Logo

आन्तरिक पर्यटन प्रवद्र्धनको खाँचो

आन्तरिक पर्यटनले अपेक्षित गति लिन नसकेको अवस्थामा आएको देशदर्शन कार्यक्रमबाट आन्तरिक पर्यटन प्रवद्र्धनमा उल्लेख्य टेवा पुग्ने आशा र अपेक्षा गर्न सकिन्छ ।

कुनै समय यस्तो स्थिति थियो कि नेपाली पर्यटन व्यवसायीले नेपाली पर्यटकलाई पर्यटक नै मान्दैनथे । सबै प्रकारको प्राथमिकता विदेशी पर्यटकले पाउँथे । विदेशी पर्यटक पाएसम्म नेपाली पर्यटकलाई गाँस वा बास केही पनि दिन तयार हुँदैनथे नेपाली पर्यटन व्यवसायी । किनभने विदेशी पर्यटकबाट हुने आम्दानी नेपाली पर्यटकबाट हुँदैनथ्यो । विदेशी पर्यटकको जस्तो खर्च गर्ने क्षमता नेपाली पर्यटकमा हुँदैनथ्यो र अहिले पनि छैन । पर्यटन व्यवसायीबाटै उपेक्षित हुँदा नेपालको आन्तरिक पर्यटनले प्रवद्र्धनको अवसर पाइरहेको थिएन । अनेकौं सम्भावनाका बीच पनि नेपालको आन्तरिक पर्यटन घुमघाम र तीर्थाटनमा सीमित थियो । यसले व्यावसायिक रूप लिन सकेको थिएन । नेपालको पर्यटन व्यवसाय पूर्ण रूपमा विदेशी पर्यटकमै निर्भर थियो ।
२०७२ सालको विनाशकारी भूकम्पले नेपालको पर्यटन व्यवसायमा गम्भीर धक्का दियो । विदेशी पर्यटकले नेपालको गन्तव्य असुरक्षित महसुस गरे । यही कारणले गर्दा बाह्य पर्यटक आगमनमा गम्भीर असर प-यो । सो वर्ष बाह्य पर्यटन आगमन ५ लाख ३८ हजार ९ सय ७० मा सीमित भयो । अघिल्लो वर्ष बाह्य पर्यटक आगमन ७ लाख ९० हजार १ सय १८ थियो ।
बाह्य पर्यटक आगमनमा उल्लेखनीय कमी आएपछि नेपालको पर्यटन व्यवसाय गम्भीर रूपमा प्रभावित भयो । आफ्नो रोजीरोटीमै गम्भीर धक्का लागेपछि नेपाली पर्यटन व्यवसायीले व्यवसायलाई टिकाइराख्ने विकल्प खोज्नैपर्ने भयो । त्यही समयमा नेपाली पर्यटकहरू भने विभिन्न गन्तव्यहरूमा पुगिरहेकै थिए । चाडपर्व मनाउन कर्मथलोबाट जन्मथलोमा पुग्ने नेपाली हुन् अथवा फुर्सदमा रमाइलोका लागि घुमफिर गर्ने नेपाली, तिनले देशका विभिन्न प्राकृतिक, धार्मिक, ऐतिहासिक थलोहरूलाई आफ्नो गन्तव्य बनाएको देखेपछि पर्यटन व्यवसायीहरूको आँखा खुल्यो । अनि तिनले नेपाली पनि पर्यटक हुन सक्छन् भन्ने सत्यलाई बुझे र आन्तरिक पर्यटन प्रवद्र्धनका लागि योजनाहरू बुन्न थाले । यसरी विनाशकारी भूकम्पपछिका केही वर्षमा नै नेपालको आन्तरिक पर्यटनमा अभूतपूर्व वृद्धि भएको स्वयं पर्यटन व्यवसायी र पर्यटनसम्बद्ध व्यक्तिहरूले बताउने गरेका छन् ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले बेलाबेला घुमफिर वर्ष, आन्तरिक पर्यटन वर्ष आदिको अवधारणा पनि अघि सार्ने गरेको छ । चालू आर्थिक वर्षको बजेटमा आन्तरिक पर्यटनलाई प्रोत्साहित गर्न देशदर्शन कार्यक्रम समेटिएको छ । तर पन्ध्रौं योजनामा भने पर्यटन प्रवद्र्धनका लागि विविध रणनीति तथा कार्यनीति तय गरिए पनि आन्तरिक पर्यटनलाई बढावा दिने कुनै रणनीति र कार्यनीति तय नगरिनु दुःखद पक्षको रूपमा रहेको छ ।
विनाशकारी भूकम्पपछिका पाँच–छ वर्षमा आन्तरिक पर्यटनमा झन्डै पाँच गुणाले वृद्धि भएको पर्यटन व्यवसायीहरूको भनाइ छ । सक्षम नेपालीहरू भ्रमणका लागि विदेश गएको देखेर अरू धेरै नपालीले आफ्नै देशभित्रको विभिन्न आकर्षक प्राकृतिक गन्तव्यहरूका साथै धार्मिक र ऐतिहासिक गन्तव्यहरूमा पुग्ने र नयाँ अनुभव र अनुभूति बटुल्ने प्रवृत्तिको विकास भएको छ । पुराना पुस्ताका ज्येष्ठ नागरिकहरूले धार्मिक उद्देश्यले विभिन्न गन्तव्यहरूको यात्रा गर्ने गरेका छन् भने नयाँ र आधुनिक पुस्ताले प्राकृतिक सौन्दर्यमा रमाउन, साहसिक पदयात्रा र मनोरञ्जनका लागि घुमघाम गर्न देशका सुगमदेखि दुर्गम गन्तव्यहरूसम्मको यात्रा गर्ने गरेका छन् । पर्यटनको अवधारणाले अभिप्रेरित धेरै नेपाली युवापुस्ताको छनोटमा स्वदेशकै विभिन्न आकर्षक गन्तव्यहरू पर्ने गरेका छन् । यात्रा र घुमघाम गरी प्राकृतिक सौन्दर्यको मजा लिन र नयाँनयाँ अनुभव र अनुभूति बटुल्न चाहने युवाको संख्या उल्लेख्य रूपमा बढिरहेको छ । वार्षिक करिब ५० लाख नेपालीहरू देशका विभिन्न गन्तव्यमा पुग्ने गरेको नेपाल पर्यटन बोर्डको आकलन छ ।
विनाशकारी भूकम्पका कारण थला परेको नेपालको पर्यटन व्यवसायले उठ्ने प्रयास गरिरहेकै अवस्थामा कोभिड–१९ को असरले पुनः त्यसलाई थला पारिदियो । बाह्य पर्यटक आगमन ठप्प भएपछि नेपालको पर्यटन गतिविधि पनि ठप्पै भयो । पर्यटन प्रवद्र्धनको विशेष योजनासहित ‘नेपाल भ्रमण वर्ष–२०२०’ घोषणा गरी प्रवद्र्धनात्मक कार्यक्रमहरू गर्दै गरिएकोमा कोभिड–१९ कै कारण भ्रमण वर्ष पनि रद्द गर्नुपर्ने परिस्थिति सिर्जना भयो । झन्डै ६ महिनासम्मको बन्दाबन्दी र त्यसपछिका अवस्थामा पनि स्वास्थ्य सुरक्षाको मापदण्डको पालना र कोरोना संक्रमणको भयले गर्दा पर्यटन गतिविधि ठप्प नै रह्यो । यो अवधिमा बाह्यमात्रै होइन, आन्तरिक पर्यटन पनि झन्डै शून्यकै अवस्थामा रह्यो । यो अवधिमा पर्यटन व्यवसायीले ठूलै तनाव र आर्थिक अभावसमेत भोग्नुपर्ने परिस्थिति पनि सिर्जना भयो । पर्यटनमा आबद्ध लाखौं जनशक्तिले रोजगारी गुमाए । पर्यटन क्षेत्रले अर्बौं रुपैयाँको नोक्सानी बेहोर्नुप-यो ।
पछिल्लो पटक विश्वव्यापी महामारीको रूप लिएको कोभिड–१९ को कारण पुनः विश्वकै पर्यटन व्यवसाय थला प-यो । यो अवस्थामा थला परेको पर्यटन र पर्यटन व्यवसायीले बेहोरेको गम्भीर आर्थिक क्षतिलाई ध्यानमा राख्दै पर्यटन गतिविधिलाई लयमा फर्काउने प्रारम्भिक प्रयासका रूपमा आन्तरिक पर्यटन प्रवद्र्धनमा नेपाली पर्यटन व्यवसायीको ध्यान आकृष्ट भएको छ । हिजो सहज अवस्थामा आन्तरिक पर्यटकलाई कुनै महत्व नदिने पर्यटन व्यवसायीले अहिले तिनै आन्तरिक पर्यटककै माध्यमबाट आफ्नो व्यवसायलाई पुनर्जीवित पार्ने प्रयास गर्नु सकारात्मक पक्ष नै हो । अहिले आन्तरिक पर्यटकबाटै पर्यटन व्यवसायमा केही भरथेग गर्ने प्रयास भइरहेको छ । आन्तरिक पर्यटन प्रवद्र्धनका योजनाहरू अघि सारिएका छन् । देशभरिका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटन प्रवद्र्धनका प्याकेज कार्यक्रमहरू सञ्चालन गर्दै छन् ।
आन्तरिक पर्यटनको महत्व यसकारण पनि छ कि यसले आत्मनिर्भरता र राष्ट्रियतालाई बढावा दिन्छ । बाह्य पर्यटनबाट हुने आर्थिक लाभ आन्तरिक पर्यटनबाट नभए पनि यसले स्वदेशी उत्पादन र उपभोगलाई प्रोत्साहन गर्छ । स्थानीय संस्कृति र सम्पदाको संरक्षण र संवद्र्धनमा टेवा पु¥याउँछ । नेपालीलाई वास्तविक नेपाल चिनाउन सघाउँछ । राष्ट्रियताको भावना जगाउँछ र अन्ततः राष्ट्रियताको संवद्र्धनमा टेवा पु-याउँछ । पर्यटनबाट अर्थतन्त्रमा पुग्ने टेवाभन्दा राष्ट्रियताको जगेर्नामा पुग्ने टेवा अझ बढी मूल्यवान् हुन्छ । आन्तरिक पर्यटनबाट त्यो मूल्यवान् योगदानको अपेक्षा गर्न सकिन्छ ।
बाह्य पर्यटकमा मात्रै भर पर्दा नेपालको पर्यटन अत्यन्तै परनिर्भर रहेको र संकटको बेला ठूलै आर्थिक नोक्सानी बेहोर्नुपर्ने यथार्थलाई मनन गर्दै पछिल्लो समय आन्तरिक पर्यटकलाई नै जोड दिएर अर्थतन्त्र चलायमान बनाउने प्रयास हुन थालेको छ । आन्तरिक पर्यटककै सहारामा पर्यटन उद्योगलाई चलायमान बनाउनुपर्ने भन्दै सरकारले बजेटमार्फत देशदर्शन कार्यक्रम पनि अघि सारेको छ । आर्थिक वर्ष २०७७-७८ को बजेट वक्तव्यमा उल्लेख गरिएबमोजिम गत असोज १० गते सरकारले देशदर्शन कार्यक्रम सार्वजनिक गरेको हो ।
आन्तरिक पर्यटकलाई आकर्षित गर्न एयरलाइन्स, होटल र नेपाल पर्यटन बोर्डले विभिन्न कार्यक्रम पनि ल्याएका छन् । आन्तरिक पर्यटक पनि नेपालको पर्यटन बजारका लागि भरपर्दो स्रोत हो । यस्तो स्रोतको दिगो पहिचान गर्नुपर्छ भन्ने अवधारणाले पनि प्रश्रय पाएको छ । देशदर्शन कार्यक्रम यही अवधारणाको परिणाम हो । यो कार्यक्रमलाई देशभरिबाट नै सहभागी गराउनका लागि ७ प्रदेशमा डोमेस्टिक टुरिज्म रिभाइबल कमिटी गठन गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
‘पर्यटन नीति–२०६५’ मा विदेशी मुद्राको आर्जन, रोजगारीका अवसरको वृद्धिसँगसँगै जनताको जीवनस्तरमा सुधार गरी पर्यटनलाई गरिबी निवारण र नयाँ आर्थिक विकाससँग आबद्ध गरी पर्यटन विकास गर्नुपर्ने खाँचो औंल्याउँदै आन्तरिक पर्यटनलाई पर्यटन व्यवसायको उपक्षेत्रका रूपमा अघि बढाइने उल्लेख गरिएको छ । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले केही कार्यनीतिहरूसमेत तर्जुमा गरिएका छन्, जसअनुसार आन्तरिक पर्यटनको विकास र विस्तारमा जोड दिइने; मुलुकको एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्ने नेपाली नागरिकलाई पनि आन्तरिक पर्यटकका रूपमा मान्यता दिइने; हिमाल, पहाड र तराईका विभिन्न पर्यटकीय स्थलहरूमा नेपाली पर्यटकहरूलाई भ्रमण गर्न प्रोत्साहन गरिने; आन्तरिक पर्यटकहरूलाई आकर्षित गर्न निजी क्षेत्रको समन्वयमा पर्यटकीय प्याकेजहरूको विकास गरी कर्मचारीहरूलाई यात्रा उत्पे्ररणा बिदा, शैक्षिक भ्रमण र अध्ययन अवलोकन भ्रमणको व्यवस्थाका लागि प्रोत्साहन गरिने; सबै क्षेत्रमा काम गर्ने जनशक्तिलाई आन्तरिक पर्यटनतर्फ आकर्षित गर्न निश्चित सहुलियतयुक्त बिदासहितको स्थानीय भ्रमण प्रोत्साहन कार्यक्रम लागू गरिने कार्यनीतिमा उल्लेख गरिएका छन् । यति हुँदाहुँदै पनि सरकारी नीति तथा कार्यनीतिहरूको प्रभावकारी कार्यान्वयनको अभावले आन्तरिक पर्यटनले अपेक्षित गति लिन नसकेको अवस्थामा आएको देशदर्शन कार्यक्रमबाट आन्तरिक पर्यटन प्रवद्र्धनमा उल्लेख्य टेवा पुग्ने आशा र अपेक्षा गर्न सकिन्छ ।
एउटा उल्लेखनीय तथ्य के हो भने विश्वले नेपाललाई चिने पनि नेपाली स्वयंले नेपाललाई चिन्न बाँकी नै छ । भौगोलिक विविधता र यातायात पूर्वाधारको कमीले देशका एक ठाउँबाट अर्को ठाउँसम्म सहज र निष्कन्टक यात्रा गर्न सक्ने अवस्था छैन । यातायात पूर्वाधारको कमीकै कारण एक ठाउँको नेपाली अर्को ठाउँमा पुगेर नेपाललाई चिन्ने र बुझ्ने अवसरबाट वञ्चित हुँदै आएका छन् । अझै पनि पूर्वका नेपालीले पश्चिमको नेपाल चिन्न बाँकी छ । पश्चिमका नेपालीले पूर्वको नेपाल चिन्न बाँकी छ । त्यस्तै उत्तरका नेपालीले दक्षिणको नेपाल चिन्न बाँकी छ भने दक्षिणका नेपालीले उत्तरको नेपाल चिन्न बाँकी छ । यो अवस्थामा नेपालीले नेपाल चिन्न र बुझ्नका लागि बजेटमार्फत घोषणा गरिएको देशदर्शन कार्यक्रम सहायकसिद्ध हुन सक्छ । देशदर्शन भन्नु नै आन्तरिक पर्यटन हो । आन्तरिक पर्यटन सम्पूर्ण नेपालीबीच राष्ट्रियताको भावना जगाउने महत्वपूर्ण माध्यम पनि हो ।
हवाईजहाज चढेर आउने र डलर खर्च गर्ने गोरो वा कालो वर्णका मान्छे मात्रै पर्यटक होइनन् । पोल्टामा खाजा बोकेर खाली खुट्टाले लौरी टेकेर उकाली–ओराली गर्दै तीर्थाटन गर्ने र देशदर्शन गर्ने नेपाली पनि पर्यटक नै हुन् भन्ने मान्यता राखेर पर्यटन गतिविधि सञ्चालन गर्ने हो भने आन्तरिक पर्यटनले थप प्रोत्साहन पाउनेछ । देशका धार्मिक तथा ऐतिहासिक स्थलहरूको संरक्षण, संवद्र्धन र उत्थान गर्न र सर्वोपरि राष्ट्रिय भावनाको अभिवृद्धिका लागि पनि आन्तरिक पर्यटनको अत्यन्तै महत्व रहेको देखिन्छ । आन्तरिक पर्यटनलाई बढावा दिने हो भने स्थानीय सीप, साधन र स्रोतको सदुपयोग तथा रोजगारी र आयआर्जनको अवसर पनि सिर्जना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्