Logo

पत्रकार महासंघ रुकुमको साधारणसभा आर्थिक प्रस्ताव पारित नगरी सकियो

रुकुम-आर्थिक प्रस्ताव पारित नभएरै नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको साधारण सभा सम्पन्न भएको छ । विहिबार सदरमुकाम खलंगा स्थित जिल्ला समन्वय समितिको हलमा भएको छैटौं साधारण सभामा पेश भएको आर्थिक प्रस्ताव पारित नभएरै साधारणसभा समापन गरिएको हो ।
यसअघि आयोजना गरिएको साधारणसभाले पनि आर्थिक प्रस्तावमा प्रश्न उठाएपछि साधारणसभा स्थगन भएको थियो । यसपटक पनि आर्थिक प्रतिवेदन सभाबाट पास हुन नसकेको हो । सभामा प्रस्तुत आर्थिक प्रतिवेदनप्रति साधारण सदस्यहरुले चित्त नबुझाएको र महासंघको भवन निर्माण तथा आर्थिक कारोबारमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा समेत चलिरहेकाले मुद्धा टुंगो लागेपछि थप छलफल गर्नेगरि साधारणसभा सम्पन्न गरिएको हो । सभामा पेश गरिएको सांगठनिक प्रतिवेदन पनि आवश्यक सल्लाह, सुझाव, छलफल र गतिविधि थप गर्ने गरी पारित गरेको छ । महासंघको सांगठनिक प्रतिवेदन सचिव हरि गौतम र आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रविर ददेलले छुट्टाछुट्टै प्रस्तुत गरेका थिए ।
नेपाल पत्रकार महासंघ रुकुम शाखाको भवन निर्माणमा भएको खर्च पारदर्शी नबन्दा साधारणसभाबाट पारित हुन नसकेको हो । मुसीकोट नगरपालिका १, चन्दनाथ टोल स्थित पत्रकार महासंघको नाममा रहेको घडेरीमा भवन निर्माणमा लागि सरकारी बजेट उपलब्ध भएको थियो । जसमा तत्कालिन जिल्ला विकास समिति रुकुमबाट १४ लाख, सूचना तथा सञ्चार मन्त्रालयबाट ५ लाख र मुसीकोट नगरपालिकाबाट १ लाख गरि करिब २० लाख रुपैयाँ जुटेको थियो । जस अनुसार पत्रकार महासंघको भवन निर्माणको काम थालियो । भवन निर्माणका लागि १८ लाखमा स्थानीय निर्माण व्यवसायी पूर्णबहादुर सुनार मार्फत जिम्मा दिईएको महासंघका अध्यक्ष गणेश विक चिन्तनले बताउँदै आएका छन् ।
तर उक्त भवनको प्राविधिक स्टिमेट भने ११ लाखको मात्र रहेको बताइएको छ । जसका कारण प्राविधिक स्टिमेट ११ लाखको रहेको भवनमा महासंघ अध्यक्ष विकले एकलौटी रुपमा १८ लाखमा जिम्मा दिइएको हुँदा अपारदर्शीताको शंका उब्जीएको साधारणसभाका सहभागी सदस्य डिल्ली खत्रीले बताए । उनका अनुसार त्यति मात्र नभएर उक्त १८ लाख रुपैयाँले समेत निर्माण सम्पन्न नभएर थप ९ लाख बढी रकम अझ तिर्न बाँकी विवरण देखाएपछि चरम आर्थिक अपारदर्शीता भएको भन्दै आर्थिक प्रतिबेदन पारित नभएको हो । जसका केहि रकम पत्रकार महासंघका बिभिन्न कार्यक्रमहरुको समेत खर्च रहेको छ । बन्द सत्रका लागि राजु लामिछाने संयोजकत्वमा तीन सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो ।
साधारणसभाको उद्घाटन सत्रमा पत्रकारले निष्पक्षताका साथ समाज परिवर्तनका लागि कलम चलाउनुपर्ने अतिथिहरुले धारणा राखेका थिए । उद्घाटन समारोहको प्रमुख अतिथि कर्णाली प्रदेश सभा सदस्य गोपाल शर्माले ६ वटा मैनबत्ती बालेर साधारण सभाको उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै प्रदेश सभा सदस्य शर्माले समृद्ध समाज निर्माणका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताए । प्रदेश सरकारले पत्रकारहरुको हक हितका लागि विभिन्न पहल गरिरहेको भन्दै उनले प्रदेश प्रशारण ऐन पारीत गरिसकेको र आमसञ्चार प्रतिष्ठान गठनको प्रक्रियामा रहेको जानकारी गराएका थिए ।
त्यस्तै कार्यक्रममा विशेष अतिथि जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले हरेक विकृति र विसंगति हल गर्ने गरी पत्रकारहरुले काम गर्नुपर्ने बताए । पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाई, कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापा, महासचिव दिपेन्द्र शर्माले पत्रकारहरुको हक हितका लागि महासंघ सक्रिय रहेको बताए । नेपाली कांग्रेस रुकुमका पूर्व सभापति मानवहादुर नेपालीले पत्रकारहरुको क्षमता विकासका लागि सरकारले ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्