औद्योगिक क्षेत्र विकास सम्भाव्यताको अध्ययन «

औद्योगिक क्षेत्र विकास सम्भाव्यताको अध्ययन

घोराही उपमहानगरपालिकामा स्थापना हुने औद्योगिक क्षेत्रका लागि प्रक्रिया अगाडि बढेको छ । औद्योगिक क्षेत्र स्थापना गर्नका लागि छिट्टै सम्भाव्यता अध्ययन सुरु हुने भएको हो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सार्वजनिक सूचनामार्फत सम्भाव्यता अध्ययनका लागि कन्सल्टेन्सीकन्सल्टेन्सीसमेत छनोट गरिसकेको छ भने सम्भाव्यता अध्ययनका लागि १७ लाख ९० हजार समेत बजेट विनियोजन भएको दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले बताए ।

औद्योगिक क्षेत्र स्थापनाका लागि बी डी ए कन्सल्टेन्सीले सम्भाव्यता अध्ययन गर्ने जिम्मा पाएको अध्यक्ष भुसालले बताए । उनका अनुसार सम्भाव्यता अध्ययन पाएको कन्सल्टेन्सीको प्राविधिक टोली अध्ययनका लागि आउँदो माघ ३ गतेसम्म जिल्ला आउनेछ । “जिम्मा पाएको कन्सल्टेन्सी हाम्रो सम्पर्कमा नै हुनुहुन्छ” अध्यक्ष भुसालले भने “अब औद्योगिक क्षेत्रको स्थापनाको काम प्रक्रियागत रूपमा अगाडि बढ्नेछ ।”

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतसंग दाङ उद्योग वाणिज्य संघको टोलीले राजधानीमा भेटघाटसमेत गरेको छ । भेटमा बस्नेतले जिल्लामा औद्योगिक क्षेत्र स्थापना गर्ने कामको सुरुवात भएको बताएको उवासंघका अध्यक्ष भुषालले बताए ।

“प्रादेशिक राजधानीको निर्माणका लागि औद्योगिक क्षेत्र आवश्यक छ” अध्यक्ष भुषालले भने “त्यसका लागि यो कार्यले महत्वपूर्ण भूमिका खेल्ने छ ।” औद्योगिक क्षेत्रको स्थापनासँगै जिल्लावासीहरूलाई विकास तथा रोजगारीमा समेत दीर्घकालीन रूपमा प्रभाव राख्नेछ । जिल्लामा औद्योगिक क्षेत्र स्थापनाको नेतृत्व दाङ उद्योग वाणिज्य संघले लिएको छ । निर्माण हुन लागेको औद्योगिक क्षेत्र घोराही उपमहानगरपालिका वडा नंबर ३ र ५ मा पर्छ । साढे ५ सय बिगाहा क्षेत्रफलमा यो क्षेत्रको काम गर्ने उवासंघले जनाएको छ । उक्त स्थान औद्योगिक क्षेत्रका लागि उपयुक्त रहेको यसका जानकारहरू बताउँछन् । उक्त स्थान सहरबाट नजिकै, घना बस्ती नभएको र पानीको लागि सुविधा भएको हुँदा उपयुक्त रहेको छ । घोराही उपमहानगरपालिकाको पहिलो नगरसभाबाट समेत औद्योगिक क्षेत्र बनाउने नीति पास गरेको थियो । विगतदेखि नै त्यस ठाउँमा औद्योगिक क्षेत्र बनाउनका लागि बहस र छलफल हुँदै आएको छ ।
यसैबिच औद्योगिक क्षेत्र स्थापनाका लागि सरोकारवालासँग भेटघाट गर्नको लागि दाङ उवासंघका अध्यक्ष भुषालको नेतृत्वको टोली राजधानी गएको छ । टोलीले विभागीय मन्त्री, राजनीतिक दलका नेतृत्व, लगानीकर्ता लगायतसँग भेटघाट गर्ने भएको छ । टोलीमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य ध्रुवराज श्रेष्ठ भारी, दाङ उवासंघका निवर्तमान अध्यक्ष हेमराज बन्जाडे, उपाध्यक्ष टंकसिंह बुढाथोकी र महासचिव नरेश कार्की छन् ।

 

प्रतिक्रिया दिनुहोस्