Logo

कृषिमा उद्यमशीलताको आवश्यकता

कोभिड–१९ को महामारीपछि भिसा अवधि सकिएका, अवैध रूपमा विदेश बसिरहेका, जागिर गुमाएका र अन्य विभिन्न कारणले स्वदेश फर्कने नेपालीहरूको संख्या दिन–प्रतिदिन बढिरहेको छ । त्यसैले एकातिर विदेशबाट भित्रिने विपे्रषण घट्ने क्रममा छ भने अर्कातिर यहाँ बेरोजगारी समस्या बढ्ने निश्चित छ । यस्तो अवस्थामा युवा केन्द्रित कृषिमा उद्यमशीलताका अवसरहरूको विकास गर्न सके एकातर्फ यहाँ विद्यमान बेरोजगारी समस्या न्यून गर्न सकिन्छ भने अर्कातर्फ विदेशबाट फर्केका युवाहरूलाई पुनः विदेश जानुपर्ने छैन ।
उर्वर माटो र भौगोलिक विविधताका कारण नेपालमा कृषिमा उद्यमशीलताका सम्भावनाहरू छन् । यहाँ विविध जलवायु भएकाले खेतीपातीबाट धेरै फाइदा लिन सकिन्छ । वर्षायाममा समशीतोष्ण हावापानी भएका पडाडी क्षेत्रमा उत्पादित कृषि उपजहरूले तराई क्षेत्रका केही माग पूर्ति हुन्छ भने तराई क्षेत्रमा उत्पादित खाद्यान्नले पहाडको धेरै माग पूर्ति हुन्छ ।
हालसम्म झन्डै दुईतिहाइ जनता कृषिमा आश्रित भए पनि यहाँका अधिकांश कृषकले अनिश्चित मौसममा भर पर्नुपरेको छ । यहाँ पानीका प्रशस्त स्रोतहरू भए पनि सिँचाइको राम्रो व्यवस्था गर्न नसकिएकाले कृषिको ठोस विकास हुन सकेको छैन । यसमा सम्बन्धित पक्षको ध्यान जानु आवश्यक छ ।
नेपालका कृषि उपज आपूर्ति श्रङ्खलामा बिचौलियाहरूको विशाल एवं बहुस्तरीय सन्जाल छ, जसका कारण किसानहरूले धेरै फाइदा लिन सक्दैनन् । थोक बजारमा कृषकहरूबाट स्थानीय सङ्कलनकर्ताकहाँ, त्यसपछि क्षेत्रीय स्तरका व्यापारी, थोक विक्रेता र खुद्रा विक्रेताहरूको हातमा जान्छ । कुनै पनि कृषि उपज उपभोक्ताहरूमा पुग्नुअघि धेरै चरण पार गर्नुपर्ने भएकाले उनीहरू ठगिन्छन् ।
नेपालको कृषि उत्पादनको कुल निर्यातमध्ये ६३ प्रतिशतभन्दा बढी भारतमा निर्यात हुन्छ । यहाँको भौगोलिक प्रकृति भारतसँग पूर्व, पश्चिम र दक्षिणमा खुला सिमाना भएको र भारतीय नीतिमा आएको परिवर्तनबाट कृषि उपजको मूल्यमा हुने हेरफेरले यहाँको कृषि अर्थतन्त्रलाई कमजोर बनाउँछ । फलतः यहाँको कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान आशा गरेअनुरूप हुन सकेको छैन ।
यथार्थतः नेपाली कृषि उत्पादनहरूको गुणस्तरको सम्बन्धमा बारम्बार प्रश्न उठ्ने गर्छ । यही कारणले गर्दा नेपाली कृषि उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न गाह्रो छ । त्यसैले भविष्यमा यी उत्पादनहरूको गुणस्तर अभिवृद्धि गर्न आवश्यक छ ।
जब नेपालमा बालीहरू भित्र्याउने समय हुन्छ, तब भारतीय व्यापारीहरू विभिन्न मापदण्ड देखाई अस्वीकार गर्छन् । वास्तवमा यी मनोमानी ढङ्गले मूल्य घटाउने चालबाजी मात्र हो । व्यापार विविधीकरण राम्ररी गर्न सकेमा आर्थिक अवसरहरू विस्तार गर्न र मूल्यको घटबढमा हुने जोखिम कम गर्न सकिन्छ ।
यहाँका धेरै युवाहरू स्वदेशमै रोजगारी प्राप्त गर्न चाहन्छन् । तर, निर्यातमूलक बालीमा जोड नदिई यो सम्भव छैन । यसैले नेपाल सरकारको नेपाल व्यापार एकीकृत रणनीतिले निर्यातका लागि तुलनात्मक प्राथमिकताका क्षेत्रहरू र उच्च निर्यात सम्भावना भएका अलैंची, अदुवा, जुत्ता र पस्मिना उत्पादनमा जोड दिएको छ भने कृषि विकास रणनीतिले मूल्य श्रृङ्खला विकासका लागि मकै, दूध, दुग्धजन्य पदार्थहरू, तरकारी र दाललाई प्राथमिकतामा राखेको छ । तर, यसलाई कार्यान्वयन गर्न भने सहज छैन ।
विदेशबाट फर्केका युवाहरूलाई उद्यमशीलताको आँखाले हेर्ने हो भने कृषि वस्तुहरूलाई समग्र दृष्टिकोणले हेरी उनीहरू सफल हुने सम्भावना भएका कृषि उपजहरूमा ध्यान केन्द्रित गर्न जरुरी छ । योबाहेक कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उक्त वस्तुहरूको नीतिगत रूपमा व्यवसायीकरण गर्न उचित देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्