पुनर्कर्जा ४१ हजारलाई «

पुनर्कर्जा ४१ हजारलाई



नेपाल राष्ट्र बैंकबाट सहुलियत ब्याजदरमा पुनर्कर्जा सुविधा पाउने ऋणीको संख्या ह्वात्तै बढेको छ । केन्द्रीय बैंकले चालू आर्थिक वर्षको सुरुमै पुनर्कर्जासम्बन्धी कार्यविधि परिवर्तन गरे पनि ठूला तथा पहुँचवालाले मात्र उपभोग गर्दै आएकोमा यो सुविधा तल्लो तहका ऋणीको पहुँचमा पुगेको हो । यस्तै, कोभिड–१९ बाट प्रभावित उद्योगलाई राहत दिन पुनर्कर्जा कोषसमेत वृद्धि गरेपछि यसबाट लाभ पाउनेको संख्या बढेको हो ।
राष्ट्र बैंकका अनुसार चालू आवमा पुनकर्जा सुविधा पाउनेको संख्या करिब २९० गुणाले वृद्धि भएको छ । गत आर्थिक वर्षमा १४२ ऋणीले मात्र पुनर्कर्जाको सुविधा पाएकोमा चालू आर्थिक वर्षमा ४१ हजार १३४ ऋणीले सुविधा पाएका छन् ।
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले कार्यविधि परिवर्तनपछि तल्लो वर्गसम्म पुनर्कर्जाको पहुँच पुगेको वताए । “हिजो केही सीमित ग्राहकले मात्र यो सुविधा पाउँदै आएका थिए,” उनले भने, “कार्यविधि परिवर्तनपछि साना तथा तल्ला वर्गका ऋणीले पनि यो सुविधा पाएका छन् ।”
राष्ट्र बैंकले साउन पहिलो साता पुनर्कर्जा कार्यविधि–२०७७ जारी गरेको थियो । जसमा आवेदन गरिएको कूल रकममध्ये कम्तिमा ७० प्रतिशत लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जाअन्तर्गत हुनुपर्ने र कर्जा छनोट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक-ऋणी समेटिएको हुनुपर्ने व्यवस्था गरिएको छ । यसैगरी कोभिड—१९ बाट प्रभावित उद्योगलाई समेत उच्च, मध्यम र न्यून प्रभावित वर्गमा छुट्याएर कर्जा दिने प्रावधान व्यवस्था गरिएको छ । यही प्रावधानका कारण कर्जा पाउने ग्राहकको संख्या उलेख्य रुपमा वृद्धि भएको हो ।
कार्यविधि अनुसार राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरूलाई एकमुष्ठ रूपमा प्रदान गर्ने पुनर्कर्जा २०७७ मंसिरसम्म ४० हजार ९ सय ८३ ऋणीलाई ५० अर्ब ६ करोड र ग्राहक ऋणी अनुसार प्रदान गरिने पुनर्कर्जा १ सय ५१ व्यावसायिक फर्महरूलाई ३३ अर्ब ६ करोड स्वीकृत भएको प्रवक्ता भट्टले जानकारी दिए । ४५ बैंक तथा वित्तीय संस्थाबाट पुनर्कर्जा वितरण भएको छ । प्रदेशगत रुपमा सबैभन्दा बढी बागमती प्रदेशमा १७ अर्ब ३१ करोड रुपैयाँ वितरण भएको छ । यसैगरी क्षेत्रगत रुपमा सबैभन्दा बढी होटललाई १२ अर्ब ५४ करोड पुनर्कर्जा वितरण भएको छ ।
राष्ट्र बैंकले गत असोजमा लघु, घरेलु तथा साना उद्यम, साधारण र विशेष पुनर्कर्जाका लागि प्रस्ताव आह्वान गरेको थियो । कार्यविधिमा पुर्नकर्जालाई लघु घरेलु तथा साना उद्यम, विशेष पुनकर्जा र साधारण पुनकर्जा गरी तीन भागमा विभाजन गरिएको छ । जसमा लघु घरेलु तथा साना उद्यम पुनकर्जाअन्तर्गत उद्यमी स्वयं संलग्न भइ सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाख रुपैयाँसम्मको कर्जालाई मानिएको छ । यसको ब्याजदर ५ प्रतिशत हुने व्यवस्था छ ।
विशेष पुनकर्जाअन्तर्गत बैंकले समय समयमा कुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने कर्जा पर्दछ । यसअन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढंगले सक्षम व्यक्तिद्वारा सञ्चालित उद्यम÷व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको कर्जालाई राखिएको छ । यसको ब्याजदर भने तीन प्रतिशत छ । यस्तै, साधारण पुनकर्जा लघु, घरेलु तथा साना उद्योग र विशेष प्रकृतिको उद्योगलाई दिइने बाहेक सवै प्रकृतिका उद्योगका लागि दिइने कर्जा हो । यसमा पनि बढीमा २० करोडसम्मको सीमा र ब्याजदर पाँच प्रतिशत तोकिएको छ ।
राष्ट्र बैंकले कोभिड—१९ ले प्रभावित गरेका ऋणीलाई दिइने पुनर्कर्जाको सीमा दुई वर्ष र एकमुस्ट रूपमा प्रदान गरिने पुनर्कर्जाको एक वर्षको तोकिएको छ । यस्तै बैंकहरूलाई एकमुष्ट प्रदान हुने प्रतिग्राहक पुनर्कर्जाको अधिकतम सीमा ५ करोड र ग्राहकअनुसार मूल्यांकन गरी उपलब्ध गराउने पुनर्कर्जाको प्रतिग्राहक २० करोडसम्म रुपैयाँसम्म राखिएको छ ।
कार्यविधिमा व्यक्तिगत प्रयोजनका लागि प्रवाह भएको ओभरड्राफ्ट कर्जा, घर जग्गा कर्जा, सवारी कर्जा, घरायसी सामग्री कर्जा, मार्जिन कर्जा, सुनचाँदी कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि लिइएका कर्जाहरूलाई पुनर्कर्जा नमान्ने प्रावधान छ । यस्तै ब्याज अनुदानप्राप्त सहुलियतपूर्ण कर्जा, पछिल्लो आर्थिक वर्षको औसत रिटर्न अफ इक्विटी २० प्रतिशत वा सोभन्दा बढी रहेको उद्योग व्यवसायमा प्रवाहित कर्जाका साथै चुरोट, बिँडी, सिगार, सुर्ती, खैनी, गुट्खा लगायतका सुर्तीजन्य उद्योग-व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग-व्यवसायलाई प्रवाह भएका कर्जालाई पुनकर्जा नदिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्