Logo

नेपाल बंगलादेश व्यापारघाटा घटाउन अनुरोध

विराटनगर-नेपाली व्यवसायीहरूले बंगलादेशकी राजदूतसँग नेपाल–बंगलादेशको व्यापार व्यवसाय फस्टाउन पर्याप्त अवसर रहे तापनि बंगलादेशसँगको नेपालको व्यापारघाटा ४ गुणा रहेको भन्दै व्यापारघाटा घटाउन दुइ देशबीचको व्यापार बढाउन पहल गर्न अनुरोध गरेका छन् ।
नेपाल र भारतबीच सन्धि रहेको, दुवै मुलुक सार्क र बिमस्टेकको सदस्य रहेको, नेपालका लागि बंगलादेशमार्फत वे अफ बंगाल जलमार्ग सञ्चालन गर्ने सम्भावना रहेको आदिका कारण नेपाल–बंगलादेशको व्यापार व्यवसाय फस्टाउन पर्याप्त अवसर रहे तापनि बंगलादेशसँगको नेपालको व्यापारघाटा ४ गुणा रहेको मोरंग व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले सोमबार विराटनगरमा मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रूपमा नेपालका लागि बंगलादेशकी राजदूत मस्फी विन्ट साम्सको स्वागत कार्यक्रममा बताए ।
उक्त अवसरमा मोरङ व्यापार संघको सभाकक्षमा आयोजित उक्त स्वागत कार्यक्रममा नेपाल–बंगलादेशको व्यापार व्यवसायसम्बन्धी छलफल भएको थियो । कार्यक्रममा नेपालका लागि बंगलादेशी राजदूतसँग प्रथम सचिव मो. महबुबुल हकलगायत मीन हसुर रहमान पनि उपस्थित थिए । उक्त अवसरमा सारडाले स्वागत मन्तव्य राख्दै नेपाल–बंगलादेशबीचको व्यापारिक सम्बन्धलाई प्रगाढ बनाउँदै जानुपर्ने बताए ।
अध्यक्ष सारडाले मोरङ व्यापार संघ मुलुककै जेठो उद्योग वाणिज्य संघ र नेउवा महासंघको संस्थापक सदस्य रहेको बताउँदै संघको संक्षिप्त परिचय र विगतमा गरिएका गतिविधि अवगत गराएका थिए ।
संघ प्रधानमन्त्रीबाट हालै गठन भएको उच्चस्तरीय कार्यदलको सदस्य रहेको जानकारी गराउँदै उनले विराटनगर देशकै दोस्रो ठूलो सहर एवं औद्योगिक सहर रहेको र औद्योगीकरण र व्यावसायिक दृष्टिकोणले अब्बल रहेको जानकारी गराए । साथै विराटनगर सहर एसियन हाईवे र बीबीआईएन कोरिडोरको क्रसरोडमा परेको समेत जानकारी पनि उनले गराए ।
संघका अध्यक्षले नेपालको कृषि, जडिबुटीको प्रर्वद्धन गर्ने, नेपाल–बंगलादेशको आयात शुल्कको अन्तर घटाउनु पर्ने, भुटानलाई जस्तै नेपाललाई पनि हितकारी क्षेत्रका रूपमा लिनुपर्ने, बैंकिङ समस्याको समाधान गरिनुपर्ने, भविष्यमा बंगलादेशका अन्तर्राष्ट्रिय उडानको मार्गमा विराटनगर विमानस्थललाई समावेश गरिनुपर्ने, विराटनगर–बंगलादेशको रेलवे सुविधा सुचारु गरिनुपर्ने, नेपालको पर्यटनको प्रवद्र्धनमा मद्दत गरिनुपर्ने आदि जस्ता आकांक्षा यस कोरीडोरका उद्योगी व्यवसायीको रहेको पनि बताए ।
साथै उनले राजदूतसंघ संघले दिएका महत्वपूर्ण सुझाव मनन गरि कार्यको थालनी भए नेपाल–बंगलादेशको आर्थिक सम्बन्ध झन् सुदृढ हुनुका साथै नेपालको आर्थिक समृद्धमा टेवा पुग्ने पनि वताए ।
सोही क्रममा उद्योग संगठन मोरंगका कार्यवाहक अध्यक्ष सुयस प्याकुरेलले बंगलादेशसँगको व्यापारमा यस क्षेत्रले भोगी रहेका समस्याको विस्तृतीकरण गर्दै नेपालबाट निर्यात गर्दा भोग्नु परेका पारवाहन, करलगायतका समस्या अवगत गराए ।
कार्यक्रममा नेपालका लागि बंगलादेशकी राजदूत मस्फी विन्ट साम्सले नेपाली व्यावसायीले उठाएका विषयप्रति आफूबाट यथाशक्य सहयोग गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्