निगमलाई १५ दिनमा एक अर्ब घाटा «

निगमलाई १५ दिनमा एक अर्ब घाटा

ग्यासमा प्रतिसिलिन्डर ३ सय १७ रुपैयाँ घाटा
लामो समय देखि नाफा कमाउदै आएको नेपाल आयल निगम पछिल्लो समय घाटा बेहोरदै आएको छ ।
अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य लगातार बढ्दै गएकाले पछिल्लो एक महिना यता निगमले घाटा बेहोरनु परेको हो । इन्डियन आयल कर्पाेरेशन(आइओसी)ले पठाएको नयाँ मुल्य अनुसार पेट्रोलियम पदार्थको मुल्य बढेर आएकाले निगमले १५ दिनमा झन्डै एक अर्ब घाटा बेहोरनुपरेको परेको हो ।
पेट्रोलियम पदार्थको मुल्य बढेर आएकाले १५ दिनमा झन्डै ९७ करोड ७५ लाख बराबरको नोक्सान हुने देखिएको निगमको भनाई छ । निगमलाई सवै भन्दा धेरै ग्यासमा ४६ करोड घाटा रहेको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएपछि त्यसको प्रभाव निगमलाई पर्न गएको हो । कोरोना भाइरस(कोभिड१९)को प्रभावले विश्वभर लकडाउन हुँदा चैत महिनामा प्रतिव्यारेल २० डलरमा भरेको कच्चातेलको मुल्य अहिले बढेर ५९ डलर पुगेको छ । त्यतिबेला निगमले प्रतिलिटरमा पेट्रोलमा १० रुपैयाँ मुल्य घटाएको थियो ।
निगम प्रवक्ता वीनितमणि उपाध्यायले इन्धनको मुल्य बढेर आएकाले निगमलाई १५ दिनमा झन्डै एक अर्ब घाटा रहेको जानकारीदिए । लागातार इन्धनको मुल्य बढ्दै गएपछि निगमको घाटा बढेर थेग्न नसक्ने अवस्थामा पुगेकाले समायोजन नगरी नहुने अवस्थामा पुगेको उनको भनाई छ ।
आइओसीले गत सोमबार पठाएको नयाँ मुल्य अनुसार निगमलाई प्रतिलिटर पेट्रोलमा ६ रुपैयाँ ८० पैसा, डिजेलमा ४ रुपैयाँ ६७ पैसा घाटा रहेको छ । यस्तै खाना पकाउने प्रतिसिलिन्डर ग्यासमा भने प्रतिसिलिन्डर ३ सय १७ रुपैयाँ ११ पैसा नोक्सान हुने निगमले जनाएको छ । पेट्रोल, डिजेल, र खाना पकाउने एलपी ग्यासको घाटाका कारण धेरै नोक्सानी हुने अवस्था देखिएको हो । हवाई इन्धन र मट्टितेलमा मात्र निगमलाई नाफा रहेको छ । मट्टितेलमा निगमलाई प्रतिलिटर १८ रुपैयाँ १० पैसा र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर रु २ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा ३५ रुपैयाँ ८७ पैसा नाफा हुँदै आएको छ । इन्धनको मुल्य नै बढेर आएकाले विभिन्न प्रकारका कर, शुल्क, ढुवानी भाडा, ह्रासकट्टि समेत गरी निगमलाई पेट्रोलमा १ सय १६ रुपैयाँ ८० पैसा लागत पर्न आउँछ । त्यस्तै, डिजेलमा प्रतिलिटर ९७ रुपैयाँ ६७ पैसा, मट्टितेल प्रतिलिटर ७४ रुपैयाँ ९० पैसा लागत पर्छ । आन्तरिक हवाई इन्धन प्रतिलिटर ६३ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर १ हजार ६ सय ७५ रुपैयाँ ११ पैसा लागत पर्छ ।
अहिले बजारमा पेट्रोल १ सय १० रुपैयाँ, डिजेल र मट्टितेल ९३ रुपैयाँ, आन्तरिक हवाई इन्धन ६५ रुपैयाँ र खाना पकाउने ग्यासको बिक्री मूल्य १ हजार ३ सय ७५ रुपैयाँ रहेको छ । खाना पकाउने एलपी ग्यासको बिक्री मूल्य प्रतिसिलिण्डर एक हजार ३ सय ७५ रुपैयाँ रहेको छ।
आइओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मुल्य पठाउने गर्छ । सोही अनुसार निगमले स्थानीय बजारमा मुल्य सामायोजन गदै आएको छ । निगमले आर्थिक वर्ष २०७२ साल देखि स्वचालित मूल्य प्रणाली लागु गदै आएको छ । स्वचालित मुल्य प्रणाली अनुसार इन्धनको मुल्य बढ्ने र घट्दा घट्ने हुन्छ तर लागातार मुल्य बढ्दै गएपछि मुल्य बढाउँदा उपभोक्तालाई भारपर्ने भन्दै निगमले मुल्य स्थिरिकरण कोषबाट घाटा व्यवस्थापन गर्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्