सुनचाँदी व्यवसाय व्यवस्थित गर्न सरकारले सहयोग गर्ने «

सुनचाँदी व्यवसाय व्यवस्थित गर्न सरकारले सहयोग गर्ने


सुनचाँदी व्यवसायलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारले सहयोग गर्ने भएको छ । सरकारले सुनचाँदी व्यवसाय सञ्चालनका क्रममा आवश्यक पर्ने नीतिगत व्यवस्था, पर्याप्त कच्चा पदार्थ आपूर्तिको सुनिश्चितता तथा तालिम एवं अन्तर्राष्ट्रिय गरगहना सम्मेलनलगायतका क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा बुधबार वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले व्यवसायीले उठाएका नीति निर्माण, कच्चा पदार्थको पर्याप्त आपूर्ति ब्यवस्था, तालिम एवं अन्तर्राष्ट्रिय गरगहना सम्मेलन लगायतका विषयलाई आवश्यक सम्बोधन गर्न मन्त्रालय तयार रहेको बताए । उनले व्यवसायीको मागअनुरुप सुनको आपूर्तिमा लागू हुँदै आएको कोटा यथाशीघ्र वृद्धिगर्ने र व्यवसायीको मागअनुसार मोफसलका जिल्लाबाट हुने सुनको वितरणलाई नेपाल राष्ट्र बैंकसँगको समेत सहकार्यमा थप ब्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।
भेटकाक्रममा सचिव अर्यालले सुनचाँदी ब्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने नीतिगत ब्यवस्थाका लागि यसअघि नै मस्यौदा तयार भइसकेकोे उल्लेख गर्दै त्यसलाई शीघ्र कार्यान्वयनमा ल्याउन आफू प्रतिबद्ध रहेको बताए । सुनचाँदी ब्यवसाय प्रवद्र्धनका लागि आवश्यकता अनुसार तालिमको ब्यवस्था गर्न, रोजगारीका अवसर बढाउन, सुनका गरगहना निर्यातका लागि आवश्यक सहज वातावरण निर्माण गर्न तथा ब्यवसायीका तर्फबाट अगाडि सारिएका अन्य मागलाई सम्बोधन गर्न आफूले सम्बन्धित निकायसँग छलफल र सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।
त्यसक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यले उपभोक्ताको लगानीको सरक्षा, पारदर्शी मूल्य र तौल एवं शुद्ध र गुणस्तरीय सुनचाँदीका गरगहनाको उपलब्धता आफूहरूको पहिलो प्राथमिकतामा रहेको बताए । उनले सुनचाँदी ब्यवसायमा देखिएका समस्याको निराकरण गर्दै ब्यवसायलाई थप ब्यवस्थित र प्रभावकारी बनाउन आवश्यक पर्ने विषयलाई समेटेर तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनासहितका सुझावसमेत सरकारलाई उपलब्ध गराएका थिए । त्यसक्रममा महासंघका विभिन्न पदाधिकारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्