बैंकको व्याजदर औद्योगिक वातावरण र समग्र अर्थतन्त्रको गतिमा निर्भर हुन्छ «

बैंकको व्याजदर औद्योगिक वातावरण र समग्र अर्थतन्त्रको गतिमा निर्भर हुन्छ

२०६७ साल मंसिर १० गते स्थापना भएको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्, गोविन्द गुरुङ । २०२५ साल कात्तिक १४ मा लम्जुङमा जन्मिएका गुरुङ व्यवसाय प्रशासनमा स्नातकोत्तर हुन् । बैंकिङ क्षेत्रमा २५ वर्षको अनुभव भएका उनले साढे १० वर्ष हिमालयन बैंक, त्यसपछि सवा ३ वर्ष ग्लोबल आईएमई बैंक लिमिटेड र साढे २ वर्ष मेगा बैंक लिमिटेडमा सेवा गरेपछि विगत साढे ८ वर्षदेखि सिभिल बैंक लिमिटेडमा सेवारत छन् । विगत साढे तीन वर्षदेखि सिभिल बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत उनी रेडियो नेपालमा गुरुङ भाषाको प्रथम समाचार वाचक पनि हुन् । गीत संगीत तथा खेलमा रुचि भएका उनीसँंग कारोबारले कोरोना कहरपछिको बैंकिङका चुनौती तथा अवसरका बारेमा गरेको कुराकानीको सार :

कोरोना कहरका कारण बैंक तथा वित्तीय संस्थाहरूमा अघिल्लो आर्थिक वर्षमा खासै नकारात्मक असर नपरेको भए तापनि चालू आर्थिक वर्षमा भने असर देखिन थालेको छ ? यो अभैm बढ्छ कि घट्दै जान्छ ? कोरोनाको असर नेपाली बैंकहरूमा कहिलेसम्म रहन्छ ?
कोरोना कहरका कारण बैंक तथा वित्तीय संस्थाहरूमा अघिल्लो आर्थिक वर्ष पनि नकारात्मक असर परेकै हो, जसका कारण समग्र बैंकिङ क्षेत्रको आम्दानी तथा नाफा बढ्नुको सट्टा घटेको देखिन्छ । गत आर्थिक वर्षको पहिलो आठ महिनामा अर्थतन्त्रले जुन गति लिएको थियो, त्यो कोभिड–१९ महामारीका कारण सिर्जना भएको लकडाउनका कारणले पछिल्लो चार महिना ठप्प भयो, जसले गर्दा निक्षेप, कर्जा, आयात–निर्यातलगायत सम्पूर्ण बैंकिङ कारोबारको वृद्धिमा पूर्णविराम लाग्यो । फलस्वरूप बैंकहरूको व्यवसायको आयतन घट्न गई बैंकको आम्दानी र नाफामा प्रत्यक्ष रूपमा नकारात्मक असर पर्न गयो । त्यसैगरी कोरोना कहरका कारण सिर्जित अवस्थाले धराशायी बनेका उद्योगी–व्यवसायीलाई केही हदसम्म भए पनि राहत दिनका लागि नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनबमोजिम कर्जा ग्राहकलाई उपलब्ध गराएको ब्याज सहुलियत तथा अन्य कारोबारमा लाग्ने शुल्कमा दिएको सहुलियतका कारणले गर्दा बैंकको आम्दानी र नाफामा प्रत्यक्ष असर पर्न गएको छ । समग्रमा भन्नुपर्दा आव ०७५-७६ मा बैंकहरूको नाफा सरदर २० प्रतिशतले बढेकोमा गत आर्थिक वर्षमा १०.२९ अर्बले घटेको छ, जुन अघिल्लो आवको तुलनामा १६ प्रतिशतको कमी हो ।
चालू आवको पहिलो तीन महिनामा कोरोनाको असर अलि बढी नै देखिएको थियो भने हाल दोस्रो त्रैमाससम्म आइपुग्दा उद्योग तथा व्यापार–व्यवसाय सामान्य उन्मुख हुँदै गएको र त्यसले बैंकिङ व्यवसाय पनि सकारात्मक रूपमा अगाडि बढ्दै गएको छ । हाल आएर कोरोनाविरुद्धको भ्याक्सिन पनि उपलब्ध हुँदै गएकाले उद्योगी–व्यवसायीलगायत सम्पूर्ण जनमानसमा आत्मविश्वास बढ्दै गएको र बैंकिङ कारोबारको आयतन पनि बढ्दै गएकाले नेपाली बैंकिङ क्षेत्र तथा समग्र अर्थतन्त्रमा कोरोनाको असर क्रमिक रूपमा घट्दै जाने र निकट भविष्यमा अर्थतन्त्र सामान्यीकरण हुने संकेत देखिन्छ ।

भर्खर आएका दोस्रो चौमासका वासलात हेर्दा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढेको देखियो । यसको संकेत क्षणिकमात्र हो कि लामै समयसम्म रहन्छ ?
कोरोना बन्दाबन्दीका कारणले उद्योग व्यवसायमा परेको नकारात्मक असरले गर्दा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा केही हदसम्म बढ्नु स्वाभाविक हो । तर देशको आन्तरिक व्यावसायिक वातावरण सुध्रिंदै गएको र अन्तर्राष्ट्रिय व्यापारमा पनि क्रमशः सुधार हुँदै गएका कारणले गर्दा बढेको खराब कर्जाको असर धेरै लामो समयसम्म नरहन सक्छ । यसलाई हामीले क्षेत्रगत हिसाबले पनि हेर्नुपर्ने हुन्छ । विशेष गरेर पर्यटन क्षेत्रसँग सम्बन्धित होटल, हवाई यातायात, ट्राभल÷ट्रेकिङ एजेन्सी, शिक्षा क्षेत्रसँग सम्बन्धित शिक्षण संस्था तथा शैक्षिक परामर्शदाता, त्यसैगरी मनोरञ्जन उद्योगसँग सम्बन्धित सिनेमा हल, चलचित्र निर्माण व्यवसायजस्ता अतिप्रभावित क्षेत्रमा पुनरुत्थान गर्नका लागि केही लामो समय लाग्ने देखिन्छ भने सामान्य रूपमा प्रभावित र कम प्रभावित क्षेत्रका उद्योग व्यवसायका खराब कर्जा सामान्य अवस्थामा फर्किन सक्ने देखिन्छ ।

सिभिल बैंकको पछिल्लो वासलातमा कोरोनाको असर कत्तिको परेको छ ?
सिभिल बैंकको गत आवको वासलातमा व्यवसायको आयतनसँगसँगै आम्दानी र नाफामा पनि प्रत्यक्ष रूपमा नकारात्मक असर परेको थियो, जसले गर्दा जुन हिसाबले व्यवसाय र नाफा बढ्ने आकलन गरिएको थियो, त्यो हुन सकेन । तथापि हामीले हाम्रा प्रवद्र्धक सेयरहोल्डरलाई ८.४२ प्रतिशत बोनस÷लाभांश दिन सफल भएका छौं । जुन गत वर्षको तुलनामा २८ प्रतिशतले बढी हो । तर चालू आर्थिक वर्षमा सिभिल बैंकले निक्षेप र कर्जाको आयतनमा अत्यन्तै ठूलो फड्को मारेको छ । गत असार मसान्तको तुलनामा चालू आर्थिक वर्षको हालसम्म आइपुग्दा निक्षेपतर्फ करिब ३० प्रतिशतले वृद्धि भई ७८ अर्ब पुगेको छ भने कर्जातर्फ पनि आजको मितिसम्म करिब ३० प्रतिशतले वृद्धि भई ७० अर्ब पुगेको छ, जुन आफैंमा ठूलो छलाङ हो । तर यो दौरानमा कोरोनाको कहरका कारण उद्योगी–व्यवसायीलाई पर्न गएको मारलाई ध्यानमा राखी ब्याजदरमा दिएको सहुलियतका कारण ब्याज आम्दानीमा पर्न गएको दबाब तथा कर्जामा सूक्ष्म निगरानीलगायतका कर्जा नोक्सानी व्यवस्थामा वृद्धि भएका कारण बैंकको नाफामा कमी आएको छ । अहिले बढ्दै गएको कर्जाको आयतन तथा कर्जाको गुणस्तरमा देखिँदै गएको सुधारले हामी असार मसान्तसम्ममा लक्षित मुनाफा आर्जन गर्ने कुरामा आशावादी छौं ।

अर्थतन्त्र सोचेअनुरूप चलायमान पनि नहुने अनि बैंक तथा वित्तीय संस्थामा नाफाको दबाब पनि बढ्ने गर्दा बैंक तथा वित्तीय संस्थाको लगानी झन् अनुत्पादक क्षेत्रतर्फ जाने देखिन्छ । यसबाट तत्काल नाफा भए पनि कालान्तरमा बैंक तथा वित्तीय संस्थालाई असर पर्दैन र ?
पहिलो कुरा त अर्थतन्त्र सकारात्मक रूपमा चलायमान हुन थालिसकेको छ, जुन आफैंमा शुभसंकेत हो । दोस्रो कुरा अर्थतन्त्र चलायमान नहुँदाको अवस्थामा वा नाफाको दबाब भए तापनि बैंकको लगानी अनुत्पादक क्षेत्रतर्फ जान्छ भन्ने कुरामा म विश्वास गर्दिनँ, किनभने बैंकिङ व्यवसाय एउटा दीर्घकालीन व्यवसाय हो र यसले क्षणिक नाफा–घाटालाई भन्दा पनि दीर्घकालीन नाफा वा दिगो भविष्यलाई केन्द्रबिन्दुमा राखेर काम गर्छ, गर्नुपर्छ । नेपालको सन्दर्भमा सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा बैंकिङ प्रोफेसनलहरू तथा नियमन निकाय नेपाल राष्ट्र बैंक यस मामलामा अत्यन्त चनाखो र सक्षम छ, जसले गर्दा बैंक–वित्तीय संस्थालाई दीर्घकालीन रूपमा नकारात्मक असर पर्ने कार्य हुँदैन भन्ने कुरामा म विश्वस्त छु ।

हाल बैंक तथा वित्तीय संस्थाको ब्याजदर सस्तो भएको छ । सस्तो ब्याज अनुत्पादक क्षेत्रमा जाने खतरामात्रै होइन, ब्याज घट्दै जाँदा बचतकर्तालाई पनि धेरै मर्का पर्छ नि ? मुद्दतीको ब्याजसमेत घट्दै गइरहेपछि किन बचत गर्ने ?
हो, अहिले कोरोनाको असरका कारणले नयाँ उद्योग–व्यवसायहरू धेरै नखुलिरहेको अवस्थामा कर्जाको माग केही कम भएको र बढ्दै गएको रेमिट्यान्सलगायत उपभोग्य खर्चमा कमी आउन गई निरन्तर रूपमा बचत बढिरहेको अवस्थामा वित्त बजारमा अधिक तरलता हुन गएकाले कर्जाको ब्याजदरसँगसगै बचत तथा मुद्दतीको ब्याजसमेत घट्दै जानु स्वाभाविक हो । तर मैले अघि भनेझैं सुध्रिंदै गएको व्यावसायिक वातावरण तथा सकारात्मक आर्थिक परिसूचकहरूको सन्दर्भमा अब विस्तारै कर्जाको माग पनि बढ्दै जाने, तरलताको अवस्थामा विस्तारै संकुचन आउने, परिणामस्वरूप कर्जा र निक्षेपको ब्याजदरमा पनि क्रमिक रूपमा बढोत्तरी हुने देखिन्छ । अहिलेको समय भनेको विशेष परिस्थिति हो, जसमा अतिप्रभावित क्षेत्रका उद्योगी–व्यवसायीलाई घटेकै ब्याजदरमा पनि व्यवसाय धान्न गाह्रो छ । तर, सुधारोन्मुख आन्तरिक तथा बाह्य आर्थिक वातावरणले उद्योग–व्यवसायहरू विस्तारै पुनःस्थापित हुँदै गएका कारण कर्जा र बचत÷मुद्दतीको ब्याजदर पनि वाञ्छनीय रूपमा वृद्धि हुँदै जाने देखिन्छ ।

बचतकर्ता र ग्राहक दुवैलाई फाइदा नहुने अनि बैंकहरूले प्रतिस्पर्धा नगरीकनै मिलीजुली ब्याज घटाउने वा बढाउने गरेपछि किन धेरै बैंक चाहियो ?
बैंक तथा वित्तीय संस्थाहरूले जहिले पनि सबैभन्दा पहिला आफ्ना बचतकर्ता तथा कर्जा ग्राहकहरूको हित र साथसाथमा बैंकको आफ्नो हितलाई पनि ध्यानमा राखेर ब्याजदरलगायत सम्पूर्ण कारोबारहरूको मूल्य÷लागत निर्धारण गरिएको हुन्छ । आफ्ना बचतकर्ताहरूलाई उचित प्रतिफल दिने र कर्जा ग्राहकहरूलाई पनि आफ्नो लगानी र परिश्रमअनुसारको प्रतिफलमा नकारात्मक असर नपर्ने गरी वा भनौं उहाँहरूले धान्न सक्ने गरी ब्याजदर निर्धारण गर्ने बैंकको मुख्य ध्येय हुन्छ । त्यसैगरी समग्र वित्तीय बजारको अवस्थालाई ध्यानमा राखी समय–समयमा नियमन निकायले पनि ब्याजदरलाई वाञ्छनीय तहमा राख्नका लागि विभिन्न किसिमका निर्देशन तथा नैतिक दबाबहरू दिने गर्छ । बैंक–वित्तीय संस्थाहरूले वाञ्छनीय प्रतिस्पर्धा गरी प्रणालीगत जोखिम न्यूनीकरण होस् भन्ने हेतुले पनि समय–समयमा बैंक वित्तीय संस्थाहरू आफैंले सरसल्लाह गरी ब्याजदर नियन्त्रण गर्ने वा नियमन निकायले आवश्यक निर्देशन दिनुलाई अस्वाभाविक ठान्नु पनि हँुदैन । छोटकरीमा भन्नुपर्दा बैंक–वित्तीय संस्थाहरूले तथा नियमन निकायले बचतकर्ता तथा कर्जा ग्राहक दुवैलाई फाइदा हुने गरी समय सापेक्ष रूपमा ब्याजदर निर्धारण गरेको हुन्छ, जसअन्तर्गत समग्र वित्तीय क्षेत्रको हितलाई पनि समायोजन गरेको हुन्छ ।

बैंक तथा वित्तीय संस्थाहरू सस्तो ब्याजदरमा कहिलेसम्म खेल्न सक्छन् ? यसै पनि नाफामा दबाब पर्न सुरु भइसकेको छ ।
अहिलेको ब्याजदर विगत केही वर्षको भन्दा तुलनात्मक रूपमा केही सस्तो देखिए पनि तपार्इंले भन्नुभएजस्तो धेरै सस्तो पनि होइन । कुनै समयमा ब्याजदर योभन्दा पनि धेरै सस्तो थियो । जबजब उद्योग–व्यवसायको वातावरण राम्रो हुँदै जान्छ, तबतब कर्जाको माग बढ्दै जान्छ । फलस्वरूप निक्षेपको माग पनि बढ्दै जान्छ र त्यही रूपमा निक्षेप र कर्जाको ब्याजदर पनि बढ्दै जाने हुन्छ । त्यसकारणले बचत र कर्जाको ब्याजदर बैंकको नाफाको दबाबमा भन्दा पनि उद्योग–व्यवसायको वातावरण र समग्र अर्थतन्त्रको गतिमा निर्भर हुन्छ । तसर्थ आर्थिक वृद्धि र व्यवसाय वृद्धिको गति÷रफ्तार बढेसँगै एउटा हदसम्म ब्याजदर पनि बढ्दै जान्छ र बढ्दो ब्याजको भार उद्योगी–व्यवसायीले धान्न नसक्ने अवस्था आउने देखिएमा बैंक–वित्तीय संस्था तथा नियमन निकायले आवश्यक नियन्त्रण गर्छ । त्यसकारणले बैंक–वित्तीय संस्थाले सस्तो ब्याजदरमा कहिलेसम्म खेल्ने भन्ने शब्द नै असान्दर्भिक हो जस्तो लाग्छ । यो नितान्त रूपमा अर्थतन्त्रको गति तथा प्रगतिमा भर पर्छ ।

नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर स्थिर गर्न बैंकहरूलाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाले सुरु गरिसकेका पनि छन् । तर, छोटो समयको डिपोजिट उठाएका बैंक तथा वित्तीय संस्थाले १०, १५, २० वर्ष कति लामो समयसम्मको स्थिर ब्याजदर कायम गर्न सक्छन् ?
बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपको अवधि छोटो समयको देखिए तापनि समग्र निक्षेपको केही अंश निरन्तर प्रकृतिको देखिन्छ, जुन हरेक वर्ष थपिँदै जाने वा नवीकरण हँुदै जाने प्रकृतिको हुन्छ । त्यही अंशको निक्षेपबराबरको दीर्घकालीन कर्जा प्रवाह गर्दा समयावधिको हिसाबले खासै फरक पर्दैन । तर स्थिर ब्याजदरका हिसाबले यस्ता खाले दीर्घकालीन कर्जामा कुनै न कुनै निश्चित समय अवधिमा ग्राहकलाई फाइदा वा घाटा पनि हुन सक्ने देखिन्छ । कुनै पनि कर्जामा स्थिर ब्याजदर लगाउँदा बजारको ब्याजदर बढ्दै गएको अवस्थामा ग्राहकलाई फाइदा हुने देखिन्छ भने ब्याजदर घट्दो अवस्थामा ग्राहकलाई नोक्सान पर्ने पनि हुन्छ । त्यसैले कुनै पनि कर्जा सुविधामा स्थिर ब्याजदर निर्धारण गर्दा कर्जाको समयावधि कति छ र त्यो समयावधिभित्र वित्तीय क्षेत्रमा तरलताको अस्थिरता कस्तो रहन्छ, तदनुरूप ब्याजदर कतिदेखि कतिसम्म उतारचढाव हुन सक्छ भन्ने कुरालाई वस्तुपरक तथ्यका आधारमा सूक्ष्म विश्लेषण गरी निर्धारण गर्नुपर्ने हुन्छ र त्यसबाट हुन सक्ने फाइदा वा बेफाइदाका लागि ग्राहकहरू सुसूचित हुनु जरुरी छ ।

बैंकहरूले पुराना ग्राहकलाई समेत स्थिर ब्याजदर गरिदिनुपर्ने राष्ट्र बैंकको निर्देशन छ । तर, बैंक तथा वित्तीय संस्थाहरू स्थिर ब्याजदर लागू गर्न हिचकिचाएको आरोप छ । स्थिर ब्याजदर लागू गर्नै नसकिने हो कि विस्तारै समय सीमा बढाउँदै जाने हो ?
पहिलो कुरा त सबै बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरू अक्षरशः पालना गर्नुपर्छ र गर्छांै पनि । सोहीअनुरूप स्थिर ब्याजदर पनि लागू गरिसकेका छौं, तर यसमा कतिपय ग्राहकहरूलाई बुझ्न÷बुझाउन नसकेको वा अभ्यस्त नभइसकेको अवस्था हो । समयक्रमसँगै क्रमिक रूपमा बैंक तथा ग्राहकहरू पनि अभ्यस्त हुँदै जानेछन् र यो सुविधाको उपभोग पनि बढ्दै जानेछ भन्ने मलाई लाग्छ ।

नेपालमा यिल्ड कभ्र्सको विकास नभएका कारण नै स्थिर ब्याजदर लागू गर्न नसकिने एकथरीको तर्क छ । के यो मात्रै कारण हो वा स्थिर ब्याजदरमा जान रोक्ने अन्य कारण पनि छन् ?
माथि भनेजस्तै स्थिर ब्याजदर प्रभावकारी रूपमा लागू हुन नसक्नुमा बुझाइ र अभ्यस्तताको कमी हो । त्यसबाहेक नेपालको सन्दर्भमा वित्तीय क्षेत्रको तरलताको अवस्था र ब्याजदर प्रणाली तुलनात्मक रूपमा तरल र अस्थिर छ, जसले गर्दा पनि स्थिर ब्याजदरको प्रभावकारितामा केही हिचकिचाहट देखिएको हो । यसमा यिल्ड कभ्र्सको विकास नभएको कारणले होइन ।

नेपाल राष्ट्र बैंक पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाहरूलाई नियन्त्रण गर्ने बाटोमा बढिरहेको आरोप छ । बैंकहरूले यसलाई कसरी हेरिरहेका छन् ?
नेपाल राष्ट्र बैंक नियमनकारी निकाय हो र नियमनकारी निकायको भूमिका नै मातहतका संघसंस्थालाई नियमन गर्ने र आवश्यक परेको बेलामा नियन्त्रण गर्ने नै हो । यो सन्दर्भमा नेपाल राष्ट्र बैंकले नेपालका वित्तीय संस्थाहरूलाई सही मार्गमा हिँडाउन र समग्र वित्तीय क्षेत्रलाई सुरक्षित, विश्वासिलो र दिगो बनाउन सदैव सकारात्मक भूमिका निर्वाह गरेको कुरामा दुईमत छैन । नेपाल राष्ट्र बैंकको यही सकारात्मक नियमनकारी भूमिकाकै कारण नेपालको वित्तीय क्षेत्र दक्षिण एसियामै उत्कृष्ट मानिएको छ । तसर्थ हामीले नेपाल राष्ट्र बैंकलाई नियमनकारी निकाय मात्र होइन, एउटा अभिभावकका रूपमा पनि हेर्छौं ।

कोरोनाका कारण थिलथिलो भएको अर्थतन्त्रलाई राहत दिन राष्ट्र बैंकले केही प्याकेज ल्याएको छ । तर, राहत यथेष्ट भएन, सहुलियत कर्जा तथा पुनर्कर्जा सहज नभएका कारण कार्यान्वयन भएन भन्ने उद्योगी–व्यवसायीको गुनासो छ । अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले कसरी सहजीकरण गर्न सक्छ ?
राहत भन्ने कुरा जहिले पनि दिनेको क्षमतामा भर पर्ने कुरा हो । तसर्थ कति यथेष्ट कति अपुग भन्ने कुरा सापेक्षिक विषय हो । सीमित स्रोतसाधनका बाबजुद कोरोनाको कहरले दबाबमा परेको अर्थतन्त्रलाई राहत दिन नेपाल राष्ट्र बैंकले जुन प्याकेज ल्याएको थियो त्यो पर्याप्त भयो÷भएन भन्ने छलफलको विषय होला, तर त्यसको प्रभावकारी कार्यान्वयनकै कारणले समग्र अर्थतन्त्र चलायमान हँुदै सुधारोन्मुख अवस्थामा छ । गत वर्षको सामान्य अवस्थासँग तुलना गर्दा यसपालिको विषम परिस्थितिमा पनि चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा निर्यात बढेको छ, आयात घटेको छ, शोधनान्तर स्थितिमा सुधार भएको छ, सरकारको आय लक्ष्यको नजिक पुगेको छ, अतिप्रभावित क्षेत्रहरूबाहेक सम्पूर्ण उद्योग–व्यवसायहरू करिब–करिब सामान्य अवस्थामा फर्किंदै छन्, रोजगारीको अवस्थामा धेरै प्रभाव परेको छैन, कृषि उत्पादन सामान्य छ र रेमिट्यान्स बढ्दो छ, यी सबै परिसूचकहरूले अर्थतन्त्र विस्तारै सामान्यीकरणतर्फ अग्रसर भएको बुझिन्छ, जसमा नेपाल राष्ट्र बैंकले ल्याएको राहत प्याकेज र त्यसको प्रभावकारी कार्यान्वयनको पनि मुख्य योगदान रहेको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मर्जरमा धेरै रुचि गराएको छ । सिभिल बैंकले केही वित्तीय संस्था एक्वाएर पनि गरेको हो । अब फेरि अन्य बैंकसँग मर्जरमा जाने योजना कहाँ पुग्यो ?
नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीतिगत उद्देश्य तथा निर्देशनबमोजिम मर्जरमा जानका लागि हामी खुला छौं । त्यही नीतिअनुरूप विगतमा पनि हामीले पाँचवटा वित्तीय संस्थाहरूसँग मर्जर÷एक्विजिसन गरेका थियौं र अहिले पनि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकहरूलाई मर्ज गर्न प्रोत्साहन गरेबमोजिम मर्जरका लागि हामी छलफलको क्रममा छौं, तर कोरोना कहरकै कारण यसमा केही सुस्तता आएको छ । सिभिल बैंकका सबै सरोकारवालालाई फाइदा हुने गरी मर्जरका लागि अगाडि बढ्ने कुरामा हामी सकारात्मक छौं, तर कहिलेसम्म भन्ने कुरा अहिल्यै भन्न सक्ने स्थितिमा पुगेका छैनौं ।

कोरोनाका कारण पछिल्लो समय डिजिटल बैंकिङको चर्चा–परिचर्चा धेरै भइरहेको छ । डिजिटल बैंकिङको केही नयाँ तरिका पनि केही बैंक तथा वित्तीय संस्थाले सुरु गरिसकेका छन् । सिभिल बैंकको डिजिटल यात्रा कतातिर जाँदै छ ?
अबको युग भनेको सूचना प्रविधिको युग हो । यही कुरालाई मनन गरेर सिभिल बैंकले विगत तीन वर्षदेखि डिजिटल बैंकिङलाई बैंकिङ कारोबारको मुख्य आधारशिलाका रूपमा केन्द्रबिन्दुमा राखेर रणनीतिक योजनासहित अगाडि बढेको छ । बैंकिङ कारोबारमा सजिलो, छिटो-छरितो र कारोबारको सुरक्षा अत्यन्त महŒवपूर्ण कुराहरू हुन् । यही कुरालाई मध्यनजर गरी ग्राहक सेवालाई सजिलो, छिटो र सुरक्षित बनाउनका लागि हामीले डिजिटल बैंकिङलाई अत्यन्त महत्वका साथ अगाडि बढाएका छौं । पहिलो चरणमा बैंकको सम्पूर्ण कार्य प्रणालीलाई सूचना प्रविधिको अधिकतम उपयोग गरी स्वचालित गर्ने कार्यलाई अगाडि बढाइसकेका छौं, जसले गर्दा ग्राहक सेवाका लागि बैंकभित्र गर्नुपर्ने सम्पूर्ण काम अत्यन्त छिटो–छरितो ढंगले हुन्छ र सँगसगै ग्राहकहरूले डिजिटल च्यानलमार्फत बैंकका विभिन्न सेवाहरू उपभोग गर्न सक्ने वातावरण निर्माण गर्दै गएका छौं । उदाहरणका लागि ग्राहक सेवासँग प्रत्यक्ष रूपमा सम्बन्धित आन्तरिक कार्य प्रणालीहरूलाई डिजिटलाइज गर्दै लगिएको छ, कागजपत्र तथा रेकर्डहरूलाई डिजिटल आरकाइभिङ गर्दै लगिएको छ । त्यसैगरी डिजिटल बैंकिङमार्फत ग्राहकहरूले घरमै बसीबसी बचत÷मुद्दती खाता खोल्न सक्ने सुविधा उपलब्ध गराइएको छ, प्रतीतपत्रका लागि निवेदन गर्ने, सिभिल स्मार्टको सुविधा प्रयोग गरी पानी, बत्ती, बिजुली, स्कुल फी, टेलिभिजन सेवा, टेलिफोन, हवाईसेवा, इन्टरनेटजस्ता सेवाहरूको बिल भुक्तानी गर्ने, क्यूआर कोडमार्फत सामान खरिद तथा अन्य सेवाहरूको भुक्तानी गर्नेलगायतका विविध खाले भुक्तानी सेवाहरू डिजिटल बैंकिङमार्फत उपलब्ध गराइएको छ । यो त सुरुवात मात्र हो, डिजिटल बैंकिङमार्फत बैंकिङ सेवालाई आमूल परिवर्तत गर्ने दौडमा हामी छौं ।

प्रतिक्रिया दिनुहोस्