बल्ल खुल्यो तातोपानी नाका «

बल्ल खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक-नेपालमा २०७२ वैशाखको भूकम्पपछि नियमित रूपमा सञ्चालनमा आउन नसकेको तातोपानी नाका छोटो समय खुलेर लामो समयसम्म बन्द हुने क्रम बढेको छ । पछिल्लोपटक १९ दिनपछि यो नाका फेरि सुचारु भएको छ । निर्माणका लागि बन्द भएको नेपाल–चीन बीचको प्रमुख नाका मंगलबारबाट सुचारू भएको हो ।
भूकम्पपछि क्षति पुगेर अस्थिर रहेको यो नाका जोड्ने मितेरी पुलको पुनर्निर्माणपछि मंगलबारदेखि फेरि सञ्चालनमा आएको तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयले जनाएको छ । भोटेकोशी बाढीलगायतले पुलमा क्षति गराएका कारण मर्मतका लागि भन्दै नाका १९ दिन देखि बन्द थियो । सीमामा रहेको मितेरी पुल पुनर्निर्माणका लागि भन्दै चिनियाँ पक्षले जनवरी २१ देखि नाका बन्द गरेको हो ।
बाढीले क्षति पु-याएको पुल पुनर्निर्माणको काम सम्पन्न भएकाले मंगलबारबाट सामान आउन थालेको भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । उनले स्याउलगायतका फलफूल नेपालतर्फ भित्र्याउँदै नाका पुनः सञ्चालन भएको बताए ।
पहिलेकै बाढीले क्षति पु-याएको पुलको एक भागमा यसवर्षको बाढीले थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गरेको हो । पुल मर्मत नगरे दुर्घटना निम्तिन सक्ने सम्भावित खतरा भएकाले जाङ्बु प्रशासनले नाका बन्द गरेको थियो । बाढीले मितेरी पुल जगको दायाँबायाँ क्षति पु-याएकाले त्यसको मर्मत गरिएको उनले जानकारी दिए ।
तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत खत्रीका अनुसार तीन चिनियाँ कन्टेनरबाट मंगलबार फलफूलसहित अन्य रेडिमेड सामग्री भित्रिएको छ । “मितेरी पुलको मर्मतपछि चिनियाँ पक्षको ‘अफिसियल टाइम’ अनुसार १९ दिनपछि यो नाका पुनः सुचारु भएको हो,” खत्रीले भने ।
२०७२ को भूकम्पपछि अस्थिर रहेको यो नाका पूर्ण रूपले नखुल्दा व्यवसायी मर्कामा परेका छन् । नाका पूर्ण रूपमा खुलाउन व्यवसायीहरूले माग राखेपछि अझै सम्बोधन हुन नसकेको सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले बताए । “नाका आशिंक रूपमा चलेको छ, सोही कारण स्थानीय व्यवसायी,कन्टेनर मजदुर मारमा छन्,” श्रेष्ठले भने, “नाका अस्थ्रि रहेकै कारण ऋण लिएर व्यवसाय गरेकाहरूकेही विदेश पलायन हुनुपरेको अवस्था छ ।” कोभिड १९ संक्रमणलाई फैलिन नदिन ‘आइसोलेट एरिया’ छुट्याएर परीक्षणमा कडाइ गरेर नाकालाई पूर्ण रूपमा खुलाउनु पर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्