Logo

चन्दा आतंक तुरुन्त बन्द गर

कोरोनाका कारण थला परेको औद्योगिक क्षेत्र तङ्ग्रिन नपाउँदै चन्दा आतंकको मारमा परेपछि औद्योगिक वातावरण खलबलिएको छ ।

जब जब अस्थिर राजनीतिको खेल सुरु हुन्छ, तब तब त्यसको नकारात्मक असर निजी क्षेत्रमा पर्न थाल्छ । राजनीतिक तरलताको फाइदा उठाउँदै विगतमा पनि केही राजनीतिक दलले निजी क्षेत्रमाथि भौतिक आक्रमण पनि गरेका हुन् ।
तर, पछिल्लो समय जब मुलुकमा संविधान जारी भयो तब राजनीतिक लडाइँ सकिएको र अब आर्थिक क्रान्तिको बेला सुरु भएको राजनीतिक दलले घोषणा गरे । तब निजी क्षेत्रमात्र होइन, मुलुक नै खुसी भएको थियो । करिब सात दशकको अस्थिरताबाट मुलुकको विकास तथा उन्नति हुन नसकेका कारण नेपाली नागरिकले एउटै राजनीतिक दललाई बहुमत दिँदै स्थिरताको कामनासमेत गरेका थिए । तर, तीन वर्षमा नै इतिहासकै सबैभन्दा बलियो तथा करिब दुईतिहाइको सरकारको हबिगत देखियो, फेरि निजी क्षेत्र मात्रै होइन, सम्पूर्ण नागरिक पनि राजनीतिप्रति वितृष्णा पोख्न थालेका छन् । साथै, मुलुकको आर्थिक विकासमा सरकारको सहयात्री बन्न तयार निजी क्षेत्र पूरै निराश भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गरेपछिको अन्योलग्रस्त समयमा फेरि राजनीतिक दलका बन्द–हड्ताल तथा चन्दा आतंक सुरु भएपछि कोरोना कहरबाट बिस्तारै तङ्ग्रिन थालेको निजी क्षेत्र झन् त्रसित भएको छ । चैत ११ गतेपछिका पछिल्ला ६ महिना पूर्ण रूपमा बन्द र त्यसपछिका पछिल्ला पाँच महिनामा अलिअलि सञ्चालनामा आउन थालेका उद्योग–व्यवसायहरू त्यति बेला झस्के जब हालको तरल राजनीतिको फाइदा उठाउँदै राजनीतिक दलहरू चन्दा असुल्नतिर लागे । यसरी राजनीतिक अस्थिरताको फाइदा उठाउँदै विभिन्न राजनीतिक दल र भ्रातृ संगठनहरूले चन्दा आतंक सुरु गरेको यो पहिलो पटक भने होइन । विगतमा पनि पटक–पटक यस्तो अप्रिय अवस्था भोगेको निजी क्षेत्र यस पटक राजनीतिक स्थिरताले यस्तो अप्रिय अवस्था नआउला भन्ने सोचमा थिए ।
त्यसमाथि कोरोना कहरका कारण पनि उद्योग–व्यवसायमा समस्या परेको प्रत्यक्ष देखेका राजनीतिक दलबाट यस्तो अपेक्षा पनि निजी क्षेत्रले गरेको थिएन । तर, नेपालका राजनीतिक दल तथा तीनका भ्रातृ संगठनले एकाएक आफ्नो पुरानै चरित्र देखाउन थालेपछि भने निजी क्षेत्र त्रसित भएको छ ।
प्रधानमन्त्री केपी ओलीको संसद् विघटनविरुद्ध आन्दोलन घोषणा गरेका राजनीतिक दल तथा सरकार समर्थित दलका कार्यकर्ता सबैले आफ्ना विरोध कार्यक्रमका लागि खर्च जुटाउन भन्दै चन्दा संकलन अभियानलाई तीव्र बनाउँदा निजी क्षेत्रमा त्रासको वातावरण उत्पन्न भएको छ । हाल पथलैया–वीरगन्ज औद्योगिक करिडोरमा सुरु भएको यो गलत अभियान मुलुकभरि फैलन कुनै समय लाग्दैन, विगतका अनुभवले पनि सिकाएको छ । बेलैमा यस्ता गलत कार्यलाई सरकार तथा अन्य राजनीतिक दलले नसच्याए सबैजसो उद्योगी–व्यवसायी चन्दाको दबाबका कारण फेरि उद्योग बन्द गर्न पनि पछि पर्दैनन् ।
राजनीतिक दलका कार्यकर्ताले चन्दाको दर तोकेरै ताकेता गर्न थालेपछि उद्योगी–व्यवसायी कोरोनाको पीडामाथिको यो थप पीडा सहन नसक्ने बताउन थालेका छन् । कोरोनाका कारण थला परेको औद्योगिक क्षेत्र तङ्ग्रिन नपाउँदै चन्दा आतंकको मारमा परेपछि औद्योगिक वातावरण खलबलिएको छ । र, यसले नेपालमा लगानी गर्नु भनेको आफ्नो धन, सम्पत्तिको असुरक्षामात्र होइन, आम्दानीको भन्दा गैरकानुनी खर्चको चिन्ता बढी हुने गलत सन्देश प्रचार गर्न मद्दत गर्छ । जुन नेपालको उन्नति, विकास तथा प्रगतिका लागि ठूलो बाधक हो । यसपटक त राजनीतिक कार्यकर्ताले स्वेच्छिकभन्दा पनि उद्योगको बिक्री, नाम चलेका उद्योग, ब्रान्ड र व्यवसायीको हैसियतअनुसार चन्दाको रकम अंकमा तोकेरै माग्न थालेका छन् ।
चन्दाको यो फरक शैलीले औद्योगिक करिडोरका अधिकांश व्यवसायीमा तनाव बढेको छ । यसरी चन्दा माग्ने शैली फेरेर मागे जति अंकको रकम दिनुपर्ने तथा चन्दा माग्न राष्ट्रिय नेतादेखि पूर्व मन्त्रीहरू अनि विघटित प्रतिनिधिसभा र प्रदेशका सांसद, स्थानीय जनप्रतिनिधि नै उद्यत देखिएको घटना साधारण होइन र यसलाई तत्काल बन्द नगरे यसले अर्थतन्त्रमा ठूलो दुर्घटना निम्त्याउने प्रस्ट छ ।

प्रतिक्रिया दिनुहोस्