‘अदालतलाई संविधान संशोधन गर्ने अधिकार छैन’ «

‘अदालतलाई संविधान संशोधन गर्ने अधिकार छैन’

अर्घाखाँची-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश ईन्चार्ज युवराज ज्ञवालीले अदालतलाई संविधान संशोधन गर्ने नभएर संविधानको व्याख्या गर्ने मात्रै अधिकार रहेको बताएका छन् ।
शनिबार अर्घाखाँचीको सन्धिखर्कमा नेकपा प्रचण्ड–नेपाल समूहद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले अदालत र न्यायाधीशको काम संविधानको व्याख्या गर्ने मात्र भएको र संविधान संशोधन गर्ने नभएको बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन असंवैधानिक भएकोले अदालतले संसद् पुनःस्थापना गरिदिने विश्वास ज्ञवालीले व्यक्त गरे । वर्तमान संविधानमा बहुमतप्राप्त प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको भन्दै ज्ञवालीले संविधानमै नभएको अधिकार प्रयोग गरी संसद् विघटन गरेकोले अदालतले संसद पुनस्र्थापित गरिदिने दाबी गरेका छन् ।
गम्भीर गल्ती प्रधानमन्त्री ओलीले गरेको आरोप उनले लगाए । पार्टीले सरकार चलाउने नभई, सत्ताले पार्टी चलाएको भन्दै प्रधानमन्त्री ओली आफू नसच्चिई समाजबादको बाटोमा जान नचाहेकाले पार्टी विभाजन भएको नेता ज्ञवालीले बताए ।
ज्ञवालीले केपी ओलीको नेतृत्वमा अब कहिल्यै पनि कम्युनिष्ट पार्टी बन्न नसक्ने बताउँदै केपी ओलीले कम्युनिष्ट पार्टीको खोल ओढेर कम्युनिष्ट पार्टीलाई खत्तम पार्न थालेको आरोप लगाए । राष्ट्रलाई कमजोर बनाएर केपी ओलीले राष्ट्रघाती काम गरेको बताउँदै ज्ञवालीले राष्ट्रवादको नारा लगाउँदैमा कोही राष्ट्रवादी नभइने स्पष्ट पारे । ‘केपी ओली राष्ट्रघाती हुन्, जनघाती हुन्, कम्युनिष्ट विरोधी हुन् र उनी गणतन्त्र विरोधी हुन्, यो भन्दा ठूलो प्रमाण अरु केहि छैन,’ ज्ञवालीले भने
ओलीले कम्युनिष्ट पार्टी खत्तम बनाउन खोजेपनि आफूहरुले बचाएको ज्ञवालीले दाबी गरे । ज्ञवालीले ओलीको गलत प्रवृति विरुद्ध पार्टीमा लामो लडाई गर्दै आएको बताउँदै एकीकरण पछि केपीमा अझै उन्माद बढेकाले दुर्घटना भएको बताए ।
नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिती सदस्य वर्षमान पुनले आफ्नै पार्टीको अध्यक्ष र प्रधानमन्त्रीले गरेको अलोकतान्त्रिक र प्रतिगामी कदम सच्याउन आफूहरु लाग्न बाध्य बनेको बताए । नेपाल कम्युनिष्ट पार्टी नेकपा पचण्ड माधव पक्षले अर्घाखाँचीकोे सन्धिखर्कमा गरेको पत्रकार भेटघाटमा नेता पुनले आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिकरुपमा संसद विघटन गरेर मुलुकको संविधान र आफ्नै राजनीतिक जीवनसमेत धरापमा पारेको पुनले आरोप लगाए ।
‘इतिहासको दिशालाई उल्ट्याउन खोज्दा उहाँको राजनीतिक जीवन नै धरापमा परेको छ,’ उनले भने । प्रधानमन्त्री ओलीले सैनिक सत्ता वा संकटकाल लगाएर भएपनि गैरसंवैधानिक सत्ता लम्ब्याउने धम्की दिन थालेको उनको भनाइ छ ।
नेकपा एकता हुँदा विकास र समृद्धिका कुरा गरेता पनि पार्टी एकातिर र सरकार चलाउने पद्धति अर्कोतिर भएकोले पार्टी दुर्घटनामा परेको उनले बताए । संसद पुनःस्थापना गरेर जनताको ५ वर्षसम्म मागेको म्यान्डेट पूरा गर्नका लागि नेकपा विचलित नभएको उनले बताए । संसद पुनःस्थापना गरेर संविधान सहि दिशामा आउने भएकाले पनि सबै नेपाली जनता, राजनितिक दल, नागरिक समाज आन्दोलनमा होमिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्