‘सरकार र निजी क्षेत्रको अविस्वासको वातावरण अन्त्य हुन्छ’ «

‘सरकार र निजी क्षेत्रको अविस्वासको वातावरण अन्त्य हुन्छ’


अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई नविन सोचले अगाडि बढाउन खोजेको बताएका छन् । नेपाल उद्योग परिसंघले गरेको अन्तरक्रियामा उनले अब पहिलेको जस्तो अविश्वासको वातावरण कायम नरहेको दावी गरे । भन्सार, राजस्व लगायतका मन्त्रालयसँग सम्बन्धित सम्पूर्ण कार्यहरु सहज तरिकाले सम्पादन भई रहेको जनाउँदै उनले कोही कसैले उद्योगी व्यवसायीलाई दुःख दिने नियत राखेको भए समेत त्यो लामो समय नरहने प्रतिवद्धतासमेत जनाए ।
सरकार मुलुकमा औद्योगिक प्रवद्र्धनको लागि खुला रुपले अगाडि आएकाले निजी क्षेत्रले समेत लगानी बढाउँदै लैजान आवश्यक रहेको उनले बताए । परिसंघले उठाएका विषयप्रति सरकार गम्भीर रहेको र क्रमश ती मागहरुलाई सम्बोधन गर्दै लैजाने पनि बताए ।
अर्थ मन्त्रालय आगामी आर्थिक वर्षको बजेटको निर्माणमा जुटी सकेकोले तत्काल समाधान गर्न नसकिने विषयहरुलाई बजेट मार्फत समेत सम्बोधन गर्ने उनेल बताए ।
भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सारमा अपेक्षाअनुसार सुधार आएको बताए । उनले वस्तुहरुको जाँच पासलाई अझ वैज्ञानिक बनाउँदै लौजाने बताए । अब प्रणालीले नै भन्सार जाँचपासको लाइन निर्धारण गर्ने भएकाले ठूलो समस्या नहुने उनको तर्क थियो ।
आन्तरिक राजस्व विभागका कार्यवाहक महानिर्देशक गजेन्द्र ठाकुरले अन्त शुल्कलगायत अन्य करका समस्याहरु समाधान हुँदै गएको बताए । उनले बक्यौता कर असुली र कर फिर्ता गर्ने कार्यलाई विभागले प्राथमिकतामा राखेको भन्दै विभिन्न कारण देखाई कर छल्ने प्रवृतिलाई विभागले दुरुत्साहन गरेको बताए ।
परिसंघका अध्यक्ष सतिशकुमार मोरले सरकारले निजी क्षेत्रसँग समन्व्यकारी भूमिका खेल्नुपर्ने बताए । उनले कोभिडले सिथिल बनाएको औद्योगिक क्षेत्रलाई सरकारले चालू आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिमार्फत केही राहत दिन खोजेपनि कार्यान्वयन तहमा हालसम्म हुन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्