विकास बैंकहरूलाई प्राप्ति गर्दै वाणिज्य बैंकहरू «

विकास बैंकहरूलाई प्राप्ति गर्दै वाणिज्य बैंकहरू

बैंक तथा वित्त कम्पनीहरू एकआपसमा मर्ज र प्राप्ति हुँदा सेयर बजारमा सेयरको मूल्यमा पनि तलमाथि हुने गरेको छ ।

पछिल्लो समयमा बैंकिङ क्षेत्र तथा सेयर बजारमा वाणिज्य बैंकहरूको बिग मर्जरको चर्चा चलि नै रहेको छ । केही वाणिज्य बैंकहरूको मर्जरको चर्चा हल्लाले सेयर बजारमा प्रभाव पनि पार्ने गरेको छ । यसले सेयर बजारमा सेयरको मूल्यमा पनि असर गरिरहेको छ । त्यसो त बिग बैंकहरूलाई बिग मर्जरमा जान दबाब दिदै नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एकआपसमा मर्जर गराउन चाहिरहेको छ । तर, बिग बैंकहरू एकआपसमा मर्जर गर्नमा भन्दा पनि विकास बैंक तथा फाइनान्स कम्पनीहरूलाई आफूमा समाहित गर्नतिर लागिपरिरहेका छन् ।
पछिल्लो समयमा सिटिजन्स बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंक गाभिने भएको छ । तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक मर्जर भएर तिनाउ मिसन डेभलपमेन्ट बैंक भएकोमा अब फेरि सिटिजन्स बैंकसँग गाभिन पुगेका छन् । पछिल्लो समयमा बैंकहरूबीच गाभ्ने÷गाभिने रहर हो कि लहर नै चलेको छ । एकपछि अर्को गरी वाणिज्य बैंकहरूले विकास बैंक तथा फाइनान्स कम्पनीहरूलाई गाभ्ने गरिरहेका छन् । त्यसो त कतिपयको भनाइमा यसको लहर नै चलिरहेको छ भने कतिपयको भनाइमा प्रतिस्पर्धाजस्तो नै भइरहेको पनि छ ।
केही महिनापहिले प्राइम बैंकले सहयोगी विकास बैंक, मेगा बैंकले गण्डकी विकास बैंक र एनएमबी बैंकले ओम डेभलपमेन्ट बैंकलाई आफूमा गाभेको थियो । यी बैंक आफ्नो क्षेत्रमा राम्रो पकड बनाएर बसेका नाम कहलिएका विकास बैंकहरू हुन् । वाणिज्य बैंकहरूको रोजाइमा काठमाडांै उपत्यकाबाहिरका राम्रा विकास बैंकहरू पनि पर्ने गरेका छन् । धेरैजसो राम्रा विकास बैंकहरू काठमाडौं उपत्यकाबाहिर नै रहेका छन् । यस कारणले पनि वाणिज्य बैंकहरूले विकास बैंकहरूलाई एक्वाएर गर्ने गरिरहेका छन् भन्दा पनि फरक नपर्ला ।
काठमाडौँ उपत्यकाबाहिर प्रभुत्व बनाइरहेका विकास बैंकहरूलाई गाभ्दा वाणिज्य बैंकहरूलाई काठमाडौं उपत्यकाबाहिर शाखाहरू विस्तार गर्न झन्झट नहुने कारणले पनि विकास बैंकहरूलाई खरिद गर्ने लहर नै चलेको हो भन्दा पनि फरक नपर्ला । देशका सबै स्थानीय तहमा वाणिज्य बैंकहरूले आफ्ना शाखा विस्तार गर्नुपर्ने सरकारको नीति निर्देशन भएका कारणले पनि वाणिज्य बैंकहरूले शाखा खोल्नभन्दा विकास बैंकहरूलाई एक्वाएर गर्दा सजिलो हुने र शाखाहरू खोल्न नपर्ने भएकाले पनि विकास बैंकहरूलाई एक्वाएर गर्ने लहर नै चलेको हो । यस्तै, वाणिज्य बैंकहरूको पुँजी वृद्धि गर्न प्रतिस्पर्धा पनि चलेको देखिन्छ । पुँजी वृद्धि गर्नका लागि पनि विकास बैंकहरूलाई एक्वाएर गर्नपट्टि लागेका छन् ।
पछिल्लो समयमा विकास बैंकहरूको पुँजी पनि २ सय ५० करोडभन्दा बढी भइसकेको छ । त्यसैगरी विकास बैंकहरू पनि वाणिज्य बैंकहरूमा गाभिन पुग्दा वाणिज्य बैंकहरूमा बढोत्तरी हुने भएकाले पनि कतिपय विकास बैंकहरू वाणिज्य बैंकमा गाभिन पुगेका छन् भन्दा पनि फरक नपर्ला । तर, कतिपयको भनाइमा विकास बैंकहरूले वाणिज्य बैंकहरूसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने भएकाले विकास बैंकहरू पनि वाणिज्य बैंकहरूसँग गाभिन चाहेको जस्तो पनि देखिन्छ ।
खास गरी नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई घटाउन चाहिरहेको छ । यसका लागि वाणिज्य बैंकहरूलाई एकआपसमा मर्ज गर्न दबाब दिइरहेको हो । नेपाल राष्ट्र बैंकको बुझाइमा नेपालका लागि विद्यमान वाणिज्य बैंकहरूको संख्या बढी भएको भन्ने छ । यस कारणले पनि वाणिज्य बैंकहरू घटाउनका लागि वाणिज्य बैंकहरूको संख्या घटाउन दबाब दिने गरेको भए तापनि नेपाल राष्ट्र बैंकको दबाबलाई वाणिज्य बैंकहरूले सहज तरिकाले लिइरहेका छन् । वाणिज्य बैंकहरू एकआपसमा मर्ज गर्नभन्दा पनि विकास बैंक तथा फाइनान्स कम्पनीहरूलाई आफूमा गाभ्ने गरिरहेका छन् भने विकास बैंक तथा फाइनान्स कम्पनीहरूको संख्या भने ह्वात्तै घटेको छ । कतिपय वाणिज्य बैंकहरू एकआपसमा मर्ज गर्नभन्दा पनि विकास बैंक तथा फाइनान्स कम्पनीहरूलाई एक्वाएर गर्न सजिलो भएको बताउँछन् र वाणिज्य बैंकहरू पनि एकआपसमा मर्ज गरेर संख्या घटाउन नचाहेको जस्तो पनि देखिन्छ ।
बैंक तथा वित्त कम्पनीहरूले एकआपसमा मर्ज र एक्वाएर गर्ने गरिरहेकामा कतिपय सेयरधनीहरूले असन्तुष्टि जनाइरहेका छन् । मर्जरभर कम्पनीका सेयरहरू बजारमा कारोबार नहुने गरेका र कतिपय अवस्थामा स्वाप रेसियोका कारणले पनि सेयरधनीहरूलाई घाटा हुने गरेको छ भने बैंक तथा वित्त कम्पनीहरू एकआपसमा मर्ज र प्राप्ति हुँदा सेयर बजारमा सेयरको मूल्यमा पनि तलमाथि हुने गरेको छ । यस कारणले पनि कतिपय लगानीकर्ताहरूले घाटा बेहोर्नुपर्ने हुन्छ । त्यसो त राम्रा र आफ्नो क्षेत्रमा पकड बनाइरहेका विकास बैंक तथा फाइनान्स कम्पनीहरू किन वाणिज्य बैंकहरूमा गाभिन जाने गरेको भन्ने पनि सेयरधनीहरूबीच चासो हुने गरेको छ । त्यसो त मर्जर र एक्वाएर गर्नका लागि साधारणसभामा प्रस्तावलाई बहुमत सेयरधनीहरूले पारित गर्नुपर्ने हुन्छ, तर पनि संस्थापक सेयरधनीहरूको बहुमत हुने र आफ्ना पक्षका केही सर्वसाधारण वक्ता सेयर धनीहरूलाई आर्थिक प्रभोलनमा पारेर साधारणसभाबाट मर्जरको प्रस्ताव पारित गर्ने गरेको चर्चा पनि चल्ने गरेको छ ।
वाणिज्य बैंकहरूले धमाधम विकास बैंक तथा फाइनान्स कम्पनीहरूलाई एक्वाएर गर्ने गरिरहेकाले देशमा विकास बैंक तथा फाइनान्स कम्पनीहरूको अस्तित्व नै नरहने हो कि भन्ने पनि चर्चाको विषय हुने गरेको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको संख्या घटाउन २०७२ सालमा पुँजी वृद्धिको नीति ल्याएको थियो । बैंकको पुँजी बढाउन वाणिज्य बैंकहरू एकआपसमा मर्ज गर्छन् भन्ने नेपाल राष्ट्र बैंकलाई लागेको थियो होला, तर वाणिज्य बैंकहरूले पुंजी बढाउनका लागि हकप्रद सेयरहरू धमाधम जारी गरेको थियो । त्यस बेला हकप्रद सेयरहरूको बाढी नै आएको थियो । पछिल्लो समयमा पनि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एकआपसमा मर्ज गर्नका लागि दबाब दिने गरे तापनि वाणिज्य बैंकहरूले टेरपुच्छर लाएनन् तर ग्लोबल आईएमई बैंक र जनता बैंकबीच भने मर्ज भएको थियो । यसरी वाणिज्य बैंकहरू स्वयम् नै एकआपसमा मर्जरमा जान नचाहेको जस्तो देखिन्छ भन्दा पनि फरक नपर्ला । तर पनि सेयर बजारमा वाणिज्य बैंकहरूबीचको मर्जरको हल्ला भने चलि नै रहेको छ भने कतिपयले यसबाट लाभ पनि लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्