पनि प्रस्तावहरु आइसकेको र विदेशमा रहेका नेपालीहरु नेपालमा पूर्वाधार विकासको क्षेत्रमा लगानी गर्न उत्सुक रहेको बताइएको छ । नयाँ र निर्माणको चरणमा रहेका गरी पाइपलाइनमा १६० परियोजना रहेको र ती परियोजनाबाट छनोट गरी पूर्वाधार, जलविद्युत्, पर्यटन, कृषि लगायतका क्षेत्रमा लगानी गर्ने योजना कम्पनीको छ ।
केही समयअघि एनआरएनएका पूर्वअध्यक्ष भवन भट्ट र जीवा लामिछानेसहित एनआरएनएको टोलीले १० अर्बको सामूहिक लगानीको प्रारम्भिक खाका प्रस्तुत गर्दै यसमा प्रमोटरका रुपमा ४१ प्रतिशत लगानी गैरआवासीय नेपालीहरुले गर्ने विषयमा छलफल र परामर्श गरेको थियो । खाकाका बारेमा पटक–पटक परराष्ट्र मन्त्रालयका अधिकारीसँग पनि छलफल भएको थियो ।

सेयर संरचना
लगानीकर्ता लगानी प्रतिशत रकम (करोडमा)
एनआरएनए (संस्थापक) १० १००
एनआरएनए सदस्यहरु (साधारण) ८५ ८५०
नेपाल सरकार ५ ५०

प्रतिक्रिया दिनुहोस्