नेपालगञ्जका कापी उद्योगमा समस्या

खुला सिमानाका कारण विद्यार्थीका लागि कपी उत्पादन गर्न नेपालगन्जमा खुलेका कपी उद्योग मारमा परेका छन् । अधिकांशले भारतबाटै भन्सार नतिरी कपी भिœयाउने गरेका कारण यहाँका कपी उद्योग फस्टाउन नसकेको उद्योगीहरूको भनाइ छ ।
नेपालगन्जमा कपी, रजिष्टरलगायतका स्टेसनरी मसलन्द उत्पादन र बिक्रीवितरण गर्दै आएको सार्थक इन्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक आशिषराज श्रेष्ठले खुला सिमाना नियमन नगरिदिंदा उद्योग फस्टाउन नसकेको बताएका छन् ।
उनले भने “खुला सिमाना भएकै कारण दिनदिनै ठुलो परिमाणमा रुपैडिहाबाट कपी भित्रिने गरेकाले यहाँको कपी उद्योग चलाउन समस्या भएको छ ।”
सोही प्रकारले अर्का कपी उत्पादन उद्योगी सनराइजका सञ्चालक रामप्रसाद गौतमले पनि चोरीपैठारीबाट भएका कारोबारका कारण यहाँको कपी उद्योग फष्टाउन बाधा परेको बताए ।
गत एक दशकदेखि सनराइज कपी उद्योग सञ्चालन गर्दै आएका गौतमले भने, “खुला सिमानाले सिर्जना गरेका बाधाहरूलाई राज्यले नियमन गरिदिने हो भने उद्योग राम्रोसँग फस्टाउन सक्छ ।”
नेपालगन्जमा ३ वटा कपी उद्योगले उत्साहजनक उत्पादन गरिरहेका छन् । “केही कपी उद्योग नया“ पनि आइरहेका छन्”, गौतमले तुलनात्मक रूपमा उद्योग खुल्ने क्रम बढेको जानकारी दिंदै भने, “भन्सार छलेर भइरहेको कारोबारलाई निरुत्साहित गर्न सके नेपाली कपी उद्योगहरूले बजार ओगट्न सक्छन् ।”
“विभिन्न भारतीय कम्पनीका कापीहरूको नाम नै तोकेर विद्यालयहरूले अभिभावकलाई दिने दबाव चिर्न जरुरी छ”, निजी विद्यालयहरूले सिन्डिकेट लगाएको गुनासो गर्दै सार्थक कपी उद्योगका सञ्चालक राजु उपाध्यायले भने, “यसबाट राजस्व पनि चुहावट भइरहेको छ र भारतीय ब्रान्डलाई विस्तार गर्ने काम पनि गरिएको छ ।”
नेपालगन्जबाट भइरहेका उत्पादनहरूको जिल्ला बाहिर राम्रो माग छ । “क्वालिटी हु“दैनथ्यो भने माग बढ्दैनथ्यो”, सार्थकका प्रबन्ध निर्देशक श्रेष्ठले पहाडी क्षेत्रमा आफ्ना उत्पादनहरूको माग बढिरहेको जानकारी दिंदै भने, “नेपालगन्जमा खुला सिमानाका कारण सोझै रुपैडिहा गएर सामान किन्ने प्रचलनले समस्या पा¥यो ।” त्यही भनाइ सनराइजका सञ्चालक गौतमको पनि छ । उनले भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न उधारो कारोबार गर्नुपर्ने बाध्यताले असर गरिरहेको टिप्पणी गरे ।
“नीतिगत समस्या छैन तर व्यावहारिक समस्याले हामीलाई फस्टाउन चाहेजति दिइरहेको छैन”, गौतमले भने ।
दक्ष कामदारका लागि भारतीय जनशक्तिमा भर पर्नुपर्ने अवस्थाले पनि केही समस्या पारेको उद्योगको भनाइ छ । सञ्चालक उपाध्यायले भने, “दक्ष जनशक्तिमा नेपालीहरू हुने हो भने राम्रो उत्पादन दिन पनि सक्छौं र रोजगारीको सिर्जना पनि गर्न सकिन्छ ।”
खुला सिमानाले समस्या पारे पनि नेपालगन्जमा पछिल्लो समयमा कपी उद्योग थपिंदै गएका छन् । “पहाडी जिल्लाबाट माग बढ्दै गएकाले पछिल्ला दिनमा बिस्तारै कपी उद्योगहरू फस्टाउन थालेका छन्”,सार्थकका प्रबन्ध निर्देशक श्रेष्ठले भने ।
बजारको सुनिश्चितता हुने हो भने सोही अनुसार लगानी बढाएर पनि काम गर्न सकिने केही उद्योगीको भनाइ छ । उनीहरूका अनुसार, सबै कच्चा पदार्थ भारत निर्भर हु“दा पनि भारतीय उत्पादनहरूलाई चुनौती दिएर बजार विस्तार गर्न स्थानीय उद्योगहरू बिस्तारै सक्षम भइरहेका छन् ।