राजनीतिक दलका आमसभाको आयव्यय अपारदर्शी

पुस ५ गते प्रतिनिधिसभा भंग भएपछि एकाएक हिउँदे आमसभाको पारो चढेको छ । ठूलासाना दलहरू सहरदेखि गाउँकेन्द्रित आमसभा वा भेला गरिरहेका छन् । विडम्बना के छ भने प्रधानमन्त्री केपी शर्मा ओली नै सडक तताउँदै हिँडेका छन् । उनको समूहले गरिरहेका आमसभा भड्किलो पनि देखिएको छ । नयाँ दल वा समूहका लागि आमसभा संगठन निर्माणको थलो पनि हो । “नागरिक समूहका -याली वा सभाका लागि पनि स्वतःस्फूर्त रूपमा खर्च संकलन गरिएको देखिन्छ ।
स्थानीय तहदेखि प्रतिनिधिसभाको निर्वाचनसम्म, पार्टीका अधिवेशनदेखि अन्य राजनीतिक कार्यक्रमदेखि ठूल्ठूला राजनीतिक परिवर्तनका लागि भएका वा गरिने आन्दोलनलगायतका सभामा हुने खर्च पारदर्शी नदेखिए पनि यसविरुद्ध ठोस आवाज मुखरित हुन सकेको छैन । चुनावी सभाको खर्चका लागि उद्योगी, व्यापारी र व्यवसायीलाई गुहार्ने गरेको आरोप राजनीतिक दलहरूलाई लाग्दै आएको छ । आमसभाका लागि गरिने माइकिङ, पम्प्लेटिङ, पोस्टरिङ, मञ्च व्यवस्थापनलगायतका अन्य व्यवस्थापकीय कार्यमा पैसा खर्च हुन्छ । आमसभाका सहभागीहरू ल्याउनुपर्दा यातायात खर्चदेखि खाना, खाजा खुवाउने गरिन्छ । झन्डा, ब्यानर, टोपी, टिसर्ट बनाएको पाइन्छ । आमसभाका लागि गरिने खर्चको स्रोत भने अदृश्य छ । अझ सत्ताधारी दलका राजनीतिक सभा, अधिवेशनमा भने सत्ता, पद र पहुँचको दुरुपयोग हुँदै आएको छ । अहिलेको मन्त्रीमण्डलका सदस्यले भने यसमा अझै एक कदम अघि बढेका छन् ।
यसैले दलको कोष, कोष प्रणालीको पारदर्शिताले अन्य क्षेत्र वा निकायका आर्थिक सुशासन, पारदर्शितालाई पनि प्रभावित पार्छ । देश हाँक्ने दलको कोष नै अपारदर्शी छ भने तिनले अन्य कोषहरू पारदर्शी बनाउन पर्छ भनेर जति चिच्याए पनि त्यो नाटक वा नौटंकीसिवाय केही हुँदैन । प्रविधिको जमानामा पनि दलीय कोष प्रणाली गोप्य नै राखिन्छ । अहिलेका चल्तीका नेताहरू नेतृत्वमा रहेसम्म राजनीतिक दलका सभामा के–कति खर्च भयो ? के–के शीर्षकमा खर्च हुन्छ ? त्यो खर्चको स्रोत को र के हो ? के नेता÷हरूले व्यक्तिगत खर्च बेहोर्छन् ? भन्ने प्रश्न सायद वर्षौंसम्म पनि अनुत्तरित हुनेछ । यस्ता प्रश्नको उत्तर खोज्नु फजुल सिवाय केही नहुन सक्छ । तर हामीले खोजी जारी राख्यौं भने एक दिन सुधार हुनसक्छ । प्रस्तुत छ, यसै सन्दर्भमा कारोबारकर्मीले गरेको कुराकानीको सार :
आमसभाको खर्चका लागि राज्यको ढुकुटी दुरुपयोग गरिएको छ
राजेशमान सिंह
नेता, जसपा
राजनीतिक दलहरूले आयोजना गर्ने आमसभाको खर्चको स्रोत भनेको सत्तामा पुगेका र मन्त्री बनेकाकैबाट जुटाउलान् ! वास्तवमा भन्नुपर्दा आयोजकहरूलाई नै बढी थाहा हुन्छ । आपूm आयोजकमा पनि पर्दिनँ । जसले देशको सत्ता चाखिसकेका हुन्छन्, उनीहरूलाई पैसाको के अभाव होला र ? जस्तै विभिन्न संवैधानिक निकायहरूमा गरिने नियुक्तिमा पनि उहाँहरूको फन्डिङ हुन्छ होला । जो देशमा पटक–पटक कुर्सीमा पुगिसकेका छन्, उनीहरूबाट पनि पैसा आउँछ होला । व्यापारीहरूदेखि लिएर पुराना सेटिङ पनि होला । अहिलेको नेकपाकै विवादमा देखियो नि ! कम्युनिस्ट पार्टीकै आमसभाहरूमा देखियो । १० दिनको अन्तरालमा दुईवटा ठूला आमसभाहरू गरेका थिए । त्यहींबाट सार्वजनिक भयो । कसैले लडाकुको पैसा ल्यायो भनेको छ । कसैले संवैधानिक निकायमा गरेको नियुक्तिमा रकमको चलखेल भयो भनेर एक–अर्काको पोल खोलिरहनुभएको छ । यसरी नै ल्यायो होला भन्ने मलाई लाग्छ ।
मेरो पार्टीकै कुरा गर्दा पनि सत्तामा पुगेका छन् । कोहीकोही इमानदार नेता–कार्यकर्ताहरू पनि छन् । सबैलाई एउटै तराजुमा राख्नु पनि हुँदैन । तर, प्रायः जो सत्तामा बसेर सत्ताभोग गरिसकेका छन्, कमाइसकेका छन्; अहिले आपूmलाई पुनःस्थापित गर्न र गराउनका लागि आपूmले गलत तरिकाबाट कमाएको पैसा नै खर्च गरिरहेका छन् । अहिलेको आमसभामा लगानी गरिरहेका छन् । सरकारी निकायहरूबाट पनि लिने गरेका छन् । आमसभाहरूमा कति खर्च हुन्छ होला भन्ने उदाहरणमा मैले देखेअनुसार आमसभामा जानेलाई ‘आज नाइट बस चढ्नुस्, भोलि पुग्नुस्, मासुभात खानुुस्, फेरि फर्केर आउनुस्, आउने–जाने, खाने–बस्ने सबै व्यवस्था हुन्छ,’ भनेको जानेहरूले भनेका छन् । मैले आफैंले पनि देखेको छु । तपाईं आफैं अनुमान गर्नुस्, कति खर्च हुन्छ होला । चन्दा पनि ठूला व्यापारीहरूले ठूलै पार्टीलाई दिएका हुन्छन् । सानातिनालाई गन्दा पनि गन्दैनन् । गलत काम गरेका व्यापारीहरूलाई नेताहरूले पनि चिनेका हुन्छन्, जसले गलत काम गरेका व्यक्तिहरूको विषयमा जानेका हुन्छन् । उनीहरू सत्तामा छन् भने उनीहरूलाई चन्दा पक्कै दिन्छन् । अब नेपालमा स्वच्छ र स्वस्थ राजनीति कहिले होला भन्ने सोचिरहेको छु । नेपाली जनताको हातमा छ । यो नेपाली जनताले कम्तीमा नेताको पछाडि लाग्नुको सट्टा सहीलाई सही र गलतलाई गलत भन्न सके त्यो दिन चाँडै आउला । राजनीतिक दलबाटै किन खोज्नुप¥यो ? जनताले पनि स्वच्छ छवि भएका व्यक्ति चुन्न सक्नुपर्छ । राजनीतिक दलको नाममा मत दिनेले अब समाज र जनताको लागि काम गर्ने व्यक्तिहरूलाई रोज्नुपर्छ । अब राजनीतिमा स्वच्छ छवि भएका व्यक्तिहरूको खोजी भइरहेको छ । पुराना अनुहारका नेता र नेतृत्वको छवि समाजमा देखिसकियो । अब नयाँ पुस्ताले त्यस्ता व्यक्तिहरूको खोजी गर्नुपर्छ, जसले समाज र देशको हितमा काम गर्छ । नेपाली राजनीतिक संस्कार यस्तो नराम्रो बाटोमा गएको छ कि एक छाक मासुभातमा भोट बिकेको छ । गरिब जनतालाई राजनीतिक नेताहरूले प्रयोग मात्रै गरिरहेका छन् । अहिले राजनीतिक दलहरूले गर्ने आमसभाहरूमा सहभागी भएकाहरूबाट पनि विभिन्न सञ्चार माध्यहरूमा आइसकेका छन् । यस्तो खालको राजनीतिले देशको विकास सम्भव छैन । त्यसैले यस्तो परिपाटीलाई तोड्नुपर्ने आजको आवश्यकता छ । त्यसका लागि सच्चाइलाई बुलन्द गर्नुपर्छ ।
प्रस्तुति ः निरज पिठाकोटे मगर
सभा–सम्मेलनको आयव्यय सार्वजनिक गर्नुपर्छ
राजीव पहारी
सांसद, गण्डकी प्रदेश
अहिले हरेक राजनीतिक पार्टीका नेता तथा कार्यकर्ता उत्पादनसँग जोडिएका छन् वा केही न केही पेसा व्यवसायमा आबद्ध भएकै छन् । हिजोको जस्तो धेरै मानिसहरू बेरोजगार भएर बसेको हिजोआज पाइँदैन, केही न केही विकास निर्माणमा लागेको पाइन्छ । विभिन्न क्षेत्रमा हुने राजनीतिक पार्टीका सभा–सम्मेलन र जनसभामा नेता तथा कार्यकर्ताले आफैं पैसा उठाएर खर्च गर्ने गरेका छन् । यही माघ २३ गते काठमाडौंमा भएको नेकपाको जनसभामा पनि विभिन्न क्षेत्रबाट सहभागीहरूले समन्वय गरी आ–आफ्नो ढंगबाट पैसा उठाएर बिहान आउनुभयो र रातिराति बेलुका घर फर्किनुभएको अवस्था हो । नेपालमा पनि जहाँ पायो त्यहीं कार्यक्रम गर्ने परिपाटीलाई अब परिवर्तन गर्नुपर्छ ।
यस्ता कार्यक्रमहरू सञ्चालन गरेपश्चात् राजनीतिक दलहरूले जनता र व्यवसायीहरूसँगको विश्वास जित्नका लागि पनि आयव्यय सार्वजनिक गर्नुपर्छ, निर्वाचनका बेला संविधानमा उल्लेख भएकाले बाध्य भएर सार्वजनिक गर्ने गरिन्छ । अहिले हामी सांसदहरूले पार्टीलाई लेबी बुझाउने गर्छाैं, जस्तो भनौं कि म प्रदेश सांसद भएको हुनाले मासिक ६ हजार पार्टीलाई लेबी बुझाउँछु, नेकपा सदस्यले मासिक १० रुपैयाँ बुझाउने गर्छन्, विभिन्न कार्यक्रम हुँदा सहयोग चन्दा पनि उठाउने गरिन्छ । कहिलेकाहीं पार्टीलाई विशेष सहयोगसमेत प्राप्त हुनेगर्छ । निर्वाचित प्रतिनिधिहरूले ठूला कार्यक्रममा विशेष ढंगले समन्वय गर्दै आएका छौं ।
प्रस्तुति ः दीननाथ बराल
पार्टीभित्रकै नेताबाट संकलित रकमबाट खर्चको व्यवस्थापन हुन्छ
नागेश कोइराला
सचिव, नेपाली कांग्रेस, मोरङ
एवं आर्थिक समिति सदस्य
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि यतिबेला नेपाली कांग्रेस देशव्यापी आन्दोलनमा उत्रिएको छ । आन्दोलन गर्दा अवश्य पनि खर्च हुन्छ । तर, कांग्रेसको आय–व्यय अत्यन्तै पारदर्शी हुन्छ । कांग्रेसले कसैसित जबरजस्ती चन्दा उठाउँदैन । कांग्रेसभित्र थुपैै्र शुभेच्छुक र सहयोगीहरू छन् । उनीहरूले नै कांग्रेसलाई सहयोग गर्दै आएका छन् । विरोधसभा र प्रदर्शनका लागि पनि पार्टीकै नेता र कार्यकर्ताहरूले सहयोग गर्नुहुन्छ । कसैले ब्यानर, कसैले झन्डा, कसैले पम्प्लेट, कसैले साउन्ड, कसैले पानी किनेर सहयोग गर्नुहुन्छ । कसैले मञ्च बनाएर । कांग्रेसको विचारसँग नजिक भएका उद्योगी व्यवसायीहरूले पनि स्वेच्छिक रूपमा सहयोग गर्नुहुन्छ । मोरङबाट मात्रै कांग्रेसका ११ जना केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँहरूले पनि सहयोग गर्दै आउनुभएको छ । हामीले कसैसित हात पसार्नु पर्दैन । उहाँहरू आफैंले बुझेर सहयोग गर्नुहुन्छ । जिल्लामा राजनीति गर्ने पार्टीका धेरै साथीहरू आर्थिक रूपमा सम्पन्न हुनुहुन्छ । उहाँहरू सबैले स्वतःस्फूर्त सहयोग गर्नुहुन्छ पार्टीलाई ।
विरोधका लागि आवश्यक पर्ने सामग्रीबाहेक नगद भने हामीले पार्टीको खातामार्फत खर्च गर्ने गरेका छौं । बैंक खातामा रहेको रकम सचिव र कोषाध्यक्षको सहीबाट मात्रै सञ्चालन हुन्छ । दुवै जनाको सही अनिवार्य गरिएपछि खर्चको पारदर्शिता झनै हुन्छ । हामीले कार्यक्रम सम्पन्न भइसकेपछि जिल्ला कार्यसमितिको बैठकबाट खर्च अनुमोदन गर्नछौं । यसले गर्दा कांग्रेसले गर्ने खर्चमाथि कसैले प्रश्न उठाउन सक्दैन । कांग्रेसको आय–व्यय अत्यन्तै पारदर्शी हुन्छ । जसले जुनसुकै बेला पनि खर्चको हिसाब हेर्न र बुझ्न सक्नुहुनेछ । विरोधसभाका नाममा चन्दा संकलन गर्ने र पार्टीका नेताहरूले हिनामिना गर्ने गरेका घटनाहरू पनि थुप्रै छन् । जसले गर्दा आमसर्वसाधारणमा खर्चका विषयमा आशंका उब्जिनु स्वाभाविक हो । तर, यसरी उत्पन्न हुने आशंकालाई हामीले चिर्न सफल भएका छौं ।
प्रस्तुति ः मीनकुमार नवोदित
दलले गर्ने अपारदर्शी खर्चले भ्रष्टाचार बढेको छ
सन्तोषी शाही
केन्द्रीय सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टी
सर्वप्रथम त म के कुरामा निवेदन गर्न चाहन्छु भने यो विषय नै संसदीय व्यवस्थाको प्रमुख अवगुण हो । निर्वाचनमा प्रतिस्पर्धा गर्न उम्मेद्वारले सामान्य खर्च गर्न पाउने गरी निर्वाचन आयोगले व्यवस्था गरेको छ । तर चुनावी मैदानमा उत्रिएका उम्मेदवारले करोडौँ रकम खर्च गरिरहेका हुन्छन् । यहींबाट सम्पूर्ण कुरा भद्रगोल भएको छ । चुनावमा करोडौँ खर्च गरेर जितेका नेताहरू जनसेवाभन्दा पनि आफ्नो लगानी भएको रकम कसरी असुलउपर गर्ने र आर्जन गर्ने भन्ने लक्ष्यमा तल्लीन हुने भएकाले नेपालको राजनीतिमा विकृति र विसंगति मौलाएको हो । तामझामसहितका आमसभादेखि आमहड्ताल गर्ने कार्यक्रममा अवश्य पनि धेरै नै खर्च भएको छ । तर यस्तो खर्चको हिसाबकिताब आजसम्म कुनै पनि दलले सार्वजनिक गर्न सकेका छैनन् र चाहँदैनन् पनि । यो नै देश र जनताको लागि दुर्भाग्य हो ।
देशमा भएका ठूला–ठूला परिवर्तनमा विदेशीहरूको ठूलो लगानी भएको कुरा तपाईं–हामी सबैले सुनेकै कुरा हो । तर देशभित्र प्रत्येक राजनीतिक दलहरूले गर्ने आमसभा, महाधिवेशन र आमहड्तालमा देशभित्रका उद्योगपति, व्यापारी, संघसंस्थादेखि विभिन्न व्यक्तिसँग ठूलो मात्रामा रकम चन्दा संकन गरी निकै ठूलो धनराशि खर्च गर्ने गरेका हुन्छन् । तर त्यसको पारदर्शिता र लेखाजोखा कसैले कहिल्यै खोज्दैनन् । नेपालका वर्तमान राजनीतिक दलहरूको यही प्रवृत्तिका कारण देशमा भ्रष्टाचार बढेको हो । यस्तो तामझाममा गरिने खर्चको विवरण सार्वजनिक नहुनु नेपाल र नेपालीका लागि दुर्भाग्य हो । अब हामी सम्पूर्ण युवाले यस्ता विकृति–विसंगति र भ्रष्टाचारको विरुद्धमा एकजुट भएर संघर्षमा उत्रिनुपर्छ । अन्यथा यस्तो विकृतिलाई नियन्त्रण गर्ने अर्काे कुनै विकल्प छैन ।
प्रस्तुति : गोबिन्द खत्री