१० कित्ते नीतिले विकृति ल्याएको हो ? «

१० कित्ते नीतिले विकृति ल्याएको हो ?

लगानीकर्ताहरूको आकर्षण प्राथमिक बजारमा भए पनि यसको गन्तव्य भनेको दोस्रो बजार नै हो । यसले सेयर बजारको दायरालाई बढाउँछ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले एउटा टेलिभिजनमा दिएको अन्तर्वार्तामा १० कित्ते नीतिले सेयर बजारमा विकृति ल्याएको जस्तो धारणा राखेका थिए । के १० कित्ते नीतिले सेयर बजारमा विकृति ल्याएको जस्तो छ र ? के १० कित्ते नीतिले सेयर बजारलाई फराकिलो बनाएको छैन र ? सेयर बजारको पहुँच आमलगानीकर्तासम्म पु-याउन मद्दत गरेको छैन र ? पछिल्लो समयमा १० कित्ते नीतिले सेयर बजारलाई विस्तृत बनाएको छ । हाल प्राथमिक बजारका लगानीकर्ताहरू १५ लाखभन्दा बढी भइसकेका छन् । यसको कारण भनेको १० कित्ते नीति नै हो भन्दा पनि फरक नपर्ला । १० कित्ते नीतिले प्राथमिक बजारका लगानीकर्ताहरू ह्वात्तै बढाएको छ । प्राथमिक बजारमा सबै आवेदकहरूले १० कित्ता सेयर पाउने आसमा लगानीकर्ताहरू प्राथमिक बजारमा झुम्मिएका हुन् । १० कित्ते नीतिले ससाना लगानीकर्ताहरूलाई पनि सेयर बजारमा आबद्ध हुन मद्दत गरेको छ । लगानीकर्ताहरूको आकर्षण प्राथमिक बजारमा भए पनि यसको गन्तव्य भनेको दोस्रो बजार नै हो । यसले सेयर बजारको दायरालाई बढाउँछ र बढेको पनि छ । १० कित्ते नीतिले आईपीओ सेयर खरिद गर्न रु. १ हजार मात्रै भए पनि पुग्ने र १० कित्ता सेयर भए पनि पाउने आशाले साना लगानीकर्ताहरूको आकर्षण बढेको हो, तर पनि केही लगानीकर्ताहरूको भनाइमा १० कित्ते नीतिले सेयर बजारमा विकृति ल्याएको र यसलाई हटाउनुपर्छ भन्ने गर्दछन् । विगतमा बोरा प्रवृत्ति रहेजस्तो पछिल्लो समयमा पनि यस्तै प्रवृत्ति रहेको भनाइ पनि कतिपयको रहेको पाइएको छ ।
त्यसो त कुनै पनि विषयका नकारात्मक तथा सकारात्मक पाटो रहेकै हुन्छन् । प्राथमिक बजारमा लगानीकर्ताहरू ह्वात्तै बढेका कारण पछिल्लो समयमा पनि विगतमा जस्तो बोरा प्रवृत्ति देखिएको र यसमा विकृति भित्रिएको भनाइ सामाजिक सञ्जालमा र केही मिडियाहरूले प्रचार गर्दै आइरहेका देखिन्छन् । कतिपयले त प्राथमिक सेयरमा आवेदन दिनेमध्ये ५० प्रतिशत आवेदकहरू त फेक रहेको पनि बताइरहेका छन् । एक जना व्यक्तिले सयौं जनाको नागरिकता संकलन गरेर बैंकमा डिम्याट खाता खोल्ने गरेको पनि मिडियामा आइरहेका छन् । एक जना व्यक्तिले सयौं जनाको नागरिकता जम्मा गरेर बैंकमा डिम्याट खाता खोल्ने गरेका छन् भन्ने भनाइलाई पत्याउन सकिने आधार छ त ? यस्तो हो भने सम्बन्धित नियामक निकायले छानबिन र अनुगमन गर्नुपर्छ ।
केही व्यक्तिहरूले आफ्ना चिनेजानेकाका नामबाट दुई–चारवटा खाता खोलेका पनि होलान् र आईपीओमा आवेदन पनि दिए होलान् । तर पनि पछिल्लो समयमा धेरैजसोको सेयर बजारप्रति चासो र आकर्षण रहेको देखिन्छ । सडकदेखि सदनसम्म सेयर बजारको चर्चा हुने भइसकेको छ भने चियागफमा पनि सेयर बजारकै चर्चा हुन थालेको छ । सेयर बजारप्रति आमनागरिकको चासो र आकर्षण बढेर प्राथमिक बजारमा लगानीकर्ताहरूको प्रवेश भएको हो भन्दा पनि फरक नपर्ला । सेयर बजारमा प्रवेश गर्न चाहने नवप्रवेशीहरूका लागि प्राथमिक बजार उपयुक्त माध्यम हो । प्राथमिक बजारमा जोखिम कम हुन्छ, दोस्रो बजारमा जस्तो जोखिम हुँदैन ।
प्राथमिक बजार भनेको नवप्रवेशी लगानीकर्ताहरूका लागि दोस्रो बजारमा प्रवेश गर्ने सिँढीजस्तै हो । त्यस कारणले पनि प्राथमिक बजारप्रति आमलगानीकर्ताको आकर्षण र चासो रहेको हो भन्दा फरक नपर्ला । देशमा पछिल्लो समयमा प्रविधिले फड्को मारिसकेको छ । पछिल्लो समयमा धेरैजस्तो क्षेत्र डिजिटलाइजेसन भइसकेको छ । सेयर बजारमा पनि पछिल्लो समयमा विगतमा आईपीओमा आवेदन दिनका लागि चेक र नगद बोकी आवेदन संकलन केन्द्रहरूमा घण्टांै लाइनमा बस्नुपथ्र्यो । अब यस्तो समस्या रहेन । अहिले डिजिटल जमाना भएकाले सेयर बजार पनि डिजिटलाइजेसन अनलाइन प्रविधिमा गइसकेको छ । पछिल्लो समयमा सेयर बजारका सबैजसो कामहरू अनलाइनबाट हुने गरेका छन् । आईपीओमा सेयर आवेदन गर्नका लागि अनलाइनमार्फत मेरो सेयरबाट घर, कार्यालय, पसल नेटको सुविधा भएको जुनसुकै ठाउँबाट दिन सकिन्छ । यस्तै, कम्प्युटर, मोबाइल, ल्यापटपबाट एकै जनाले धेरै व्यक्तिको आईपीओ सेयर खरिदका लागि आवेदन दिन सकिने भएको छ । विगतमा जस्तो सेयर खरिदका लागि आवेदन दिन गाह्रो नभएको र सेयर नपरेको रकम फिर्ता लिन, प्रमाणपत्र लिन, लाभांश लिन घण्टौं लाइनमा बस्नु पर्दैन । यस कारणले पनि सेयर बजारमा लगानीकर्ताहरूको आकर्षण बढेको हो । यसलाई अन्यथा लिन पनि हुदैन र यसलाई विकृतिको संज्ञा दिन पनि भएन । प्राथमिक बजारमा नै किन नहोस्, लगानीकर्ताहरू बढ्नु भनेको सेयर बजारका लागि राम्रो हो । यसले सेयर बजारलाई फराकिलो बनाउँछ । सेयर बजारको दायरालाई बढाउँछ । सेयर बजारको विकास र विस्तार गर्न मद्दत गर्छ । प्राथमिक बजारमा आईपीओ सेयर खरिदमा आवेदकहरूको संख्या बढ्यो भन्दैमा यसमा विकृति बढ्यो, यसलाई पुनरावलोकन गर्नुपर्ने हो कि भन्ने भनाइको कुनै अर्थ रहँदैन ।
नेपाल धितोपत्र बोर्डले प्राथमिक बजारमा बुक बिल्डिङ प्रणाली लागू गर्ने भएको छ । बुक बिल्डिङ प्रणाली लागू भएपछि १० कित्ते नीति बिस्तारै विस्थापन हुने नै देखिन्छ । कतिपय बुक बिल्डिङ प्रणाली सेयर बजारका लागि राम्रो मान्ने गरिएको छ । यसले रियल सेक्टरका कम्पनीहरू सेयर बजारप्रति आबद्ध हुन्छन् भन्ने भनाइ पनि छ । यसले सेयर बजारको दायरा बढाउनमा मद्दत पुग्ने देखिन्छ । तर, यो प्रणालीले प्राथमिक बजार पनि ठूलाबडा लगानीकर्ताहरूको हातमा जाने देखिन्छ । बुक बिल्डिङ प्रणालीमा सेयर खरिद गर्न ५० कित्ताभन्दा कम आवेदन दिन पाइँदैन भने आईपीओ सेयर पनि रु. १ सयमा नपाइने हुन सक्छ । आईपीओका लागि पनि रु. १ सयभन्दा बढी तिर्नुपर्ने हुन सक्छ । यसले साना लगानीकर्ताहरूको पहुँच नहुन सक्छ । त्यसो त बुक बिल्डिङ प्रणाली लागू भए पनि सबै कम्पनीमा बुक बिल्डिङ प्रणालीबाट नै सेयर निष्कासन हुन्छ भन्ने पनि छैन । बुक बिल्डिङ प्रणालीबाट सेयर जारी गर्न केही सर्तहरू राखिएका छन् । यसका लागि सेबोनले निर्धारण गरेका सर्तहरू पूरा गरेमा मात्र बुक बिल्डिङ प्रणालीबाट आईपीओ जारी गर्न सकिन्छ । तर पनि यसले १० कित्ते नीतिलाई भने बिस्तारै विस्थापन गर्ने देखिन्छ भने प्राथमिक बजार पनि ठूला लगानीकर्ताहरूको हातमा जाने देखिन्छ । त्यसैले कतै साना लगानीकर्ताहरू आईपीओ सेयर खरिद गर्नबाट पनि वञ्चित हुन त होइन भन्ने शंका जायज छ ।

प्रतिक्रिया दिनुहोस्