Logo

५० करोड लगानीमा निर्मित होटल ‘सोल्टी वेष्टेन्ड प्रिमियर’संचालनमा

नेपालमा सबैभन्दा बढी मुनाफा कमाउने पाँच तारे सोल्टी होटलले राजधानीबाहिर पहिलो पटक नेपालगन्जमा ५० करोडभन्दा बढीको लगानीमा होटल ‘सोल्टी वेष्टेन्ड प्रिमियर’ को नाममा आफ्नो शाखा विस्तार गरेको छ ।
राजधानी काठमाडौमा होटल सञ्चालन गरेको पचास वर्षपछि नेपालगन्जमा ‘सोल्टी वेष्टेन्ड प्रिमियर’ को नाममा चार तारे होटल संचालनमा ल्याइएको हो ।
नेपालगन्जको कारकादौं भुजईगाउँमा नयाँ वर्ष २०१८ संगै संचालनमा ल्याइएको सो चारतारे होटल नेपालकै पहिलो ग्रीन होटल रहेको व्यवस्थापनले जनाएको छ । त्यसका लागि सो होटल निड सर्टिफाइड रहेको छ ।
नयाँ वर्ष सन् २०१८ को स्वागतसँगै होटलको सफ्ट ओपेनिङ गरिएको जानकारी दिंदै सोल्टीको क्रिम होटल्स एन्ड रिसोर्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत विक्रम शाहले हाललाई ५० वटा रुम मात्र खुला गरिएको बताए । सो होटलको औपचारिक उद्घाटन आगामी मार्च एक तारिखमा गरिने कार्यक्रम रहेको जनाउँदै उनले सो समयसम्म होटल पूर्ण रूपमा संचालनमा आइसक्ने जनाए ।
दुई बिघा क्षेत्रफलमा निर्माण गरिएको होटल सोल्टी वेष्टेन्ड प्रिमियरमा २० वटा क्लब रुम र ४ वटा स्वीट रुम देखि ३० सिट क्षमताको बारसमेत सञ्चालनमा आइसकेको व्यवस्थापनले जनाएको छ ।
विवाह, व्रतबन्ध लगायतका भोजका लागि ८ सय जना अट्ने ब्यांंकेट हल समेत होटलभित्रै रहेको र तीन सय जना अट्ने कन्फ्रेन्स हलमा प्राकृतिक वातानुकूलित प्रविधि जडान गरिएको बताइएको छ ।
स्वदेशी र विदेशी पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याइएको जानकारी दिंदै प्रमुख कार्यकारी अधिकृत शाहले नेपालगन्जकै मध्यम वर्गका सेवाग्राहीका लागि पनि स्वागत गर्न सकिने योजना बनाइएको बताए ।
विशेष गरी कैलाश मानसरोवर जाने विदेशी पर्यटकलाई लक्षित गर्दै होटलमा व्यवस्थाहरू मिलाइएको जनाउँदै उनले भने– “नेपालगन्ज कैलाश मानसरोवर जाने पर्यटकको लागि प्रवेशद्वार भएकोले यहाँ ठुलो र स्तरीय होटलको माग थियो ।”
सो होटलमा सोल्टी र एनई समूहको सिवक्रिम होटल्स एन्ड रिसोर्ट प्रालिको लगानी रहेको बताइएको छ । होटलमा सोल्टी हस्पिटालिटी लिमिटेड, सिबक्रिम ल्यान्ड एन्ड इन्ड्रष्ट्रियल कम्पनी र सोल्टी इन्टरप्राइजेज सञ्चालक छन् । सोल्टी इन्टरप्राइजेज होटल सोल्टीकै बहुमत स्वामित्व भएको कम्पनी हो ।
सोल्टी हस्पिटालिटी, सिबक्रिम ल्यान्ड एन्ड इन्डष्ट्रियलको ३० र सोल्टी इन्टरप्राइजेजको ४६ प्रतिशत सेयर छ । सोल्टीको नेपालगन्जको होटल क्राउन प्लाजा चेनको रूपमा भने नरहेको बताइएको छ । यो होटल नेपालगन्जमा सोल्टी ब्रान्डमा मात्रै सञ्चालन हुनेछ ।
नेपालगन्जपछि पोखरामा सोल्टी ब्रान्डकै होटल निर्माणको तयारी गरिने योजना रहेको जनाउँदै उनले त्यसपछि विराटनगर र भैरहवामा पनि होटल खोल्ने योजना रहेको बताए ।
युवराज हिमालय शमशेर उनकी श्रीमती प्रिन्सेस राज्यलक्ष्मीले सन् २०२२ सालमा सोल्टी होटल स्थापना गरेका थिए । सोल्टीको अहिले बजार पुँजीकरण २० अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।
विश्वबजारमा पहुँच स्थापना गर्न सफल सोल्टीले नेपालगन्जमा सोल्टी वेष्टेन्ड प्रिमियर नाममा शाखा विस्तार गर्दा यहाँको पर्यटन विकासमा सकारात्मक सन्देश गएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले बताए । उनले बाँकेमा ठुला ठुला होटल खुल्न थालेपछि यो जिल्ला प्रदेश नम्बर ५ कै प्रमुख आर्थिक राजधानी बन्ने निश्चित भएको बताए ।

पूर्वराजा ज्ञानेन्द्र सपरिवार होटलमा
पूर्व राजा ज्ञानेन्द्र आफ्ना आफन्त सहित सपरिवार गत १० दिनदेखि नेपालगन्जस्थित होटल सोल्टी वेष्टेन्ड प्रिमियरमा बसिरहेका छन् । पश्चिम नेपालमा घुमफिरका लागि आएका उनले त्यह“ा बसेर पश्चिम क्षेत्रमा होटल र पर्यटन व्यवसाय विस्तारका विषयमा उद्योगी, व्यवसायीहरूसंग छलफल समेत गरेका छन् ।
यस क्षेत्रका उद्योगी व्यवसायीदेखि सुरक्षा अधिकारीसंग समेत पूर्व राजाले पर्यटकीय सम्भावनादेखि सुरक्षा र अन्य विकासका संभावनाबारे परामर्श गरिरहेको बताइएको छ ।
अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा सपरिवार यहाँ आएका पूर्वराजाले यस क्षेत्रका बर्दिया, कैलाली र दाङको भ्रमण गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्