कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लु नियन्त्रणका लागि तयारी गरिसकेको छ डा. विमलकुमार निर्मल

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लु नियन्त्रणका लागि आवश्यक तयारी गरिसकेको बताएको छ । बर्डफ्लु नियन्त्रणका लागि ‘-यापिड रेस्पोन्स टिम’ तयार गरेर सतर्क रूपमा बसेको मन्त्रालयका सहसचिव डा. विमलकुमार निर्मलले बताए । सोमबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै सहसचिव निर्मलले काठमाडौंको तारकेश्वर नगरपालिका–७ साङ्खोला, फुटुङमा नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएपछि मन्त्रालयले देशैभरबाट नमुना संकलन गरी परीक्षणको दायरा बढाएको बताए । कुनै पनि फार्ममा बर्डफ्लु पुष्टि भएमा तत्काल ¥यापिड रेस्पोन्स टिमले कुखुरा नष्ट गर्ने काम गर्ने पनि बताए । नेपालमा खासगरी टर्की, हाँस र लोकल कुखुरामा बर्डफ्लु देखिएको छ ।
यस्तै अहिले देखिएको बर्डफ्लुबाट आत्तिनुपर्ने अवस्था नरहेको पनि सहसचिव निर्मलले प्रष्ट पार्नुभएको छ । अहिले नेपालमा देखिएको बर्डफ्लुको भाइरस एच फाइभ एन एट रहेको पनि बताए । जुन भाइरस विगतमा देखिएको एच फाइभ एनवानभन्दा कम खतरा रहेको डा. निर्मलको भनाई छ । तर, एच फाइभ एन एटमा एच फाइभ एन वान मिसिन सक्ने भएकाले जोखिम उत्तिकै रहेको मानेर त्यसको नियन्त्रणका लागि सरकारी निकायहरूबीच छलफल भइराखेको पनि बताए । मन्त्रालयले विभिन्न प्रयोगशाला, ८ वटा क्वारेन्टाइन कार्यालय, २४ वटा चेकपोष्टहरूलाई सतर्क रूपमा राखेको पनि बताए ।
सहसचिव डा. निर्मलले मासु व्यवसायी र किसान जो कुखुराको प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ उहाँहरूले ठूलो मात्रामा कुखुरा मरेको पाइएमा तत्काल जानकारी गराउन समेत आग्रह गर्नुभएको छ । त्यसबाहेक कुखुरा फार्म तथा मासु पसलमा काम गर्दा मास्क लगाउने, केस छोप्ने, बुट लगाउने, एप्रोन लगाउने, फार्मलाई डिसइन्फेक्ट गर्ने, बाहिरी मान्छे र अन्य चराचुरुङ्गी तथा जनावरलाई जान नदिने किसिमको सतर्कता अपनाउन समेत आग्रह गर्नुभएको छ । उपभोक्ताले पनि न्यूनतम ७० डिग्री तापक्रममा मासु पकाएर खान सक्ने उहाँको भनाई छ ।
मन्त्रालयले स्थानीय निकायहरूसँग पनि समन्वय गरी अनुगमन गरिरहेकोले कसैले मरेका कुखुरालाई काटेर विक्री वितरण गरेको पाइए कारबाही गर्ने समेत बताए ।