Logo

संकटकाल लगाएर भए पनि ओली चुनावमा जान्छन् : डा. दीक्षित

नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले देश अहिले ठूलो संकटबाट गुज्रिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने, ‘अहिले हामी अत्यन्तै जोखिमपूर्ण अवस्थामा छौं । देशको अवस्था यस्तो छ कि निकट भविष्यमा के हुन्छ भन्नेपनि थाहा छैन । यो अन्यौलग्रस्त र डरलाग्दो स्थिति हो । हामी जनताले धोकामात्रै पायौं । नेकपाका नेताहरुले ठूलो पाप गरे । केही काम गरेनन् ।’
डा. दीक्षितले आफूहरु जनताले नेकपा नेताहरुको पदीय भागबण्डा र लोभका कारण धोका पाएको भए पनि प्रचण्डको ग्रुपले चाहिँ ओली नमरिदिएकोले धोका पाएको भन्दै कडा टिप्पणी गरे । उनले भने, ‘नेकपाले सरकार गठन गरेको दिनदेखि त्यो भन्दा अलिक अगाडि दिनदेखि नै यिनीहरुबीच यत्रो झैझगडा भएको रहेछ । मुलुकको त वास्ता रहेनछ उनीहरुलाई । उनीहरु त कसले प्रधानमन्त्री पड्काउने, कहिले पड्काउने, अढाइ वर्ष पड्काउने कि अहिले पड्काउने, अथवा गिद्धजस्तो भएर कुन बेला ओली मर्ला भनेर बसेका रहेछन् ।’
उनले अहिले पनि नेपाल कोरोनाको जोखिममा रहेको अवस्था सुनाए । तर, नेपाली जनताको स्वास्थ्यमा खेलबाड गर्ने काम नेताहरुले गरिराखेको उनको गुनासो छ । उनले भने, ‘आफू प्रधानमन्त्री बन्नको लागि जनता मार्ने ? दिनहुँ आन्दोलन भएका छन्, खोइ मास्क ? नेताहरु त स्वार्थी र लोभी रहेछन् ।’
उनले ओली र प्रचण्ड भित्रभित्र काटाकाटको अवस्था रहेको तर बाहिर देखाउँदा मिलेको जस्तो गरेर नाटक गरेको पनि आरोप लगाए । त्यस्तै, ओली र माधव नेपालबीच पनि काटाकाटकै अवस्था रहेको पनि उनले सुनाए ।
दीक्षितले लोकतन्त्रको खम्बा भनेको न्यायपालिका भएको भन्दै यसलाई कमजोर पार्ने काम कसैबाट पनि हुन नहुने धारणा राखे । तर, अहिले न्यायालयलाई पनि कमजोर तुल्याउने काम भैरहेको भन्दै उनले दुःख व्यक्त गरे ।
उनले नेकपाका विभाजित शक्तिहरु दुवैको आ–आफ्नो दाउ र रणनीति रहेको पनि सुनाए । प्रचण्ड र माधव नेपाल संसद पुनःस्थापनाको पक्षमा उभिएको र ओली चुनावको अन्तिम तयारीमा जुटिसकेको पनि उनले सुनाए । उनले संसद विघटनको मुद्दा अहिले सर्वोच्च अदालतको संवैधानिक इजलाशमा बहसको क्रममा रहेकोले यो विषयमा बाहिर जथाभावी टिप्पणी गर्न नहुने धारणा राखे ।
उनले प्रधानमन्त्री ओलीको हाउभाउ हेर्दा पनि उनी निर्वाचन जाँदैछन् भन्ने कुरा निश्चित भएको पनि सुनाए । उनले भने, ‘केपी ओली चुनावको लागि रेडी छन् ।
प्रचण्ड र माधव नेपाल समूह निर्वाचनमा नजाने भन्दैछन् । भोलि निर्वाचन भयो भने सबै दल निर्वाचनमा सहभागी हुन्छन् ।’ दीक्षितले प्रधानमन्त्री ओली संकटकाल लगाएर भएपनि निर्वाचनमा जाने बताए । चुनाव हुने भयो भने कोही पनि पाँच वर्षको लागि बाहिर नबस्ने भन्दै सबै दल निर्वाचनमा जाने पनि उनले दाबी गरे । भोलि राष्ट्रपतीय शासन लागू भएपनि त्यो ओली नै शासन गर्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्