प्राविधिक तथा व्यावसायिक शिक्षामा आकर्षण «

प्राविधिक तथा व्यावसायिक शिक्षामा आकर्षण

– सुदूरपश्चिममा वार्षिक छ हजार जनशक्ति उत्पादन
धनगढी-
सुदूरपश्चिम प्रदेशमा रहेका प्राविधिक शिक्षालयबाट वार्षिक छ हजारको हाराहारीमा प्राविधिक जनशक्ति उत्पादन भइरहेका छन् ।
प्रदेशमा रहेका अढाइ सय प्राविधिक शिक्षालयबाट कृषि, इन्जिनियरिङ, स्वास्थ्य र होटल व्यवस्थापन क्षेत्रमा वार्षिक सो संख्यामा जनशक्ति उत्पादन भइरहेका हुन् । प्रदेशमा कृषि क्षेत्रको पशुपालन, बाली विज्ञान र वन, इन्जिनियरिङ क्षेत्रको सिभिल अटोमोबाइल, मेकानिकल, सूचना प्रविधि, सर्भे र इलेक्ट्रिकल विधामा पढाइ हुने गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सुदूरपश्चिम प्रदेश कार्यालयले जनाएको छ । सीटीईभीटीका निर्देशक डा. कुष्माकर भट्टले स्वास्थ्य क्षेत्रको नर्सिङ, सामान्य चिकित्सा, फार्मेसी, ल्याब, आयुर्वेद तथा होटल व्यवस्थापन क्षेत्रको होलट व्यवस्थापन तथा पर्यटन विधामा पढाइ हुने गरेको बताए । उनले यसका साथै छोटो अवधिका विभिन्न व्यावसायिक तालिमसमेत सञ्चालनमा रहेको बताए ।
सुदूरपश्चिममा सीटीईभीटीका कैलाली, कञ्चनपुर, डोटी, बैतडी र बझाङ जिल्लामा गरी पाँच वटा आंगिक क्याम्पस छन् । एउटा साझेदारी कजेल, एक सय ३० वटा सामुदायिक विद्यालयमा प्राविधिक विद्यालय, ३१ वटा सम्बन्धन प्राप्त निजी क्षेत्रका कलेजहरूले प्राविधिक विषयको पठनपाठन सञ्चालन गरेका छन् । यसैगरी, करिब एक सय वटा छोटो अवधिका तालिम सञ्चालन गर्ने इन्स्टिच्युटहरू पनि छन् ।
२०४६-४७ बाट प्राविधिक शिक्षा पढाइ सुरु भएको सुदूरपश्चिममा स्वास्थ्य क्षेत्रको अध्यापन निजी क्षेत्रका सम्बन्धन प्राप्त कलेजहरूले मात्रै गरिरहेका छन् । निर्देशक डा. भट्टले सुदूरपश्चिममा स्वास्थ्य क्षेत्रको सस्तो र गुणस्तरीय शिक्षा दिने सामुदायिक कलेज आवश्यक देखिएको बताए ।
प्रदेशमा उत्पादन भएका जनशक्तिमध्ये ५० प्रतिशत जति उच्च शिक्षा अध्ययनका लागि प्रदेश बाहिर जाने गरेको र बाँकी जनशक्ति श्रम बजारमा जाने गरेको निर्देशक डा. भट्टले बताए । “उत्पादित जनशक्तिमध्ये स्वास्थ्य क्षेत्रमा बढी छन्,” उनले भने, “कृषि र निर्माण क्षेत्रमा पनि छन् । प्रायः सेती प्राविधिक शिक्षालयका उत्पादन बढी भेटिन्छन् । पहिलो सेती प्राविधिक शिक्षालय नै हो ।”
प्रदेशमा प्राविधिक शिक्षालयबाट उत्पादित जनशक्ति रोजगारीका लागि संलग्न भएको क्षेत्र, उनीहरूको आम्दानीलगायतका विषयमा अध्ययन भएको छैन । २०६५ मा नमुना अध्ययन भएको थियो । त्यसपछि सो विषयमा अध्ययन नभएकाले अध्ययन गर्न जरुरी रहेको निर्देशक डा. भट्टले बताए ।
उनले सुदूरपश्चिम प्रदेशका प्राविधिक शिक्षालयबाट उत्पादन भएको जनशक्ति सरकारी र निजी क्षेत्र दुवैमा काम गरिरहेको भेटिने बताए । “प्रदेशबाट उत्पादन भएका जनशक्ति सरकारी कार्यालय, निजी क्षेत्र, स्वरोजगार र वैदेशिक रोजगारमा भेटिन्छन्,” निर्देशक डा. भट्टले भने, “उनीहरूको आम्दानी पनि राम्रो रहेको भेटिन्छ । निर्माणको क्षेत्रमा काम गर्नेले ५०÷६० हजार मासिक ज्याला पाउने गरी काम गरिरहेको भेटिन्छन् । कृषिका लागि कोरियालगायतका देश गएकाले एक÷डेढ लाख मासिक ज्याला पाउने भेटेको छु । स्वरोजगार गरिरहेकाले समेत मासिक एक लाखसम्म कमाइ गरिरहेका छन् । केही बेरोजगार पनि भेटिन्छन् । समग्रमा प्राविधिक शिक्षा लिएर रोजगारीमा लागेकाले २० हजारभन्दा कम मासिक ज्यालामा छैनन् ।”
प्राविधिक शिक्षा खर्चिलो भए पनि सुदूरपश्चिममा यसप्रतिको आकर्षण बढ्दै गएको छ । पछिल्लो समयमा ‘गरी खाने’ सोचको विकास हुँदै गएकाले प्राविधिक शिक्षतर्फ युवाको आकर्षण बढिरहेको निर्देशक डा. भट्टले बताए ।
प्राविधिक शिक्षा अध्ययनमा सबैभन्दा बढी खर्चिलो स्वास्थ्य क्षेत्रको पढाइ छ । यो क्षेत्रमा निजी क्षेत्रले मात्रै अध्यापन गरिरहेको हुनाले पनि यो महंँगो शिक्षा सावित भएको छ । एक जनालाई नर्सिङको पढाइ गर्न कम्तिमा वार्षिक १० लाख खर्चिनुपर्ने बाध्यता छ । सुदूरपश्चिममा पढाइ हुने स्वास्थ्यबाहेकका प्राविधिक शिक्षा सामुदायिक विद्यालयले पनि सञ्चालन गरिरहेकाले तुलनात्मक रूपमा सस्तो भएको छ । १८ महिने कृषि जेटीए १८ हजार रुपैयाँमै पढाउने गरेको दार्चुलाको लतिनाथ माविका प्रधानाध्यापक केशवराज विष्टले बताए । उनले सो विषय ४० जना विद्यार्थी पढाउन सीटीईभीटीबाट वार्षिक २० लाख रुपैयाँ अनुदान पाउने गरेको बताए ।
३ वर्षीय कृषि डिप्लोमा जेटीए पढ्न एक लाख ३० हजार, भेटेरिनरी डिप्लोमा जेटीए पढ्न एक लाख ६० हजार र वन विज्ञान डिप्लोमा पढ्न दुई लाख रुपैयाँ शुल्क निर्धारण गरिएको उनले बताए । उनले सीटीईभीटीले यति नै शुल्क लिने भनेर नतोकेको हुनाले कलेजपिच्छे शुल्क फरक रहेको बताए ।
सामुदायिक प्राविधिक शिक्षालयले पनि साधारण शिक्षा अध्ययन गराउने सामुदायिक विद्यालयले जस्तै विद्यार्थी नपाउने समस्या झेल्दै आएका छन् । सीटीईभीटीले हरेक संकायको कोटा ४० निर्धारण गरेको भए पनि केही शिक्षालयले सो संख्यामा पनि विद्यार्थी नपाउने अवस्था छ । अधिकांश प्राविधिक शिक्षालय आवश्यकता अध्ययन विना नै अनुमति लिएको हुनाले यो समस्या आएको बताउँदै सीटीईभीटीले अब आवश्यकता अध्ययन गरी संकाय हेरफेर वा मर्ज गर्नुपर्ने निर्देशक डा. भट्टले बताए ।
यसका साथै सामुदायिक प्राविधिक विद्यालयले शिक्षक स्थायित्व, आर्थिक अभावमा भौतिक संरचना निर्माण गर्ने तथा उपकरण जडान गर्न नसक्ने समस्या पनि झेल्दै आएका छन् । त्यसका लागि थप शिक्षालय थप्नुभन्दा भएकालाई व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको सीटीईभीटीले जनाएको छ । निर्देशक डा. भट्टले उपकरण र भौतिक संरचना अभावका कारणले पनि विद्यार्थीको रोजाइ महंगो भए पनि निजीतर्फ आकर्षित हुने गरेको बताए ।
प्राविधिक शिक्षा दिने शिक्षालयहरुले दक्ष जनशक्ति उत्पादनका साथै स्थानीयलाई समेत सेवा पु¥याएका छन् । विद्यार्थीहरुबाट निःशुल्क सेवा प्रदान गरिने भएका वरिपरिका किसानहरुले कलेजमा आएर आफ्नो बाली परिक्षण गराउने, विद्यार्थी र शिक्षकलाई खेतबारीमै बोलाएर सल्लाह परामर्श लिने अवसर समुदायले पाएको लतिनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्