खराब कर्जा घट्यो «

खराब कर्जा घट्यो

आईएमएफले भनेजस्तो छैनः केन्द्रीय बैंक

अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)ले नेपालको बैंकिङ प्रणालीको खराब कर्जालाई शंकाको घेरमा राखे पनि बैंकको खराब कर्जा भने झनै घटेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नै बैंकहरूको खराब कर्जा घटेर औसत १.४५ प्रतिशतमा झरेको छ ।
आईएमएफले नेपाली बैंकहरूले आक्रामक कर्जा प्रवाह गर्दा पनि खराब कर्जाको अंक दक्षिण एसियाकै कम हुनु भनेको विश्वासयोग्य नभएको बताउँदै आएको छ । तर, नेपाली बैंकहरूले भने खराब कर्जाको अंश घटाउँदै लगेका हुन् । गत आर्थिक वर्ष २०७४-७५ को पहिला त्रैमासमा १.८० प्रतिशत रहेको बैंकहरूको औसत खराब कर्जा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १.४५ प्रतिशतमा झरेको छ । तर, नेपाली बैंकहरूले कर्जालाई ‘इभरग्रिनिङ’ अर्थात नवीकरण गर्दै नयाँ बनाउने कार्य गर्ने गरेको आरोपसमेत लगाउँदै आएको छ । केन्द्रीय बैंक भने आईएमएफको अरोपलाई स्वीकार गर्न तयार छैन । सिस्टमअनुसार देखिएको खराब कर्जा सही रहेको केन्द्रीय बैंकले दावी गरेको छ ।
आईएमएफले कुन सन्दर्भमा नेपाली बैंकिङ प्रणालीको खराब कर्जाको तथ्यांकमा सत्यता नभएको भन्न खोजेको आफूहरूले नबुझेको केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन् । “केन्द्रीय बैंकको सिस्टमले जे देखाएको छ, त्यही तथ्यांकबाहिर ल्याएका छौं,” राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, “आईएमएफको टिप्पणीलाई हामीले स्वीकार गरिहाल्नुपर्ने अवस्था छैन ।” केन्द्रीय बैंकको सिस्टममा खराब कर्जा ५ प्रतिशतभन्दा माथि जान नहुने भन्ने छ । बैंकहरूले पनि सोहीअनुसार काम गर्दै आएका छन् । बैंकहरूको खराब कर्जाको तथ्यांकमा सामान्य केही फरक होला तर आईएमएफले भनेझंै विश्वास नै गर्न नसकिने अवस्था नरहेको ति अधिकारीको भनाइ छ । खराब कर्जाको तथ्यांक गलत हुनका लागि केन्द्रीय बैंकको सिस्टम नै गलत हुनुपर्ने उनको भनाइ छ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूले खराब कर्जाको अंश घटाएको भए पनि यो अवधिमा सरकारी लगानी रहेको कृषि विकास बैंकको सबैभन्दा धेरै रहेको छ । असोजसम्ममा बैंकको खराब कर्जा ३.९३ प्रतिशत छ । त्यसैगरी सरकारी लगानी रहेको राष्ट्रिय वाणिज्य बैंकको पनि ३.८३ प्रतिशत खराब कर्जा रहेको छ । तर, यो अवधिमा सबैभन्दा कम सानिमा बैंकको खराब कर्जाको अंश ०.०८ प्रतिशतमात्र रहेको छ । गत आवमा प्रभु बैंक, सिभिल बैंक र एनसीसी बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा माथि रहेको भए पनि चालू आवको असोज मसान्तसम्ममा घटाएर क्रमशः २.५१, ३.०६ र ३.६९ प्रतिशतमा झारेका छन् । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा धेरै खराब कर्जा बढ्नेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । यो अवधिमा बैंकको करिब एक प्रतिशतले खराब कर्जा बढेको छ ।
बैंकहरूको खराब कर्जा कम हुनु भनेको प्रवाह भएको ऋण अधिकांश समस्यामा छैन वा उठेको छ भन्ने बुझिन्छ । नेपालको बैंकिङ प्रणालीमा बैंकहरूले भाखा ननाघेका र १ महिनासम्म भाखा नाघेका असल कर्जाका लागि एक प्रतिशत, १ महिनादेखि तीन महिनासम्म भाखा नाघेका सुक्ष्म निगरानीको कर्जाका लागि ५ प्रतिशत, ३ महिनादेखि ६ महिनासम्म भाखा नाघेका कमसल कर्जा-सापटमा २५ प्रतिशत, ६ महिनादेखि बढीमा १ वर्षसम्म भाखा नाघेको शंकास्पद कर्जाका लागि ५० प्रतिशत तथा १ वर्षभन्दा बढी अवधिले भाखा नाघेका खराब कर्जाका लागि शतप्रतिशत प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था छ । यसले गर्दा पनि बैंकहरूको खराब कर्जाको अंश सीमाभित्रै रहेको हो ।

प्रतिक्रिया दिनुहोस्