Logo

विश्वसनीयताको कठघरामा वित्तीय विवरण

अशुद्ध-शुद्ध जे भए पनि प्रकाशित विवरणले विगत बताउँदै गर्दा सोही आधारमा सहजै भविष्यको सटीक आकलन र लगानीमा प्रतिफल सुनिश्चित हुन्न ।

लगानीकर्तालाई कम्पनीको व्यावसायिक, वित्तीय र मुनाफाको अवस्था जानकारी गराउनेभन्दा कानुनी बाध्यताले प्रकाशित वित्तीय विवरणमा “आजका मितिसम्म यस प्रतिवेदनमा उल्लिखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै, म यो उद्घोष गर्छु कि मैले जानेबुझेसम्म यस प्रतिवेदनमा उल्लिखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सु–सूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।” भन्ने कार्यकारी उद्घोषका बाबजुद विश्वसनीयताको कठघरामा पर्नु विडम्बना हो । सु–सूचित लगानी निर्णयका लागि आगामी रणनीति र पूर्वानुमान त परको कुरा अपूर्ण र त्रुटिपूर्ण वित्तीय विवरणले पासोमा परिने जोखिम छ । गत आवको लेखापरीक्षण नभएको वार्षिक मुनाफाहरू र लेखापरीक्षणपछि वितरित लाभांशले प्रकाशित विवरणको शुद्धतामा सोच्न बाध्य पा-यो । लेखापरीक्षणको बहानामा अशुद्ध र कानुनले तोकेको न्यूनतम जानकारी नदिने कम्पनीहरूमाथि नियामकबाट सचेत र कारबाही नहुनु अर्को बिडम्वना हो । त्यसैले एकीकृत डाटाबेस र संस्थागत क्षमता नभएको नियामकबाट धेरै आशा गर्नुभन्दा प्रकाशित विवरणलाई सन्दर्भ सामग्री बनाएर थप विश्लेषण गर्दा लगानी निर्णय सही हुन्छ र ‘सूचनापासो’ बाट बचिन्छ ।

चुक्ता पुँजी तथा जगेडा कोष
प्रकाशित विवरणअनुसार दोस्रो त्रैमाससम्म कुल चुक्ता पुँजी ३०४.१४ अर्ब देखिए तापनि बोनस सेयरसमेत समायोजन गर्दा बैंकहरूको कुल चुक्ता पुँजी रु. ३११.७० अर्ब र औसतमा करिब रु. ११.५४ अर्ब पुगेको छ । कृषि विकास र एभरेस्टको अग्राधिकार सेयरलाई समायोजन गर्दा सबैभन्दा बढी ग्लोबल आईएमईको रु. २१.६३ अर्ब र कममा स्ट्यान्डर्ड चार्टर्डको ८.५७ अर्ब हुनेछ । चुक्ता पुँजीमा अनावश्यक प्रतिस्पर्धाले बैंकहरू पुँजी भारले थिचिँदै प्रायः आधारभूत सूचकमा खस्किँदै छन् ।

लाभांशका लागि सञ्चितिसँगै प्रिमियमको उपयोगले ८ वटा बैंकसँग केवल १.२५ अर्ब रुपैयाँ मात्र प्रिमियम रकम बाँकी छ । जगेडा कोषतर्फ सबैभन्दा बढी नेपाल बैंकसँग १५.५९ अर्ब, नविलसँग १३.५२ अर्ब र नेपाल इन्भेस्टमेन्टसँग १२.१५ अर्ब देखिँदा सेञ्चुरीसँग सबैभन्दा कम रु. १.४५ अर्ब मात्र रहेको छ । लाभांश समायोजन हुँदा कोषहरूको अवस्था फरक हुन सक्नेछ ।

निक्षेप र कर्जा
अन्योलपूर्ण र संकुचित आर्थिक गतिविधिका बाबजुद बैंकहरू अरूलाई गाभेर वा कर्मचारी खटाएर बैंकिङ व्यवसायको आधार निक्षेप तथा कर्जा विस्तारमा आक्रामक देखिन्छन् । नेपाल एसबीआईको भने कर्जा तथा सापटीमा संकुचन देखिन्छ । बैंकमा ग्राहक निक्षेप बढेर कुल ३,६६७.७६ अर्ब तथा औसतमा प्रतिबैंक १३५.८४ अर्ब रुपैयाँ पुगेको छ । सबैलाई उछिन्दै एनआईसी एसियाले २६८.११ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा सिभिलभन्दा कमजोर हुँदै नेपाल बंगलादेशले केवल ७०.०९ अर्बमात्र निक्षेप पाएको छ ।
ग्राहकलाई कर्जा तथा सापटी वार्षिक करिब १८.५ प्रतिशतले बढेर कुल ३,१००.२६ अर्ब रुपैयाँ तथा औसतमा ११४.८२ अर्ब रुपैयाँ हाराहारी पुगेको छ । एनआईसी एसियाले २२१.२४ अर्ब रुपैयाँसहित पहिलो हुँदा ५३.१२ अर्बसहित स्ट्यान्डर्ड चार्टर्डले अन्तिमको सिभिलको स्थान खोसेको छ ।

खुद मुनाफा, प्रतिसेयर आय र नेटवर्थ
६ महिनाको अवधिमा बैंकहरूले कुल ३१.०७ अर्ब रुपैयाँ खुद मुनाफा गर्दा सबैभन्दा बढी ग्लोबल आईएमईले रु. २.३२ अर्ब, घटीमा सिभिलले २० करोड रुपैयाँ र औसतमा रु. १.१५ अर्ब कमाए । चुक्ता पुँजी १६.२९ प्रतिशतले बढ्दा औसत खुद मुनाफा ६.५ प्रतिशतले घटेको छ । यस्तै, वित्तीय विश्लेषण र लगानी निर्णयको मुख्य आधार वार्षिक प्रतिसेयर आय (ईपीएस) रु. ३५.७३ रुपैयाँसहित एनआईसी एसियाले सबैलाई उछिन्दा सिभिलको रु. ४.६९ मात्र हुनेछ । पुँजी वृद्धिको तुलनामा आम्दानी नबढ्दा औसत ईपीएस घटेर रु. १९.४८ मा झरेको छ । तथ्यांकमा बढी नविलको रु. २७.३४ र कम सिद्धार्थको रु. २.८० घाटा देखिए पनि गत आवको अनुभव अनि पहिलोबाट दोस्रो त्रैमासको परिवर्तनलाई मनन गर्दा प्रतिसेयर वितरणयोग्य आय (डीपीएस) लाई नै लाभांश र लगानीको आधारमा बनाउनु गलत हुनेछ ।
विवरणले बलियो राष्ट्रिय वाणिज्यको रु. २८२.८२, नेपाल बैंकको २५३.१८ तथा कमजोरसहित सेञ्चुरीको रु. ११८ र औसत नेटवर्थ रु. १६३.९० देखाउँछ । प्रकाशित विवरणमा पुँजी र ईपीएस समायोजनमा अपनाइएको फरक मापदण्डले वास्तविक ईपीएस, नेटवर्थ फरक अंक पर्नेछ ।

पुँजीकोषको अवस्था
हाल बैंकलाई न्यूनतम ११ प्रतिशत पुँजीकोष हुनुपर्ने व्यवस्था छ । बैंकहरूको कायम औसत १३.९४ प्रतिशतको पुँजीकोष सन्तुलित र पर्याप्त मान्नुपर्छ । विवरणअनुसार प्रभुको ११.४ र माछापुच्छ«ेको ११.९६ पुँजीकोष हुँदा स्ट्यान्डर्ड चार्टर्डको १९.३६ सहित ९ बैंकको पुँजीकोष १४ प्रतिशतमाथि छ । पर्याप्त पुँजीकोष भएका बैंकलाई डिबेन्चर अनिवार्य गरिनु हुन्न ।

मूल्य आम्दानी अनुपात
मूल्य आम्दानी अनुपात (पीई)ले कम्पनी प्रतिलगानीकर्ताहरूको आस र त्राससँगै सेयरको माग र आपूर्तिको अवस्थालाई मूल्यमा व्यक्त गर्छ, जुन प्रत्येक कारोबारसँगै परिवर्तन हुने हुँदा तालिकामा दिइएन । प्रचलित बजार मूल्यका आधारमा गत माघमा १३.७८ रहेको बैंकहरूको औसत पीई हाल २३.९९ हाराहारी पुगेको छ, जसले बढ्दो सेयरको माग र मूल्यगत जोखिमलाई इंगित गर्छ । प्रचलित मूल्यमा गणना गर्दा १३.१८ पीईका आधारमा नेपाल बंगलादेश सस्तो अनि ४५.८० पीईले सिभिल महँगो देखिन्छ ।

लगानी व्यवस्थापन
विवरण प्रकाशित गर्दासम्म नेपाल इन्भेस्टमेन्ट, सिद्धार्थ, एनसीसी र सिभिलबाहेकले पुस मसान्तभित्रै साधारण सभा गरी लाभांश पारित गरे पनि एनएमबी, नेपाल बंगलादेश र नेपाल एसबीआईले पुँजी समायोजन आवश्यक ठानेनन् । नतिजास्वरूपको अशुद्ध ईपीएसले लगानी जोखिम निम्त्याउँछ । यस्तै गाभ्ने–गाभिने अनि मेगा मर्जर नटुंगिदासम्म प्रायः बैंकको भविष्य अन्योलपूर्ण र लगानी निर्णय कठिन भएको छ ।
सार्वजनिक तथ्यांकले चुक्ता पुँजीमा ग्लोबल आईएमई; जगेडा कोष र नेटवर्थमा नेपाल बैंक; ग्राहक निक्षेप, कर्जा तथा सापटीसँगै ईपीएसमा एनआईसी एसिया; पीईमा नेपाल बंगलादेश; पुँजीकोषमा स्ट्यान्डर्ड चार्टर्ड बलियो देखाउँछ । चुक्ता पुँजी र कर्जा तथा सापटीमा स्ट्यान्डर्ड चार्टर्ड; ग्राहक निक्षेपमा नेपाल बंगलादेश; पुँजीकोषमा प्रभु; जगेडा कोष र नेटवर्थमा सेञ्चुरी; ईपीएस र पीईमा सिभिल कमजोर देखिन्छन् ।
अशुद्ध-शुद्ध जे भए पनि प्रकाशित विवरणले विगत बताउँदै गर्दा सोही आधारमा सहजै भविष्यको सटीक आकलन र लगानीमा प्रतिफल सुनिश्चित हुन्न । लगानी निर्णय वा व्यवस्थापन गर्दा प्रकाशित वा उल्लिखित तथ्यांकसँगै सम्भावित र शुद्ध ईपीएस, पीई, नेटवर्थ र पुँजीकोषसँगै लाभांश प्रतिफल दर (डिभिडेन्ड यिल्ड), इक्विटीमा प्रतिफल (आरओई), बजार र किताबी मूल्य अनुपात (पीबी रेसियो), ब्याजदर अन्तर (स्प्रेड), निष्क्रिय कर्जा र तरलताको अवस्था, व्यवसायको वृद्धि अनि लगानीको उद्देश्य, अवधि, पुँजीको स्रोत, अपेक्षित मुनाफा, जोखिम वहन÷व्यवस्थापन क्षमता, गाभ्दा वा गाभिँदाको सम्भावित अवस्थालाई पनि ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्