Logo

बर्डफ्लु फैलिन नदिन व्यावसायिक फार्मलाई निगरानी

एक महिनाअघि भारतको हरियाना, हिमाञ्चल, मध्यप्रदेशमा बर्डफ्लु देखिएको थियो । अहिले आएर नेपालमा समेत बर्डफ्लु देखापरेको छ । बर्डफ्लु देखिएपछि सरकारले उच्च सतर्कता अपनाएको छ । भारतमा देखिएको बर्डफ्लु नेपालमा समेत आउन सक्ने भन्दै सरकारले पशुजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । विशेषगरी बर्डफ्लु चराचुरुङ्गीबाट सर्ने गर्छ ।
पशु सेवा विभागले प्रयोगशालालाई सुदृढीकरण गर्ने र क्वारेन्टाइनमा चेकजाँच अगाडि बढाएको छ । चिसो महिनामा बर्डफ्लु फैलिन सक्ने भएकाले पनि उच्च सतर्कता अपनाइएको छ । नेपालमा २०६४ सालतिर झापाको काँकडभिट्टाबाट बर्डफ्लु सुरु भएको थियो । त्यसपछि नेपालका विभिन्न जिल्लाहरूमा बर्डफ्लु देखिँदै आएको थियो । यसअघि देखा परेको बर्डफ्लुले पोल्ट्री क्षेत्रमा ठूलो क्षति पु¥याएको थियो । पोल्ट्री उद्योगमा निजी क्षेत्रको १ खर्ब २० करोडभन्दा बढी लगानी रहेको छ भने नेपालमा ४६ प्रतिशत मासु कुखुराको खपत हुने गरेको छ । यसअघि २०७६ वैशाखमा नेपालमा कुखुरामा बर्डफ्लु देखिएको थियो । विशेषगरी मलमूत्र, चरा, बिरालो र हाँसबाट बर्डफ्लुको भाइरस देखिने गरेको छ । बर्डफ्लु देखिएपछि राम्ररी पकाएर खाँदा मानव स्वास्थ्यमा कुनै असर नगर्ने पशु चिकित्सकहरूको भनाइ छ । ७० डिग्रीमा भाइरस मर्ने भएकाले राम्ररी कुखुराको मासु पकाएर खाँदा स्वास्थ्यलाई कुनै असर नपर्ने चिकित्सकको भनाइ छ । काठमाडौंको तारकेश्वर नगरपालिकामा गत शुक्रबार टर्की, हाँस, कुखुरा गरेर २५ सय पशुपन्छीमा बर्डफ्लु देखिएको छ । बजारमा प्रतिकेजी ४ सय रुपैयाँ रहेको कुखुराको मासु अहिले आएर घट्न थालेको छ । बर्डफ्लु नियन्त्रण गर्नका लागि सरकारले केकस्तो सतर्कता अपनाएको छ, यसको संक्रमण बढ्दै गए पनि पोल्ट्री व्यवसायमा पार्ने असरका बारेमा सरोकारवाला व्यक्तिसँग कारोबारले गरेको कुराकानीको सार :

बर्डफ्लुको संक्रमण फैलिन नदिन कडाइ गरेका छौं
डा. विमलकुमार निर्मल
सहसचिव
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

भारतमा बर्डफ्लु देखापरेपछि एक महिनापछि नेपालमा पनि देखापरेको छ । पशुपन्छी ओसारपसारमा पहिलादेखि नै कडाइ गरेका थियौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा अहिले टर्की, हाँसमा नमुना परीक्षण गर्दा बर्र्डफ्लु देखियो । अहिले के फरक छ भने पुरानो भाइरसको नाम एच फाइभ एच वान थियो, अहिले फैलिएको एच फाइभ एन एट भाइरस हो । यसले मानिस मर्दैन । तर पनि कुखुराहरूमा देखाप¥यो भने ठूलो क्षति हुने गर्छ । यसले पनि आफ्नो रूप परिवर्तन गरिरहन्छ । यो भाइरस टर्की र हाँसमा बढी देखिन थालेको छ । पछिल्लो समय मानिसहरूले साना–साना खोर बनाएर पालिएको हाँस र टर्कीमा देखिएको छ । ठूला–ठूला व्यावसायिक फार्ममा बर्र्डफ्लु देखापरेको छैन । एच फाइभ एन एट भाइरसबाट मानिस अहिलेसम्म मरेका छैनन् । पशु सेवा विभागमा यसको नियन्त्रण कक्ष राखेर कर्मचारी खटाएका छौं । सरसफाइ गर्ने, नष्ट गर्ने, गाड्ने, निसंक्रमण गर्ने काम भइसकेको छ । यो संवेदनशील भएकाले अब अर्काे चरणमा नमुना संकलन गरिरहेका छौं । केन्द्रीय प्रयोगशालामा पीसीआरको परीक्षण गरिरहेका छौं । अहिलेसम्म पोजेटिभ देखिएको छैन । अहिले पशुपन्छी आयातलाई रोक लगाएका छौं । क्वारेन्टाइनलाई सतर्क बनाइएको छ । उच्च निगरानीमा राख्नका लागि सबै जिल्लाको सर्भिलेन्स टिम बनाएको छ । यसले मानिसलाई सार्ने नभएकाले केही आत्तिनुपर्दैन । यदि एच फाइभ एच वान छ भने मासु राम्ररी पकाएर खाँदा भाइरस ७० डिग्रीमा मर्छ । खानका लागि कुनै समस्या नभए पनि मासु काट्ने, कुखुरा फार्ममा काम गर्ने सतर्क हुनुपर्छ । धेरै ठूलो संख्यामा कुखुरा मरेको छ भने पशु सेवा विभागमा जानकारी गराउनुपर्छ । अन्य देशमा पनि टर्की पाल्ने चलन बढी नभएकाले नेपालमा पनि पाल्न थालिएको छ । जुन क्षेत्रमा बर्डफ्लु देखियो त्यस ठाउँमा जंगली चराहरू पनि रहेका छन् । पशुपन्छी ओसारपसारमा रोक लगाए पनि जंगली चराहरूबाट सरेको देखिन्छ । आन्तरिक रूपमा पनि पशुपन्छी ओसारपसारमा कडाइ गरिएको छ । जुन फार्ममा बर्डफ्लु फैलिएको हो । त्यस ठाउँमा नष्ट गर्ने हो, अन्य ठाउँमा त्यस्तो असर पर्दैन । जोखिम विश्लेषण गर्छौं । नजिकै अर्काे फार्म छ भने त्यसमा सर्न सक्छ, तर अन्य साना–साना फर्ममा सर्न सक्दैन । यसअघि गत वर्ष विराटनगरमा देखिएको छ । अहिले धेरै ठाउँमा फैलिएको पनि छैन । त्यसैले आत्तिहाल्नुपर्ने अवस्था पनि छैन । काग, चराचुरुङ्गी मरेपछि मानिसहरूले परीक्षण गर्नका लागि लिएर आउने गर्छन् । तर गत शुक्रबारदेखि कुनै नयाँ ठाउँमा पोजेटिभ देखिएको छैन ।

बर्डफ्लुको संक्रमण फैलिन नदिन सीमा नाकामा कडाइ गर्नुपर्छ
गुणचन्द्र विष्ट
अध्यक्ष
पोल्ट्री व्यवसायी महासंघ

कोरोना भाइरस (कोभिड) को कारणले थला परेको पोल्ट्री व्यवसायलाई बर्डफ्लुले फेरि प्रभाव पार्ने देखिन्छ । एक महिनाअघि भारतमा बर्डफ्लु देखिनासाथ सतर्कता अपनाउनुपर्ने थियो, तर हुन सकेन । नेपालमा पनि बर्डफ्लु देखिसकेको छ । फार्म वरिपरि रहेका पशुपन्छीको नमुना संकलन गरेर त्यसलाई थप अन्यन्त्र ठाउँमा फैलिन दिन हुँदैन । अहिले राज्यको अस्वस्थ व्यवस्था, अवस्था रहेको छ । पशु सेवा विभागले बर्डफ्लु नियन्त्रण गर्नका लागि अलि–अलि पहल भए पनि अझै प्रभावकारी रूपमा हुन सकेको छैन । पहिला महासंघलाई पनि जानकारी गराउने गरेकोमा अहिले गरेका छैन । भारतमा बर्डफ्लु देखा पर्नेबित्तिकै नाकामा कडाइ गरिएन । धेरै मात्रामा पशुपन्छी भित्रिसकेका छन् । अहिले कडाइ गरे पनि खुला नाका भएकाले लुकीछिपी आयात भइरहेको हुन सक्छ । यसअघि बर्डफ्लु महामारीका रूपमा फैलिएकाले पोल्ट्री व्यवसायमा ठूलो क्षति भएको थियो । त्यति बेला धराशायी भएको पोल्ट्री व्यवसाय माथि उठ्न नपाउँदै कोभिडले फेरि थला पारेको छ । पोल्ट्री व्यवसायीमा १ खर्ब २० अर्ब लगानी रहेको छ । २० वर्ष अघिदेखि नै यस व्यवसायमा आत्मनिर्भर बनेका छौं । निजी क्षेत्रले मात्र यस व्यवसायलाई प्रवद्र्धन गरेको छ । कुनै समस्यामा पनि सरकारी निकायले यस व्यवसायलाई हेरेको छैन । निजी क्षेत्रको आफैं लगानीबाट यो व्यवसाय विस्तार हुँदैछ । बर्डफ्लु फैलिँदै गयो भने यस व्यवसायलाई धेरै नै ठूलो असर पार्ने देखिन्छ, जसको कारणले गर्दा पनि बर्डफ्लु फैलिन नदिनका लागि सरकारी तवरबाट विशेष पहल हुनुपर्छ । काठमाडौंको तारकेश्वर नगरपालिकमा पालिएका टर्की र हाँसमा बर्डफ्लु देखिए पनि अन्य ठाउँमा अझै देखिएको छैन । यसलाई फैलिन नदिनका लागि सबै ठाउँमा नमुना संकलन गरेर विशेष सतर्कता अपनाउनुपर्छ । विशेषगरी अहिले पनि नाकाबाट पशुपन्छीको आयात भइरहेको छ । बर्डफ्लु देखा परेपछि कुखुराको मासुको मूल्य पनि घट्न थालेको छ । यसलाई नियन्त्रण गर्नका लागि सीमा नाकामा कडाइ, व्यावसायिक फार्मलाई निगरानी राख्नुका साथै किसानलाई पनि सजग बनाउनुपर्छ ।
बर्डफ्लु भन्नाले एभिएन इन्फ्लुएन्जा वा एभिएनफ्लु भन्ने बुझिन्छ । यो रोग चराका प्रजातिबाट फैलिने गर्छ । यो रोग विभिन्न प्रकारका हुन्छन् । संक्रमित वा मरेका पन्छीहरूबाट सर्ने गर्छ । यो रोग लागेका पन्छीको मासु, रगत, प्वाख, सिँगान, ¥याल, सुली, अन्डालगायतको सम्पर्कबाट वा नजिकैको हावामा उडिरहेका स–साना पानीका कणहरूको माध्यमबाट सर्ने गर्छ । फार्मलाई निगरानीमा राख्नुपर्छ । किसानहरूलाई पनि सजग बनाउनुपर्छ ।
भारतमा बर्डफ्लु देखिएसँगै सरकारले उच्च सतर्कता अपनाएको भनिए तापनि प्रभावकारी हुन सकेन । छिमेकी देशमा बर्डफ्लु देखिनेबित्तिकै सरकारले कोरोनाको बेलामा जस्तै सबै नाका सिल गरेर उच्च सतर्कता अपनाउनुपथ्र्याे ।
नेपालमा खुला सीमाका कारण पनि बर्डफ्लु नियन्त्रण गर्न सम्भावना छैन । अनि नाकामा कडाइ नहुँदा पनि जोखिम धेरै रहेको छ । बर्डफ्लु तत्काल नियन्त्रण गर्न नसकिए पोल्ट्री पेसा नै धराशायी हुने अवस्था आउन सक्छ ।
बर्डफ्लु भन्नाले एभिएन इन्फ्लुएन्जा वा एभिएन फ्लु भन्ने बुझिन्छ । यो रोग चराका प्रजातिबाट फैलिने गर्छ । यो विभिन्न प्रकारका हुन्छन् । संक्रमित वा मरेको पन्छीहरूबाट सर्ने गर्छ । यो रोग लागेका पन्छीको मासु, रगत, प्वाख, सिँगान, ¥याल, सुली, अन्डालगायतको सम्पर्कबाट वा नजिकैको हावामा उडिरहेका ससाना पानीका कणहरूको माध्यमबाट सर्ने गर्छ ।

बर्डफ्लु नियन्त्रण गर्न उच्च निगरानीमा राखेका छौं
डा. चन्द्र ढकाल
वरिष्ठ पशु अधिकृत
पशु सेवा विभाग

काठमाडौंको तारकेश्वर नगरपालिका बर्डफ्लु देखिएपछि पन्छीहरू सबै नष्ट गरिसकेका छौं । त्यस ठाउँलाई संक्रमणमुक्त गराएका छौं । पन्छीहरू मारिसकेपछि त्यस ठाउँमा निसंक्रमण गरेर सिल गरिएको छ । ९० दिनसम्म त्यस क्षेत्रमा पशुपालन गरिँदैन । त्यस क्षेत्रको वरिपरि अरू कुखुराहरू मर्छन् कि भनेर प्रयोगशाला र इपिडियोमोलोजीको टोली नै गठन गरेर नियमित रूपमा सर्भिलेन्स गर्ने कार्य भइरहेको छ । त्यस ठाउँमा कुनै शंकास्पद नमुना देखिनेबित्तिकै नमुना परीक्षण गर्छौं । पोजिटिभ देखिएपछि नष्ट गर्छौं । साधारण कृषकले पालेको टर्की र हाँसमा बर्डफ्लु देखिएको छ । २५ सय पन्छी नष्ट गर्दा त्यसको वरिपरि रहेको क्षेत्रलाई पनि अहिले सघन निगरानीमा राखेका छौं ।
कुनै एक ठाउँबाट अर्काे ठाउँमा पन्छीजन्य वस्तु ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरेको प्रमाणपत्र लिनुपर्ने र सर्टिफाई गर्ने निकायलाई पनि चेक गरेर मात्र पठाउन भनेका छौं । दर्तावाल पशु चिकित्सकले सिफारिस गरेर मात्र ओसारपसार गर्न पाइन्छ । शंकास्पद फेला परेमा आयात गर्न मिल्दैन । अहिले देखिएको भाइरस एचफाइभ एन एट हो । यो भारतमा देखिएको बर्डफ्लुसँग मिल्दोजुल्दो रहेको छ । अहिलेसम्म यसले मानिसमा कोही मानिस मरेको रेकर्ड छैन । यो उच्च जोखिम नभएकाले तत्काल नियन्त्रण गर्न गरेका हो । प्रयोगशालामा पर्याप्त मात्रामा परीक्षण गर्न सकिनेछ भने तत्काल रोग नियन्त्रण गर्नका तालिम लिएका विज्ञहरूलाई परिचालन गर्न सक्ने अवस्थामा राखेका छौं । उच्च जोखिम भएका सीमा नाका, जिल्लामा पनि सर्भिलेन्स कार्य भइरहेको छ । गैरकानुनी रूपमा ल्याइएका पन्छीहरू क्वारेन्टाइन कार्यालयमा भन्सारसँग समन्वय गरेर नष्ट गरिएको छ । कानुनी रूपमा आयातमा प्रतिबन्ध लगाएका छौं । गैरकानुनी रूपमा आयात हुने पशुपन्छीलाई नियन्त्रण गर्न पनि उच्च निगरानीमा राखिएको छ । संक्रमित क्षेत्रको वरिपरि नियमित रूपमा सर्भिलेन्स गरिरहेका छौं भने अन्य ठाउँमा पनि निरीक्षण गर्ने काम भइरहेको छ । बर्डफ्लु देखिएर पशुपन्छी नष्ट गरेपछि किसानहरूले त्यसको क्षतिपूर्ति पनि पाउने गर्छन् । बर्डफ्लु देखिएर हाम्रो टोलीले गएर नष्ट गरेपछि डिस्टक्सन सर्टिफिकेट दिन्छौं । त्यही आधारमा स्थानीय दररेट निर्धारण गरिएको हुन्छ । पहिलाको कार्यविधिमा निश्चित तोकिएको थियो भने अहिलेको कार्यविधिमा फरक फरक रहेको छ । पन्छी र जिल्लाअनुसार मूल्य फरक–फरक हुनसक्छ । बर्डफ्लुबाहेक अन्य पन्छीहरू मर्दाखेरि नेपाल सरकारले पशुपन्छी बिमा गरेको छ । बिमा गरेको पन्छी परेको हकमा ७५ प्रतिशतसम्म बिमा रकम दिने कार्यक्रम रहेको छ । अहिले धेरै ठाउँबाट प्रयोगशालामा नमुना आएको छ, तर अन्य ठाउँमा बर्डफ्लु देखिएको छैन । अधिकांश नमुनाहरूमा बर्डफ्लु देखिएको छैन । बजारमा मासुको मूल्य घट्ने विषयमा पनि कसरी सूचनाहरू गएको भन्ने कुरा हुन्छ । बर्डफ्लु देखियो भन्दैमा आत्तिहाल्नुपर्ने अवस्था छैन । सानो संख्यामा देखिएको थियो । जुन नियन्त्रणमा आइसकेको छ । अरू ठाउँमा फैलिन नसकेकाले त्यस्तो आत्तिहाल्नुपर्ने अवस्था पनि छैन । बर्डफ्लु रोग मासुबाट सर्ने रोग होइन । फार्ममा काम गर्ने मानिस, पशुको बिक्री गर्ने, मासु काट्ने मानिस बढी जोखिममा रहन्छन् । त्यसले गर्दा व्यक्तिगत सरसफाइका उपायमा ध्यान गर्ने, फार्महरू नियमति रूपमा सरसफाइ गर्नुपर्छ । स्वस्थ पन्छीमा बर्डफ्लु नै हुँदैन । तर, बर्डफ्लु नै देखिएको हकमा पनि राम्ररी पकाएर खाँदा स्वास्थ्यलाई कुनै असर गर्दैन । मासु तयार गर्नुभन्दा अगाडि संक्रमित पशुसँग सम्पर्क हुँदा सर्न सक्ने हुनाले लक्ष्य देखिनेबित्तिकै तत्काल पशु सेवाको निकायमा खबर गरेपछि तत्काल पुगेर नियन्त्रण गर्छौं ।

बर्डफ्लुले मासुको मूल्य घटेको छैन
टीकाराम पोखरेल
अध्यक्ष
नेपाल ह्याचरी उद्योग संघ

बर्डफ्लु देखिएपछि बजारमा कुखुराको मासुको मूल्य घटेको छैन । बर्डफ्लु देखिनुअघि नै प्रतिकेजीमा १० रुपैयाँ मूल्य घटेको छ । अहिले उत्पादन बढी भएकाले मूल्यमा सामान्य घट्न गएको हो । अहिले मुलुकभर दैनिक ८ लाख केजी कुखुराको उत्पादन हुने गर्छ । पहिला साढे ९ लाख केजी कुखुराको माग थियो । कोरोना भाइरसको प्रभावले खपत घटेर ८ लाखमा झरेको हो । चिसो मौसममा किसानले कुखुरा कम पाल्ने भएकाले आपूर्तिमा कमी भएकाले पछिल्लो दुई महिनायता कुखुराको मूल्य बढेको थियो । बर्डफ्लुले खासै असर गर्ने देखिँदैन । दुई वर्षअघि पनि मुलुकमा बर्डफ्लु देखा परेको थियो । त्यतिबेला पनि कुनै असर गरेको थिएन । बाहिरबाट ल्याएको हाँस वा टर्कीबाट बर्डफ्लु आयो भन्ने छ । दक्षिण भारतमा देखिएको प्रकारको बर्डफ्लु नेपालमा पनि देखिएको छ । भारतबाट हाँस, टर्की ल्याउँदा बर्डफ्लु आएको भन्ने छ । काठमाडांैको तारकेश्वर नगरपालिकमा बर्डफ्लु देखिएपछि त्यहाँ रहेका पशुपन्छी मारिइसकेकाले अन्यन्त्र फैलिने डर छैन । अहिले सरकारी र निजीस्तरबाट नै बर्डफ्लु नियन्त्रण गर्नका लागि सर्भिलेन्स गरिएको छ । कहींकतै शंकास्पद देखियो भने हामीले पनि पशु सेवा विभागमा खबर गरेका छौं । हामीले व्यवसायीलाई पनि खबर गर्नका लागि आह्वान गरेका छौं । अहिले किसानले उपत्यकाबाहिर प्रतिकेजी जिउँदो कुखुरा १ सय ८० र उपत्यकामा २ सय रुपैयाँ पाउने गर्छन् ।
अहिले किसानले लागतअनुसार कुखुराको मूल्य पाएका छन् । गत पाँच वर्षदेखि कुखुराको मासु, अन्डा केही पनि आयात गरेका छैनौं । गत वर्ष चार महिनासम्म १ करोड २० लाखजति चल्ला भारत पठाएका थियौं । कुखुरामा आत्मनिर्भर भएर निर्यात गर्न सक्ने अवस्थामा छौं । नेपालमा सस्तो हुँदा भारतमा कुखुरा जाने गर्छ । उता सस्तो हुँदा नेपालमा आउने गर्छ । अहिले पनि खुला सिमानाका कारणले लुकीछिपी आयात भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्