Logo

क्लिनफिडले चलचित्र क्षेत्रमा थपिदिएको चुनौती— १

अब क्लिनफिडपश्चात् नेपाली कलाकारदेखि मिडियाहरूले कला पहिचान र मर्यादा कायम राख्न सक्नुपर्ने देखिन्छ, जुन अर्को चुनौती हो ।

नेपाल सरकारले क्लिनफिड त लागू ग-यो, तर क्लिनफिडले कुन क्षेत्रमा कस्तो प्रभाव पर्छ सोबारेमा न सरोकारवाला, न अन्य कसैले अध्ययन–अनुसन्धान गरेका छन् । धेरैजसोले क्लिनफिड भनेको भारतीय टेलिभिजनहरू विज्ञापनरहित भएर प्रसारण हुनु र नेपाली मिडियाहरूमा पनि विदेशी भाषाका विज्ञापनहरू डबिङ गरेर बजाउन पाइँदैन भन्ने अर्थमा मात्रै बुझेका छन् भने सरकार विशेष गरी राजनीतिज्ञहरूले यसलाई राष्ट्रवादसँग जोडेर हेरेको साथै चुनावी मसला बनाउने निश्चित रहेको देखिन्छ भने क्लिनफिड कार्यान्वयन गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रसारण विभाग र विज्ञापन बोर्डले पनि दैनिक रूपमा सम्पादन हुने कार्यलाई नै क्लिनफिडको उपलब्धि भन्दै सार्वजनिक गरेर यसप्रति त्यति धेरै संवेदनशील भएको भनेर देखिने अवस्था देखिँदैन ।
क्लिनफिड न राष्ट्रवाद हो, न त दैनिक रूपमा सम्पादन हुने कार्यको फेहरिस्त पस्किने माध्यम नै हो । व्यापक अर्थमा यसले राष्ट्रिय अर्थतन्त्रदेखि चलचित्र र मिडिया क्षेत्रमा अवसर र चुनौती थपिदिएको देखिन्छ । क्लिनफिडले प्रभाव पार्ने अन्य क्षेत्रमध्ये एक हो— चलचित्र क्षेत्र पनि । क्लिनफिडले प्रत्यक्ष रूपमा नेपाली चलचित्र बजार र यहाँको विज्ञापन बजारलाई प्रभाव पार्छ । क्लिनफिडले नेपाली चलचित्र क्षेत्रमा के–कस्तो चुनौती थपिदिएको छ भन्नेबारेमा यस लेखमा चर्चा गर्ने प्रयास गरेको छु ।

पलायनतावादी मानसिकता
नेपाली चलचित्र उद्योगको एक प्रमुख समस्या र चुनौती भनेको पलायनतावादी सोच हो । नेपालमा नाम र दाम कमाएपछि वा एक–दुईवटा हिट चलचित्र दिए चलचित्र क्षेत्र छोडेर पलायन हुने प्रवृत्ति देखिन्छ । सक्नेहरू अमेरिकातिर पलायन भएका देखिन्छन् भने अलिक कम स्तरका भारतीय चलचित्र उद्योगमा । हाल नेपालमा हिट चलचित्र दिएका र कुनै समयमा नाम चलेका धेरै नायक–नायिकाहरू हाल अमेरिकामा रहेका छन् । यसबाहेकका अन्य कलाकारहरू मुम्बईमा आफ्नो भविष्य बनाउन तल्लीन रहेको साथै बलिउडमा ब्रेक पाउन संघर्ष गरिरहेका खबरहरू आउने गरेको देखिन्छ । कतिपय नायक–नायिका र कलाकारहरू अमेरिकाबाट फिर्ता भएर यहाँ नै पुनरागमन गरिरहेका साथै कतिपय बलिउडमा सानै रोल भेट्टाए पनि नेपाली मिडिया धेरै चर्चा–परिचर्चा कमाउन सफल भएको देखेर पुनः यतै काम गर्ने इच्छा देखाएका पनि छन् ।
यसरी कलाकारहरू आफ्नो करियर बाँकी जीवनको भविष्य खोज्दै पलायन हुनु पक्कै पनि नेपाली चलचित्रका लागि सुखद क्षण भने होइन, यसले चलचित्रमा सिकेको सीप र अनुभव शून्यमा पुग्ने देखिन्छ ।

इगो व्यवस्थापन
नेपाली चलचित्र क्षेत्रको एउटा प्रमुख समस्या भनेको इगो व्यवस्थापन हुन नसक्नु नै हो । चलचित्र क्षेत्रमा एउटाले अर्कोलाई स्वीकार गर्न सक्ने अवस्था छैन । एउटा क्याम्प र अर्को क्याम्पबीचको अघोषित प्रतिस्पर्धा देखिन्छ । एउटालाई दिएको उपाधि र सम्मानप्रति अर्कोले आपत्ति जनाउने अवस्था देखिन्छ । त्यो उपाधि मैले पनि पाउनुपर्ने हो । म पनि त्यति लामो समयदेखि यस उद्योगमा क्रियाशील छु । उसका भन्दा हिट फिल्म दिएको छु जस्ता विषय उठाएर अर्कोको विषयमा प्रश्न उठाउने प्रवृत्ति देखिन्छ ।
कुनै एक कलाकारले महँगो पारिश्रमिक लिँदा प्रतिष्ठा र काम तथा भूमिकाको विषयमा भन्दा पनि त्यति धेरै पारिश्रमिक किन ? म त्योभन्दा पनि कममा काम गर्न तयार छु । के त्यति धेरै पारिश्रमिक लिएर त्यसको रिटर्न दिन सकिन्छ ? जस्ता विषय उठाएर होच्याउने साथै मिडियाबाजीमा रमाउने प्रवृत्ति देखिन्छ । अब क्लिनफिडको कार्यान्वयनपश्चात् भारतीय विज्ञापन व्यवसायी र मल्टिनेसनल कम्पनीका मालिकहरू नेपाल आएर कुनै मोडललाई यति पारिश्रमिक दिन्छु, मेरो यस्तो विज्ञापन गरिदिनोस् भन्दा यहाँ त अर्कोले त्योभन्दा कम मूल्यमा काम गर्न तयार हुनेदेखि लिएर एकले अर्कोलाई होच्याउने प्रवृत्ति देखिन्छ । जसले नेपाली कलाकारहरूको सक्षमता र पारिश्रमिक बढ्नुभन्दा पनि यसले चलचित्र क्षेत्रलाई नै दीर्घकालीन नोक्सानी पु-याउने देखिन्छ ।

अन्तर्राष्ट्रिय सम्पर्क सूत्र
कुनै विदेशी एड एजेन्सीले वा कम्पनीका थिंक ट्याङ्कहरूले नेपाली कलाकारहरूलाई सम्पर्क गर्ने माध्यम के हो त भन्दा नेपाली कलाकारहरूको कुनै अन्तर्राष्ट्रिय पहिचान र चिनारी देखिँदैन । गुगलदेखि विकिपिडियाहरूमा नेपाली कलाकारहरूलाई भेट्न एकदमै मुस्किल पर्ने देखिन्छ । बलिउडमा एउटै कलाकारको फ्यान पेज भनेर हजारौं आइडी बनेकादेखि विकिपिडियादेखि वेबसाइट जसमा पर्सनलदेखि प्रोफेसनल विषयहरूका बारेमा सजिलै जानकारी भेटिन्छ, तर नेपालमा सीमित कलाकारहरूको मात्रै वेबसाइट भेटिन्छ भन्दै एकदमै थोरै विषयवस्तुहरू मात्रै विकिपिडियामा भेटिन्छ, त्यो पनि नेपाली भाषामा । बलिउडमा हरेक फिल्म रिलिजसँगै विकिपिडियादेखि सामाजिक सञ्जालमा आइडीहरू बनिन्छन्, जसले फिल्मका साथै कलाकारहरूको समेत पर्याप्त जानकारी दिन्छ । तर, नेपालमा न कुनै कलाकारहरूले यसबारेमा सोचेका छन्, न नेपाली चलचित्र क्षेत्रमा सम्बद्व निकाय र पदाधिकारीहरूले ।
कुनै विदेशी विज्ञापन दातादेखि लिएर कम्पनी सञ्चालकले हालका दिनमा आफ्नो कुनै उत्पादनको विज्ञापन नेपाली कलकारलाई खेलाउँछु, म ब्रान्ड एम्बेसडर बनाउँछु भन्दा उसले कुन माध्यमले सम्पर्क गर्ने वा नेपाली कलाकार र मोडलबारे कुन वेबसाइट र विकिपिडियाले जानकारी प्रदान गर्छ वा यति कामका लागि काठमाडौं उत्रिएर बागबजारदेखि दरबारमार्ग चहार्दै हिँड्ने हो । यसर्थ नेपाली चलचित्र र यसका कलाकारहरू सामाजिक सञ्जालमा छाउनेदेखि आफ्नो अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्नतिर लाग्नुपर्ने देखिन्छ, जुन अहिलेका लागि हाम्रोमा चुनौतीका रूपमा देखिन्छ ।

मौलिकताको खडेरी
नेपाली चलचित्र क्षेत्रमा देखिएको अर्को समस्या हो— मौलिकताको खडेरी । नेपाली चलचित्रहरूमा आफ्नो मौलिक कला र संस्कृतिको संरक्षण गर्दै स्थानीय स्तरका कथा समेटेर फिल्म बनाउने भन्दा विदेशी चलचित्रको नक्कल गर्ने प्रवृत्ति रहेको देखिन्छ । अहिलेको प्रविधिको जमनामा निर्माता र निर्देशकभन्दा पहिले नै दर्शकले विदेशको जुनसुकै कुनामा बनेको फिल्म पनि हेरिसकेको हुन्छ, त्यो सम्बन्धमा जानकारी लिइसकेको अवस्थामा नेपाली सिनेमाका निर्माता र निर्देशकहरू त्यही विदेशमा बनेको सिनेमाको दृश्य वा कथाहरू हुबहु नेपाली चलचित्रमा भिœयाउने चेष्टा गर्छन्, जसले गर्दा नेपाली चलचित्रले दर्शक तान्ने भन्दा पनि भड्काउने गरेको देखिन्छ ।
मौलिकताकै कुरा गर्दा नेपालमा सीमित चलचित्रहरू मात्रै नेपाली माटो र बास्ना सुहाउँदो भनेर गर्व लायक बनेका देखिन्छन् । कुनै एउटा फिल्म वा गीत हिट भएमा त्यही प्रकारको गीत वा फिल्मको कपि गर्दै वा प्रभावित हुँदै आफ्नो मौलिकता देखाउने भन्दा त्यसैको नक्कल गर्ने प्रवृत्ति बढ्दो छ । यसले पनि नेपाली चलचित्र क्षेत्रमा थप जटिलता थपेको देखिन्छ । नेपाली माटो र स्थानीय परिवेश सुहाउँदो कथाहरू नेपाली चलचित्रमा देखाउँदा सो फिल्महरू चल्ने मात्रै होइन, सुपरहिट भएका उदाहरणहरू हामीसामु छन्, तर हामी अरूको बासी रोटी खानुमै रमाइरहेका छौं । कुनै समय एउटा कमेडी फिल्म हिट भयो भने सो वर्ष त्यस्तै किसिमका अनि अर्को वर्ष लभ रोमान्स चल्दा सोही फिल्मका बाढीहरू आउने प्रवृत्ति देखिन्छ । यसले नेपाली चलचित्रका दर्शकलाई नेपाली चलचित्रप्रति अपनत्वभन्दा पनि तिरस्कारतिर लैजाने देखिन्छ ।

अनियन्त्रित युट्युबर
नेपालमा हालका दिनमा इन्टरनेटको पहुँच बढेको साथै लोकतन्त्र र विचार स्वतन्त्रतालाई संविधानले आत्मसात् गरेको अवस्थालाई हेर्दा नेपालमा सामाजिक सन्जाल त्यसमा पनि विशेष गरी युट्युब भिडियोप्रति ह्वात्तै चासो बढेको देखिन्छ । बेरोजगारहरूका लागि युट्युब अर्को राम्रो आम्दानीको स्रोत बनेको देखिन्छ । नेपाल सरकारको कुनै निकायबाट प्रसारणको अनुमति नलिएका, कुनै संगठित व्यावसायिक मूल्य र मान्यतामा सञ्चालित नभएका युट्युबरहरू आफूलाई पत्रकार भन्छन्, तर पत्रकार हुनका लागि चाहिने शैक्षिक योग्यता र मूल्य–मान्यता त परको कुरा, पत्रकार परिचयपत्र कुन निकायले दिएको अनि कुन निकायमा संस्था दर्तादेखि कर र राजस्व तिर्ने गरेका हुन् त्योसमेत पत्तो नभएका बेरोजगारहरूले एउटा क्यामेरा र युट्युब आईडी भएका भरमा पत्रकार भन्दै जे पायो त्यो भिडियो खिच्ने गरेको अनि अनेक मसलेदार शीर्षकमा अपलोड हुने प्रवृत्ति बढ्दो छ ।
झट्ट हेर्दा युट्युबरहरूले सञ्चालन गरेका कार्यक्रमहरूले नेपाली चलचित्रलाई फाइदा पुगेको देखिए पनि, नेपाली कलाकारिता र चलचित्रको प्रसारप्रसार भएको देखिए पनि यसले दीर्घकालमा नेपाली चलचित्रदेखि मिडियाहरूलाई उँभो लगाउने देखिँदैन । यस्ता कुनै निकायमा दर्ता नभएका, कुनै निकायमा कर र राजस्व दाखिला नगर्ने साथै पत्रकार परिचय पत्रदेखि पत्रकारिताको न्यूनतम मूल्य र मान्यतासमेत थाहा नभएकाहरूबाट चलचित्रको प्रसार भयो भन्दा मूतको न्यानोमा रमाउनुसरह हो । यसले नेपाली मिडियाप्रति दर्शक र श्रोताको चाप घटाउनेदेखि लिएर नियमित नवीकरण गर्ने कर राजस्व तिर्ने नेपाली मिडियाहरूको विज्ञापन बजारमा समेत असर पुग्ने देखिन्छ । यसर्थ नेपाली कलाकारहरूले यसतर्फ बेलैमा ध्यान पु¥याउन नसकेकै परिणाम हुनुपर्छ, चलचित्र क्षेत्रको राम्रोभन्दा नराम्रो खबर चाँडै प्रचार हुने तर वास्तविक कुरा बाहिर नै नआउने प्रवृत्ति देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्