अदालतले संविधानअनुरूप नै निर्णय दिन्छन् : श्रेष्ठ «

अदालतले संविधानअनुरूप नै निर्णय दिन्छन् : श्रेष्ठ

नेकपाको दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालत र निर्वाचन आयोगले संविधान र कानुनअनुसार नै निर्णय दिनेमा आफूहरु विश्वस्त रहेको बताएका छन् । पार्टीको प्रचारप्रसार उपशाखाले पार्टीको आधिकारिक फेसबुक पेजमार्फत् समसामयिक वर्तमान अवस्थाका बारेमा मंगलबार गरेको संवादमा उनले यस्तो बताएका हुन् ।
‘सर्वोच्च अदालतले संविधानमा टेकेर नै आवश्यक फैसला गर्छ । निर्वाचन आयोगले पनि आधिकारिताका विषयमा कानुनअनुसार नै निर्णय गर्छ भन्ने हाम्रो विश्वास हो,’ उनले भने । वर्तमान सरकारले संविधान हत्या गर्न उद्यत भई प्रतिगामी कदम अघि बढाएकाले आफूहरु संघर्ष गरिरहेको उनको भनाइ छ ।
निर्वाचन आयोगमा यसअघि पेश गरेको विवरणलाई आयोगले आधिकारिकता दिन नसक्ने भनेपछि आफूहरुले राजनीतिक दलसम्बन्धी दफा ४३ र ४४ अनुसार आधिकारिकता दाबी गरेको उनले बताए । संयुक्त संघर्षका लागि प्रयास भइरहेको भए पनि अहिलेसम्म सहमति जुटिसकेको नसकेको उनको भनाइ छ ।
नागरिक आन्दोलनले प्रतिगमनविरुद्ध सडक संघर्ष गरिरहेका बेला प्रधानमन्त्री र सरकारी गुटका मानिसहरुले आन्दोलनमा दमन गरेको उनले आरोप लगाए ।
नेकपाको दाहाल नेपाल समूहले हरेक दिन दिउँसो ३ बजे फेसबुक पेजमार्फत् वर्तमान राजनीतिका विषयमा अन्तरसंवाद गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्