पोखरामा वार्षिक एक अर्बका ट्रेकिङ सामग्री «

पोखरामा वार्षिक एक अर्बका ट्रेकिङ सामग्री

५० प्रतिशत सामान विदेशबाटै
पोखरा-
मुलुकमा ट्रेकिङ जाने प्रचलन बढेसँगै यससँग सम्बन्धित वस्तुको कारोबार बढ्दै गएको छ । ट्रेकिङको आधार क्षेत्रका रूपमा रहेको पोखरामा वार्षिक एक अर्ब रुपैयाँ बराबरका पदयात्रा सामग्रीको कारोबार हुने गरेको पाइएको छ । ट्रेकिङ सामग्रीको करिब ७० पसलले वार्षिक रूपमा करिब एक अर्ब बराबरको कारोबार गर्ने गरेको हो ।
ट्रेकिङ इक्युपमेन्ट सप एशोसियसन (टेसा) पोखराका उपाध्यक्ष रामजीप्रसाद अधिकारीका अनुसार कारोबार भएकामध्ये पोखरामा खपत हुने ट्रेकिङ सामग्रीहरू करिब ५० प्रतिशत चीनबाट र केही भारतबाट आयात हुने गरेको छ । यस्तै, स्वदेशमै उत्पादन हुने सामग्रीहरू पनि पोखरामा उत्तिकै बिक्री हुन्छ । नेपाली उत्पादनका कच्चा पदार्थ अधिकांश विदेशबाटै आयात हुने गरेको छ । ट्रेकिङ सामग्रीमा कटन र ढाकाको कपडा बढी प्रयोग हुन्छ भने गोरेटेक्स, सेन्थेटिकलगायतको कच्चा पदार्थ भने चीनबाटै आयात गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
झोला, ज्याकेट, जुत्ता, ट्राउजर, ब्याग, टेण्ट लगायतका सामान विदेशबाट आयात हुन्छ भने नेपालमा ज्याकेट, ट्राउजर, सिल्पिङ ब्याग, झोलालगायतका सामान उत्पादन हुन्छ । नेपाली उत्पादनको १ हजार ५ सय रुपैयाँमा पाइने सामान विदेशबाट आयात हुदा गुणस्तरीय र फिनिसिङ राम्रो हुँदा २ हजार ५ सय रुपैयाँसम्म पर्ने गरेको उनले बताए । “नेपालीले विदेशी र विदेशीले नेपाली उत्पादन बढी प्रयोग गर्छन,” उनले भने, “नेपालमा उत्पादित सामानहरू भारत, भुटान लगायतका देशमा निर्यात हुन्छन् ।” ट्रेकिङ सामग्रीका अधिकांश उद्योग काठमाडौं केन्द्रित भए पनि काठमाडौंमा उत्पादनको करिब ३० प्रतिशत बजार पोखरा नै भएको उनको दाबी छ ।
टान पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर पोखराका अध्यक्ष सुशीलराज पौडेलले ट्रेकिङ सामग्रीका अधिकांश सामानहरू हिमाल आरोहीको लागि विदेशबाट आएको उपयुक्त हुने दाबी गरे । उनले भने, “नेपालमा समेत विभिन्न ब्राण्डका सामानहरू उत्पादन हुने भए पनि बिक्रेताले सामान बिक्री गर्दा माइनस २४ डिग्रीमा लगाउन मिल्ने भनेर बेचेको ज्याकेटले माइनस एकमै राम्रोसँग काम नगर्ने समस्या पनि देखा पर्न थालेको छ ।” स्वदेशी र विदेशी सामानको गुणस्तर र फिनिसिङबाटै थाहा हुने भएकोले गर्दा पनि बिक्रेताले उपभोक्ताहरूलाई सही ढंगले जानकारी गराउनु पर्ने उनले बताए । पर्यटन पुनउत्थान समिति गण्डकी प्रदेशका संयोजक अग्नी कँडेलले टेसा पोखरालाई स्वदेशी उत्पादनमा जोड दिन आग्रह गरे ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका महानिर्देशक नेत्रप्रसाद सुवेदीले सरकारले पछिल्लो क्रममा प्रत्यक्ष बिक्रेताहरूलाई कम्तिमा ५० प्रतिशत नेपाली सामानहरू बिक्री बितरण गर्न निर्देशन दिएअनुसार केही व्यवसायीले त्यसलाई पालना गरेको बताए । उनका अनुसार ट्रेकिङसँग सम्बन्धित सामग्री कति भित्रिन्छन् र कति बाहिरिन्छ त्यसको एकीन तथ्याङक कुनै पनि सरकारी निकायमा छैन । ट्रेकिङसहित अन्य सामानसँगै तथ्याङक राख्ने गरेकाले ट्रेकिङ सामग्रीको मात्र सामानको तथ्यांकक नभएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाईंले बताए ।

प्रतिक्रिया दिनुहोस्