पीएम कप क्रिकेटको उपाधि आर्मीलाई «

पीएम कप क्रिकेटको उपाधि आर्मीलाई


प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट २०७७ को उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा एपीएफलाई ३३ रनले हराउँदै आर्मीलेउपाधि जितेको हो ।
२१२ रनको लक्ष्य पाएको एपीएफ ४१ ओभर तीन बलमा अल आउट हुँदै १७८ रनमा समेटिएको थियो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित पूरा ओभरमा ९ विकेट गुमाएर २११ रन बनाएपछि एपीएफले २१२ रनको लक्ष्य पाएको थियो ।
यसअघिका तीन संस्करणमध्ये पहिलो संस्करणमा आर्मीले एपीएफसँग उपाधि बाँडेको थियो भने दोस्रो संस्करणमा एपीएफसँग हार बेहोरेको थियो । त्यस्तै तेस्रो संस्करणमा अर्को विभागीय टिम पुलिससँग हारेको आर्मीको चौथो प्रयास सफल भएको हो ।
यसैबीच, चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेटमा बागमती प्रदेशका पृथु बास्कोटा उत्कृष्ट ब्याट्स्मेन बनेका छन् । प्रतियोगितामा पृथुले लिग चरणका चार खेल र सेमिफाइन खेलेका थिए ।
समूह चरणमा लुम्बिनीविरुद्ध उनले २९ रन जोडेका थिए भने प्रदेश २ विरुद्ध ५३ रनको अर्धसतकीय पारी खेलेका थिए । उनले प्रतियोगिताको दोस्रो खेलमा पनि ८४ रन बनाएका थिए। सुदूरपश्चिमविरुद्धको खेलमा उनी प्लेयर अफ दि म्याचसमेत बने ।
त्यस्तै, त्रिभुवन आर्मी क्लबका शाहब आलम उत्कृष्ट बलर घोषित भएका छन् । उनले त्रिभुवन क्लबलाई ऐतिहासिक जित दिलाउने क्रममा फाइनलमा तीन विकेट लिए भने अविजित २५ रन ब्याटिङ गरे ।
उनले प्रतियोगिताभर १२ विकेट लिएका थिए। यद्यपि सर्वाधिक विकेट लिनेमा भने आर्मीकै अविनाश बोहरा छन् । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका कमल सिंह ऐरी प्लेयर अफ दि सिरिज बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्