लक्ष्यभन्दा बढी राजस्व संकलन «

लक्ष्यभन्दा बढी राजस्व संकलन

हेटौंडा- आन्तरिक राजस्व कार्यालय हेटौंडा चालू आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । चालू वर्षको कात्तिक मसान्तसम्ममा कार्यालयले लक्ष्यभन्दा करिब ८ प्रतिशत बढी राजस्व संकलन गरेको जनाइएको छ । कात्तिक मसान्तसम्ममा १ अर्ब २० करोड ८४ लाख ६९ हजार रुपियाँ राजस्व संकलन लक्ष्य लिएको कार्यालयले १ अर्ब ३० करोड ८९ लाख ८३ हजार रुपियाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यभन्दा आठ प्रतिशत अर्थात दशकरोड पाँचलाख १४ हजार रुपियाँ बढी हो ।
व्यवसायीमा कर तिर्नुपर्छ भन्ने भावनाको विकास हुँदै जानुका साथै प्रभावकारी कर शिक्षाको कारण कर संकलन बढ्दै गएको कार्यालयका प्रमुख कर अधिकृत सन्त ढकालले बताए । राजस्वतर्फ सबैभन्दा बढी अन्तःशुल्क र आयकर बढी संकलन भएको छ । आयकर लक्ष्यभन्दा ८ दशमलव ५८ प्रतिशत र अन्तशुल्क लक्ष्यभन्दा करिब ११ प्रतिशत बढी रहेको छ । चालू आर्थिक वर्षको चार महिनाको अवधिमा आयकर १९ करोड ६९ लाख ३७ हजार रूपैयाँ संकलन भएको छ ।
अन्तःशुल्क ८५ करोड ३१ लाख ९६ जहार रूपैयाँ, भ्याट २० करोड ४४ लाख ८९ हजार रूपैयाँ, ब्याजकर १ करोड ४३ लाख ९९ हजार, स्वास्थ्य सेवाकर ३ करोड १७ लाख ८ हजार रूपैयाँ, घरबहाल कर १ करोड ४३ लाख ९९ हजार रूपैयाँ तथा शिक्षा सेवा कर १३ लाख ७३ हजार रूपैयाँ संकलन भएको कार्यालयले जनाएको छ ।
सरकारले ‘करः समृद्ध नेपाल सुखी नेपालीको भर’ भन्ने नाराका साथ मंसिर १ गतेबाट सातौं कर दिवस मनाइरहेको छ । कर सप्ताहअन्तर्गत व्यवसायी तथा अडिटर्सहरूसँग अन्तक्र्रिया, बढी कर बुझाउने करदातालाई सम्मानलगायतको कार्यक्रम राखिएको प्रमुख कर अधिकृत ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्