Logo

किबी खेतीमा आकर्षण

तेह्रथुमका किसान परम्परागत बालीलाई मास्दै नगदेबालीतर्फ आकर्षित हुन थालेका छन् ।
थोरै मेहनत र राम्रो आम्दानी हुने लोभमा पछिल्लो समय किसानहरू व्यावसायिक रूपमा नगदेबाली रोज्न थालेका हुन् । जिल्लाको ग्रामीण क्षेत्रका किसानको रोजाइ यतिबेला किबी खेती बन्न पुगेको छ । घमाइलो तथा मलिलो माटोमा राम्रै आम्दानी लिने आशाका साथ किबीखेती सुरु गर्न थालेका हुन् । एउटै बगानबाट वर्षको १ देखि ३ लाखसम्म आम्दानी लिन थालेको छथर–६ का जितबहादुर मगरले बताए । थोरै क्षेत्रफलबाट धेरै आम्दानी गर्न सकिने यो खेती पछिल्लो समय किसानको रोजाइमा पर्न थालेको हो । किसानहरूलाई व्यावसायिक बनाउने उद्देश्यका साथ ५० प्रतिशत अनुदानमा बिरुवा वितरणको तयारी भइरहेको छथर गाउँपालिका कृषि शाखा प्रमुख हिम थापाले बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत किबी पकेट क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा बिरुवा प्रदान गर्ने तयारी भइरहेको प्रमुख थापाले जानकारी दिए । कार्यक्रम किबी पकेट सञ्चालक समन्वय समितिमार्फत वितरण हुने भएको छ । खेतीलाई विस्तार गर्दै गाउँलाई किबी पकेट क्षेत्रको रूपमा विकास गर्दै आएका छन् । परम्परागत खेतीभन्दा राम्रो आम्दानी लिन सकिने भएकाले किबीलाई रोजेको किसान गोविन्द बागदासले बताए । बजारमा प्रतिकिलो १ सयदेखि २ सय ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । छथर गाउँपालिकाले गुणस्तरीय उत्पादनका लागि कार्यक्रम सञ्चालनमा ल्याउने तयारी गरेको छ । किसानहरूको समस्यालाई मध्यनजर गर्दै बजारीकरणमा सरकारले चासो दिनसके गाउँमै उत्पादन भएको वस्तुबाट राम्रो आम्दानी लिन सकिने स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्