Logo

वैदेशिक रोजगारमा श्रमिकको माग घट्यो

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या चालू आर्थिक वर्षको मंसिरसम्ममा ६९.४ प्रतिशतले घटेको छ ।

कोरोना संक्रमणको लहर नसकिएका कारण नेपालको प्रमुख श्रम गन्तव्यमा नेपाली कामदारको माग अपेक्षित बढ्न सकेको छैन । चैत ११ देखिको बन्दाबन्दीपछि सरकारले हालै सुरिक्षत श्रम गन्तव्यमा नेपाली युवा वैदेशिक रोजगारीमा पठाउने तयारी गरेको भए तापनि श्रम गन्तव्यमै आर्थिक क्रियाकलाप बढ्न नसक्दा माग आउन सकेको छैन । तर, नेपालका प्रमुख श्रम गन्तव्य खाडीका कतार, साउदी अरब, युएई, बहराइन र ओमानस्थित नियोगले रोजगारीका लागि मागपत्र प्रमाणीकरणको काम भने सुरु गरिसकेका छन् । कोरोना संकट कायम नै रहेका कारण मलेसियाले आगामी ६ महिनाअघि नेपाली श्रमिक नलिने जनाइसकेको छ भने कुवेतले पनि नेपाली श्रमिकका लागि हाललाई भिसा दिन रोकेको छ । यस्तै, साउदी अरबले पनि एक महिनाअघि श्रमिक नपठाउनु भन्ने जानकारी दिइसकेको छ । अर्को प्रमुख श्रम गन्तव्य कतारले हाललाई पुनः तीन महिनाका लागि विदेशी श्रमिकलाई प्रवेश नगर्ने जनाएको छ । यसरी नेपाली श्रमिक युवा वैदेशिक रोजगारीमा जाने क्रम घटे पनि नेपाल भित्रिने रेमिट्यान्समा भने अझै कमी आएको छैन । वैदेशिक रोजगारीमा जाने नेपाली युवा करिब ८० प्रतिशतले घटेको अवस्थामा नेपाल भित्रिने रेमिट्यान्समा अझै असर परेको छैन । चालू आर्थिक वर्षको मंसिर महिनासम्ममा रेमिट्यान्स १०.९ प्रतिशतले वृद्धि भई ४ खर्ब १६ अर्ब ८१ करोड पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको पाँच महिनाको दाँजोमा ०.२ प्रतिशतले मात्र कम हो । तर, मंसिरसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या भने ७७.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको मंसिरसम्ममा यस्तो संख्या ११.८ प्रतिशतले बढेको थियो । यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या चालू आर्थिक वर्षको मंसिरसम्ममा ६९.४ प्रतिशतले घटेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.६ प्रतिशतले बढेको थियो । जसको कारण हालसम्म रेमिट्यान्समा प्रभाव परेको छैन । तर, चालू आर्थिक वर्षको पुस मसान्तमा यसको प्रभाव देखिन थाल्छ । यदि देखिएन भने पक्कै पनि यसमा अनुसन्धान हुन आवश्यक हुन्छ ।
यता, कोरोना कहरका कारण वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या उल्लेख्य रूपमा घटे पनि रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या भने स्थिर रहेको छ । हुन त नेपालबाट रोजगारीका लागि बाहिरिने र नेपाल भित्रिनेको संख्यामा कुनै तुलना नहोला, तर पनि गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको ६ महिनामा रोजगारीका लागि नेपाल आउने विदेशी श्रमिकको संख्या ७ प्रतिशत मात्र घटेको पाइएको छ । जबकि सोही प्रयोजनका लागि विदेश जाने नेपालीको संख्या भने ८० प्रतिशत हाराहारीले कमी आएको छ । कोरोना कहरका बेला ठूला परियोजना सञ्चालन भइरहेका कारण रोजगारीका लागि श्रम स्वीकृति लिने विदेशीको संख्या स्थिर रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तर्क छ । कोरोना कहरका बेला रोजगारीका लागि नेपाल सरकारबाट नयाँ श्रम स्वीकृति लिने विदेशीको संख्यामा केही कमी आए पनि नवीकरण गर्नेको संख्या बढी रहेका कारण नेपालमा काम गर्ने विदेशीको संख्या स्थिर रहेको हो । नेपालमा रोजगारीका लागि विभागबाट श्रम स्वीकृति लिने विदेशीमध्ये अधिकांश हाइड्रोपावर, अन्य पूर्वाधार निर्माण र सूचना प्रविधिका क्षेत्रमा काम गर्ने धेरै छन् भने चालू आर्थिक वर्षमा रोजगारीका लागि नेपाल आउने विदेशीमध्ये ७३ प्रतिशत अर्थात् ८ सय २९ चिनियाँ नागरिक रहेका छन् । यसबाट पछिल्ला महिना नेपालमा चिनियाँ लगानीका आयोजनामा काम धमाधम भइरहेको देखिन्छ । तर, धेरै पहिलो प्राथमिकतामा रहेका तथा अन्य महŒवपूर्ण आयोजनाको प्रगति विवरण भने निराशाजनक नै रहेको परिप्रेक्ष्यमा विदेशी लगानीका आयोजनामा काम सुचारु हुनु राम्रो भए तापनि सरकारले पनि राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनामा निर्माणमा जोड दिँदा नेपाली युवाले वैदेशिक रोजगारीको भर पर्नु पर्दैनथ्यो ।

प्रतिक्रिया दिनुहोस्