वीरगञ्जलाई केन्द्र बनाउन उद्योग वाणिज्य सङ्घको माग

मुलुक गणतन्त्रमा प्रवेश गरिसकेको र सङ्घीयताको अभ्यास गरिरहेको हालको परिप्रेक्ष्यमा वीरगञ्जलाई प्रदेश नं. २ को राजधानी घोषणा नगरी अन्य ठाउँलाई घोषणा गर्ने तयारी भइरहेकोमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घले विरोध गरेको छ ।
विभिन्न सञ्चार माध्यमहरूमा आइरहेको समाचारप्रति संघले ध्यानाकर्षण भएको जनाएको छ । बहुजाति, बहुसांस्कृतिक, बहुभाषिक जनताहरूको बसोबास भएको, मुलुककै मुख्य प्रवेशद्वारको रूपमा चिरपरिचित, मुलुककै ठूलो औद्योगिक कोरिडोर र व्यापारिक नगरी, भौतिक पूर्वाधारले सम्पन्न, क्षेत्रीय स्तरका कार्यालयहरू स्थापित रहेको, परराष्ट्र मन्त्रालयको सम्पर्क कार्यालय रहेको, भारतीय महावाणिज्य दूतावासजस्ता कूटनीतिक नियोगहरूसमेत स्थापित रहेको, सुक्खा बन्दरगाह, एकीकृत भन्सार चेकपोष्ट, सिमरा विमानस्थल, प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, निर्माणाधीन निजगढ–काठमाण्डौं फास्ट ट्रयाक, प्रदेश नं. २ को अन्य सहरहरूको तुलनामा वीरगञ्जबाट छोटो समयमा राजधानी पुग्न सकिने जस्ता अत्याधुनिक सुविधा सम्पन्न सहरको रूपमा वीरगञ्ज महानगर रहेकाले यसैलाई केन्द्रका राजधानी बनाउन माग गरिएको छ । राष्ट्रिय राजस्वमा पुर्याइरहेको अत्यधिक योगदानलगायतका अपार सम्भावना बोकेको वीरगञ्ज महानगरलाई प्रदेश राजधानी घोषणा नगरी अन्य ठाउँलाई घोषणा गर्दा विकासका गति अवरुद्ध हुने देखिएको संघको भनाइ छ ।
त्यसैले बहुआयामिक ढङ्गले सम्पन्न वीरगञ्ज महानगर भौगोलिक, आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, पर्यटकीय दृष्टिले प्रदेश राजधानीको लागि अतिउपयुक्त रहेको र वीरगञ्ज महानगरको विकल्प नदेखिएकाले वीरगञ्ज नै प्रदेश नं. २ को राजधानी हुनु पर्दछ भनी सङ्घले जोडदार माग गरेको छ ।