हल अफ फेम सिजन २, देश बाहिरबाट सुरु गरिएको सबैभन्दा ठूलो सांगीतिक शो «

हल अफ फेम सिजन २, देश बाहिरबाट सुरु गरिएको सबैभन्दा ठूलो सांगीतिक शो

मेलबर्न, अष्ट्रेलिया-अष्ट्रेलियाको मेलबर्नमा मुख्यालय रहेको अष्ट्रेलियाको सामूदायिक अनलाईन टेलिभिजन एमएनटीभी अष्ट्रेलियाको आयोजनामा हाल सञ्चालित हल अफ फेम सिजन २ नेपाल बाहिरबाट लगानी भएको सबैभन्दा ठूलो सांगीतिक रियालिटी शो बन्न पुगेको छ । सुरुवाती चार एपिसोड हिमालय टेलिभिजन र एमएनटीभीबाट प्रशारण भइसकेको कार्यक्रमको प्रस्तुतिलाई लिएर धेरैले प्रशंसा गरेका छन् । विश्व नै महामारीमा रहेको बेला कार्यक्रमको अवधारणा विकास गरिएको थियो । अनलाईनबाट नै प्रतिभाहरुले आफ्नो सिर्जना र सांगीतिक शिप प्रस्तुत गर्न पाउने मात्र होइन, त्यसलाई नेपाली संगीत आकाशकै चम्किला ताराहरु दिप श्रेष्ठ, विवेक श्रेष्ठ र रजिना रिमालले मूल्यांकन गर्ने भएका कारण पनि धेरैको आकर्षण बढेको हो ।
कार्यक्रम निर्माण गर्ने एमएनटीभीका अध्यक्ष चन्द्र योन्जन सुरुवाती प्रतिक्रियाबाट आफुहरुमा उत्साह थपेको बताउँछन् । मानिसहरुले कोरोना, कोरोना र चारैतिर कोरोनाकै कुरा भइरहँदा हामीले फरक सोच राखेर यसलाई अगाडि बढाउने निर्णय गरेका थियौं । सुरुवाती कार्यक्रममा दर्शक र शुभचिन्तकहरुको प्रशंसाले हामीलाई हौसला थपेको छ । उनले भने ।
यस्तै अष्ट्रेलियामा नै बसोबास गरिरहेका कन्दरा व्याण्डका चर्चित गायक विवेक श्रेष्ठले पनि आफुलाई नयाँ अनुभव भइरहेको प्रतिक्रिया दिएका छन् । दुईजना निर्णायकहरु नेपालमा, म अष्ट्रेलियामा । तर, हामी एकै समयमा प्रतिस्पर्धीको गीत सुनेर आफ्ना प्रतिक्रिया दिइरहेका हुन्छौं । प्रविधिले यो सबै सम्भव तुल्याएको छ । अहोरात्र खटिने निर्माण पक्षले यसलाई सफल तुल्याएको छ । श्रेष्ठले भने ।
कार्यक्रमको सुरुवाती चरणदेखि नै यसको विविध पक्षमा मार्गनिर्देश गर्दै आएका मेलबर्नका अगुवा रन्जन वैद्यले भने, देश बाहिर रहेका नेपालीहरुको तर्फबाट नेपाली गीत संगीतको श्रीबृद्धि र प्रतिभा प्रोत्साहनमा चालिएको यो नै सबैभन्दा ठूलो स्टेप होला जस्तो लाग्छ ।
सैयौं प्रतिस्पर्धीबाट छानिएर आएका टप ५० को प्रस्तुति यतिबेला कार्यक्रममा हेर्न सकिन्छ । यो शुक्रबार र शनिबार फेरि थप प्रतिस्पर्धीहरुले आफुलाई अब्बल सावित गर्न कम्मर कस्दैछन् । नेपाली दर्शकहरुको लागि हल अफ फेम सिजन २ हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजेदेखि ९ बजेसम्म प्रशारण हुने गर्दछ । देश बाहिरका दर्शकहरुले एमएनटीभी अष्ट्रेलिया र यसको युट्युब च्यानलबाट कार्यक्रम हेर्न सक्दछन् ।

प्रतिक्रिया दिनुहोस्