सफ्ट पावर र लालची हामी नेपाली— २ «

सफ्ट पावर र लालची हामी नेपाली— २

नेपालको ऐतिहासिक, आर्थिक, सामाजिक भूगोल र सामाजिक रूपान्तरणभित्र पसेर केलाउँदा हामी धेरै अगाडिदेखि सफ्ट पावरको रोगबाट आक्रान्त र परनिर्भरतामा छौं ।

सफ्ट पावर के हो त?
सैनिक शक्ति र आर्थिक शक्ति सहज नै बुझ्न सकिन्छ । नेपाली सन्दर्भ हेर्ने हो भने भारतीय सैनिक चेक पोस्ट राखिएको र हाल लिम्पियाधुरा र लिपु नछोडेको, सैनिक शक्ति प्रयोग गरेको प्रस्ट छ । अन्य उदाहरणहरू हेर्ने हो भने सैनिक संयुक्त तालिमहरू भारतीय, चिनियाँ र अमेरिकनहरूसँग भएको हामीले पढेका छौं । यो सैनिक व्यवस्थापन, शक्तिको प्रहसन आदि÷इत्यादि नै हुन् ।
आर्थिक विषयहरू हेर्दा बाह्य सहयोगहरू लिएको प्रस्ट छ । हाल पनि २२–२७ प्रतिशत कुल बजेट बाहिरी मुलुकहरूसँग लिएर मुलुक चलिरहेको छ । भर्खर भारतबाट आएको १० लाख डोज भ्याक्सिन हामीले लगाइरहेको अवस्था छ भने अमेरिकी, चिनियाँ र अन्य मुलुकले दिएका आर्थिक सहयोग हामी हात थापिरहेको अवस्थाले अन्य मुलुकको यस मुलुकमा आर्थिक शक्तिको चलखेल प्रस्ट हुन्छ भने उनीहरूले बोकाइदिएको बानीबेहोरामा चल्न हाम्रो बाध्यात्मक अवस्थाले देखाउँछ । यो हाम्रो अवस्था राणाकालीन, पञ्चायतकालीन, बहुदलीय कालीन र गणतन्त्रकालीनमा पनि उस्तै छ, उत्पादन र आत्मनिर्भरता छैन ।
ठाडो रूपले जबरजस्ती, धम्की र भुक्तानी नगरी पनि आफूले चाहेको प्रतिफल र परिणाम ल्याउन सकिन्छ भन्ने विषय धेरैलाई थाहा नहुन सक्छ । आफूले चाहेको कुरो अप्रत्यक्ष तरिकाले प्राप्त गर्नु जसलाई न्याईको भाषामा बोल्दा ‘शक्तिको दोस्रो अनुहार’ अर्थात् सौम्य शक्ति पनि भनिन्छ ।
जब तपाईं अरूलाई तपाईंको आदर्शहरूको प्रशंसा गर्न लगाउन चाहनुहुन्छ र चाहना राख्नुहुन्छ, तपाईंले तपाईंको दिशामा त्यो व्यक्ति, संघ र संस्थालाई ल्याउनका लागि लाठी र गाजरमा त्यति खर्च गर्नु पर्दैन । जबरजस्ती भन्दा प्रलोभन र लालची बनाउनु जहिले पनि बढी प्रभावकारी हुन्छ । यसमा जस्तै : प्रजातन्त्र, मानव अधिकार र व्यक्तिगत अवसरहरूजस्ता विषयहरूमा धेरै मूल्य र गहिरो मोहक हुन्छ ।
अर्काको मूल्य र मान्यता, बानीबेहोरा, खुलापन, समृद्धि, आकांक्षा, सजीवता, उन्माद, उत्तेजना, प्रभाव र प्रफुल्लताजस्ता विषयहरूभित्र पसेर शालीनतासाथ भूमिका निर्वाह गरेर आफूले चाहेको जस्तो आफ्नो उद्देश्य र योजना मुताबिक प्रतिफल र परिणाम हात पार्नु सौम्य शक्ति हो । हामी व्यक्तिगत रूपले आकर्षण, प्रलोभन अर्थात् लालचीपनसँग चिरपरिचित छौं, यही कमजोरीमा सफ्ट पावरले अरूहरूको प्राथमिकताको आकारको क्षमताको निर्भरता केलाउँछ ।
यो नेपाली परिप्रेक्ष्यमा हेर्दा विदेशी शक्तिको चलखेल सुगौली सन्धिदेखि केलाएर ल्याउनुपर्छ भने सन् १९९० को दशकतिर आइपुग्दा यो दाता मुलुकहरूको गैरसरकारी संस्थाहरूको प्रयोग, छानी, छानी संघीयता ल्याउन र सामाजिक विखण्डन गराउन पार्टी नेता, बौद्धिक जमातको प्रयोग अनि धेरै मन्त्रालयमा कर्मचारीहरूको प्रयोग भइरहेको देखिन्छ ।

कहाँ लुकेका छन् सफ्ट पावरका स्रोतहरू ?
देशको नरम शक्ति मुख्यतया तीन स्रोतहरूमा निर्भर रहेको हुन्छ : १. संस्कृति आकर्षक विषय वस्तु हो, २. देशको राजनीतिक मूल्य–मान्यताहरू : जहाँ स्वदेश र विदेशमा रहनेहरू, विदेश नीतिहरू र ३. नैतिक अधिकारहरू ।
यहाँ नेपालको ऐतिहासिक भूगोलबाट आउँदा संस्कृति मान र अभ्यासहरूको झुप्पो हो, जसले समाजका लागि अर्थ सिर्जना गर्छ, साथै सामाजिक रूपान्तरण । यसभित्र मानवीय जीवनका धेरै अभिव्यक्तिहरू रहेका हुन्छन्, संस्कृतिजस्तै साहित्य, कला, शिक्षा, त्यस्तै लोकप्रिय संस्कृति, जुन सामूहिक मनोरञ्जनमा केन्द्रित हुन्छन् भने यी सबै मानिसका धर्मतिर जोडिएका हुन्छन् । संस्कृति भन्नासाथ कुनै पनि मुलुकको विश्वव्यापी मूल्य र मान्यता वा मान अगाडि आउँछ, यो कुनै पनि राष्ट्रको एक मुख्य स्रोत हो । यसमाथि नरम शक्ति ( सफ्ट पावर) प्रयोग गरिएको अवस्थामा त्यो मुलुक आन्तरिक द्वन्द्व, विवाद आदिमा फस्न जान्छ; जुन इथियोपिया, नेपाल र सुडान आदि अहिलेका उदाहरण हुन् ।
यस मुलुकमा, विभिन्न दाताहरू सफ्ट पावरमा यस क्षेत्रमा प्रत्यक्ष÷अप्रत्यक्ष काम गरिरहेका देखिन्छन्, चाहे धर्म परिवर्तन जातसम्बन्धी विषय लिएर होस्, चाहे महिला अधिकारका विषयहरू उठाएर होस्, चाहे छुवाछूतका विषयहरू लिएर होस् । यही सफ्ट पावर प्रयोग गरी विभिन्न घुमाउरो पाराले, उद्देश्य सामाजिक विखण्डन गराउने देखिन्छ । साँघुरो मानहरू बोक्ने र सङ्कीर्ण संस्कृति भएको अवस्थामा सफ्ट पावर बोक्ने र खेलाउन असजिलो हुन्छ । जुन हिन्दू धर्ममा छैन, अझै तिब्बतीयदेखि ब्रह्मको मैदान दुई सभ्यताका विभिन्न ठाउँबाट थुप्रिएको संस्कृति भएको मुलुक नेपाल सांस्कृतिक रूपले धनी छ । त्यसैले सफ्ट पावरको स्रोत ठूलो छ ।
नेपालमा परम्परागत हिन्दू–वैदिक शिक्षाको लामो इतिहास छ । यहाँ संस्कृत र बौद्ध शिक्षाको प्रचलन रहिरहेको अवस्थामा वि.सं. १९१० मा दरबार स्कुलको स्थापनासँगै अंग्रेजी शिक्षा प्रणालीको सुरुवात भएको हो । वि.स. २०२८ मा राष्ट्रिय शिक्षा पद्धतिको योजना कार्यान्वयन गरी नयाँ शिक्षाको सुरुवात गरियो, त्यहींदेखि विस्तार र गुणस्तर वृद्धि गर्न भनी धेरै परियोजना तथा कार्यक्रमहरू सञ्चालन गरिएको देखिन्छ । शैक्षिक क्षेत्रमा अमेरिका र भारतबाट सफ्ट पावरमा यस मुलुकमा काम सुरु गरियो । पहिले, सिनासदेखि अन्य त्रिविका विभागहरूमा धेरै अमेरिकी सहयोग रहन्थ्यो भने अहिले घर–घर पहुँच कम्प्युटर पुगेकाले त्यो सहयोग व्यक्तिमा पुगेको देखिन्छ भने संस्थागत सहयोग घटेको देखिन्छ । संसारमा नै धेरै सफ्ट पावरमा बढी काम गर्ने अमेरिका हो भन्ने कुरो जर्मन सम्पादक जोसेफ जोफेको तर्क बोल्छ, ‘अमेरिकाको नरम शक्ति उसको आर्थिक र सैन्य सम्पत्तिभन्दा पनि ठूलो छ ।’
यसरी नरम शक्तिले आफ्ना उद्देश्यहरू छिरायो भने हुँदाहुँदै छात्रवृत्ति, नोकरी आफ्नो र आफ्नो अनुकूल बनाउन सञ्चालन गरियो, जुन अहिले आएर सफ्ट पावरमा काम गर्ने व्यक्तिहरूलाई मात्रै प्राथमिकतामा राख्न थालियो । अहिले देखिएका यी सबै सडकदेखि सदनसम्मका वितण्डा हुनु एक कारक तत्व हुन् ।
सफ्ट पावर प्रयोगमा बानीबेहोरा महत्वपूर्ण हुन्छ, तराईमा अंग्रेजी गीत ठूलो स्वरले बजाएर मानिस आकर्षित हुँदैनन्, त्यहाँ भोजपुरी वा हिन्दी बजाए आकर्षण गर्न सकिन्छ । फ्रेन्चहरूलाई उत्तम वाइन र चिजले आकर्षण गर्न सकिँदैन । यहाँ कमजोरीभित्र घुलित भएर बानीबेहोरा समाउने हो र आफ्नो योजना र उद्देश्य अनुकूल ढाल्ने हो भन्ने भुल्नु हुँदैन । आफ्नो मुलुकको संस्कृति फैलाउने भनेको वाणिज्य र व्यापार हो, जसमा व्यक्तिगत सम्पर्कहरू, भ्रमणहरू र आदानप्रदान हुन्छ । यहाँ खुला बोर्डर, शरणार्थी शिविर, बिचौलियाका व्यापार सहज, न नियन्त्रण न नियमन भएकाले पहाड–तराईका सामान्य नागरिक उचाल्न होस् वा अन्य विषयहरू सबै सहज हाम्रो मुलुकमा र तिनै सरकारी तहमा देखिन्छ । गैरसरकारी संस्थाका तलब वा भत्तामा अर्काका उद्देश्य बोकेर पार्टीहरूको राजनीतिक नेतृत्वदेखि कर्मचारी, जनप्रतिनिधि कुदिरहेको देखिन्छ । यहाँ यिनीहरूले बोकेको र फालिएको प्रलोभन र लालचपनको ओखती देखिँदैन ।
हालसम्म नारा लगाइएका साम्यवाद, समाजवाद, वैज्ञानिक समाजवाद, राष्ट्रवाद, प्रजातान्त्रिक समाजवाद आदि जेजस्तो भनिए तापनि लालचीपन, टोपी थाप्ने प्रवृत्तिले हामीलाई कहिल्यै नछोडेको देखिन्छ ।
वास्तविक नेपालको यो संघीय संविधान नै सफ्ट पावरले ल्यायो, जसमा राजनीतिक स्वार्थ अनुकूल पार्टीहरूका सम्झौता त भए, तर ऐतिहासिक, आर्थिक, सामाजिक भूगोलप्रति आँखा चिम्लिएको देखिन्छ । त्यसैले यो राजनीतिक, आर्थिक ढाँचामा पुनर्संरचना गर्नुपर्ने आवश्यकता देखिन्छ ।
(लेखक ‘संघीयताको अर्थ–राजनीति’ पुस्तकका लेखक हुन् ।)

प्रतिक्रिया दिनुहोस्