घोराहीमा औद्योगिक क्षेत्र घोषणा «

घोराहीमा औद्योगिक क्षेत्र घोषणा

दाङ-नेपाल सरकारले घोराही उपमहानगरपालिकामा औद्योगिक क्षेत्र घोषणा गरेको छ । दाङको घोराही उपमहानगरपालिका वडा नं ३ र ५ को क्षेत्रमा औद्योगिक क्षेत्र घोषणा गरिएको हो ।
नेपाल सरकारको यही माघ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले औद्योगिक क्षेत्र घोषणा गरेको हो । लामो समयदेखि दाङमा औद्योगिक क्षेत्र स्थापनाको लागि दाङ उद्योग वाणिज्य संघले पहल गर्दै आएको थियो ।
संघले २०७१ सालदेखि औद्योगिक क्षेत्रका लागि पहल गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए । सबै प्रक्रिया पूरा भए पनि फाइल मन्त्रिपरिषद्मा पुगेर रोकिएको थियो । लामो समयको प्रयासपछि औद्योगिक क्षेत्र घोषण हुन सफल भएको हो । सरकारले औद्यौगिक विकास गरी देशमा रोजगार सिर्जना गर्ने र उत्पादन वढाउने भनिरहँदा घोषणाका लागि पुगेको फाइल पनि लामो समयसम्म अगाडि बढ्न सकेको थिएन । अहिले सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र ५ सय ४९ बिघा रहेको छ ।
औद्योगिक क्षेत्र घोषणा भए उद्योग स्थापनासँंगै जिल्लावासीहरूले रोजगारको अवसर प्राप्त गर्ने अपेक्षा गरेका छन् । जसले गर्दा रोजगारका लागि विदेशीने युवाको संख्यासमेत कमी आउने आशा जिल्लावासीले गरेका छन् । अहिले रोजगारका लागि जिल्लाबाट लाखौं युवा विदेशीने गरेका छन् । उद्योग स्थापना भएपछि जिल्लाको राजस्वमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ । अहिले घोषणा गरिएको औद्योगिक क्षेत्र कुनै विवाद नभएको संघका निवर्तमान अध्यक्ष भुसालले बताए । “सबैको सहयोगले बिनाविवाद घोषणा गर्न सकिएको हो,” भुसालले भने । औद्योगिक क्षेत्र स्थापनाका लागि यस क्षेत्रका राजनितीक दल, सरकारी निकाय, व्यवसायी तथा सरोकारवाला मिलेर अगाडि बढेको उनको भनाइ छ ।
घोराही उपमहानगरपालिकाले नगरसभाबाट नै उक्त क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गरिसकेको थियो । संघले २०५८ सालदेखि नै जिल्लामा औद्योगिक क्षेत्र स्थापनाका लागि पहल गर्दै आएको थियो । सुरुमा करौती डाडाँमा ८६ बिघामा औद्योगिक क्षेत्रमा औद्योगिक क्षेत्र वनाउन पहल थालिएको संघका पूर्वअध्यक्ष हेमराज बन्जाडेले बताए । औद्यौगिक क्षेत्रका जग्गा कम हुने भएपछि उक्त क्षेत्र घोराही उपमहानगरपालिकाका लागि ल्याण्डफिल साइटको रूपमा प्रयोग गर्न दिएर जग्गा खोजी भएको उनको भनाइ छ । त्यसैपछि सरोकावारवालासँंग समन्वय गरेर जग्गा खोज्ने क्रममा घोराही ३ वडामा औद्योगिक क्षेत्रका लागि जग्गा छनोट गरिएको थियो ।
मानव बस्ती न्यून रहेको, सहरी क्षेत्रबाट टाढा, वन क्षेत्र भए पनि न्यून रुख बिरुवा रहेको, पानीको सुविधा, सडक, विद्युत् सहजै पु-याउन सकिने, उत्पादन भएका वस्तु निकासी गर्नसमेत सहज हुने भएकाले औद्योगिक क्षेत्रका लागि उपयुक्त रहेको औद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दबहादुर बस्नेतले अनुगमनका क्रममा बताएका थिए ।
औद्योगिक क्षेत्र घोषणासँंगै अब छिटोभन्दा छिटो पूर्वाधारको कार्य अगाडि बढाएर उद्योग स्थापना गर्नका लागि सबै मिलेर अगाडि बढनुपर्ने संघले जनाएको छ उक्त क्षेत्रमा कृषि जन्य, साना तथा मझौला उद्योग स्थापना हुने संघका पूर्वअध्यक्ष बन्जाडेको भनाइ छ । ठूला तथा प्रदूषण हुने खालका उद्योग स्थापना नहुने बताइएको छ । औद्योगिक क्षेत्र भएपछि उद्योग स्थापनाका लागि आफूले जग्गा किनेर उद्योग सञ्चालन गर्नुपर्ने बाध्यता समेत हटने छ । जसले गर्दा उद्योग स्थापना गर्नका लागि समेत सहजता हुने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिए । उद्योग स्थापना भएपछि जिल्लामा उत्पादन समेत वृद्धि हुने उनको भनाइ रहेकको छ । औद्योगिक क्षेत्र घोषणासँंगै जिल्लामा स्वदेशी तथा विदेशी लगानीकर्ता भित्रने अपेक्षासमेत गरिएको छ ।

औद्योगिक क्षेत्र घोषणाको स्वागत
दाङ जिल्ला उद्योग वाणिज्य संघले सरकारले दाङको घोराही उपमहानगरपालिका वडा नं ३ र ५ मा औद्योगिक क्षेत्र घोषणा गरेकोमा स्वागत गरेको छ । संघले पत्रकार सम्मेलनको आयोजना गरी घोषणको स्वागत गर्दै यस कार्यमा सहयोग गर्ने सम्पूर्णमा धन्यावाद दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले औद्योगिक क्षेत्र घोषणा गरेकोमा नेपाल सरकारलाई धन्यावाद दिए ।

प्रतिक्रिया दिनुहोस्