कृषि क्षेत्र प्राथमिकतामा : मन्त्री अर्याल «

कृषि क्षेत्र प्राथमिकतामा : मन्त्री अर्याल

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताएकी छन् । मंगलबार नेपाल चेम्बर अफ कमर्सको आयोजनामा भएको नेपालमा व्यावसायिक कृषि विकासका सम्भावना र चुनौती विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री अर्यालले अघिल्ला सरकारको पालामा कृषि क्षेत्रलाई प्राथमिकतामा नराखिएको भए पनि यस सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताएकी हुन् ।
सरकारले कृषिको व्यवसायीकरण, औद्योगिकरण, यान्त्रिकरण र बजारीकरणलाई व्यवस्थित गर्नका निम्ति आवश्यक कानुन निर्माण गरेको उनको भनाइ छ ।
सरकारले नीति निर्माणका साथसाथै कार्यक्रम पनि अघि सारेको उनले बताइन् । किसानलाई उत्साहित बनाउन विभिन्न नामका कृषिको परियोजना अघि सारेको तथा पशु क्षेत्रमा लागेका किसानलाई उत्साहित बनाउन कृषि फर्महरूको सुरुवात भएको उनको भनाइ छ । मन्त्री अर्यालले कृषिको व्यवसायिकताको निम्ति जग्गामा हदबन्दी नलगाउने कानुन आफू भूमि मन्त्रालयमा हुँदा नै बनाएको पनि जानकारी दिइन् । उनले सरकारले मात्रै मुलुकको विकास गर्न सम्भव नभएको भन्दै कृषि क्षेत्रमा निजी क्षेत्रसँग पनि सहकार्य गरिने बताइन् ।
मन्त्री अर्यालले परम्परावादी र निर्वाहमुखी उत्पादन गरेरमात्रै नहुने भन्दै व्यावसायिक उत्पादनका निम्ति कहाँको जमिनमा के उत्पादन हुन्छ कम्युटरबाटै पत्ता लगाउन सक्ने सफ्टवेयर विकास गरेर फागुनको पहिलो साता उदघाटन हुने पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्