बैंकको नाफामा कोरोनाको असर देखिन सुरु

सरकारले अर्थतन्त्रमा कोरोनाले पारेको असरको मूल्यांकन कम ठाने पनि बैंक तथा वित्तीय संस्थाहरू साँच्चै समस्यामा पनि परेका छन् ।
कोरोना कहरका कारण बैंक तथा वित्तीय संस्थाहरूमा बल्ल प्रभाव देखिन थालेको छ । कोरोना संक्रमण रोक्न सरकारले गत चैत ११ गतेदखि गरेको बन्दाबन्दीपछि उद्योग–व्यवसाय तथा कलकारखाना बन्द हुँदा बैंक तथा वित्तीय संस्थाको व्यवसाय घट्यो । ऋण लिने तथा ऋणको मासिक ब्याज तिर्ने सर्वसाधारणलगायत उद्योगी–व्यवसायी पनि आफ्ना व्यवसाय तथा रोजगार संकटमा परेका कारण मासिक किस्ता बुझाउनेदेखि नयाँ ऋण लिनेजस्ता सबै आर्थिक क्रियाकलाप बन्द गर्न बाध्य भए । त्यसमाथि सरकारले केही राहत तथा नेपाल राष्ट्र बैंकले ब्याजमा केही सहुलियत दिएको तथा मासिक किस्ता बुझाउन नसक्नेको लागि जरिवाना पनि मिनाहा गरेका कारण पनि बैंक तथा वित्तीय संस्थामा त्यसको असर परेको छ । साथै, केही बैंक तथा वित्तीय संस्थाले आफैं पनि केही ब्याज छुट सहुलियत दिएका थिए । त्यसको असर चालू आर्थिक वर्षको दोस्रो चौमासको लेखा परीक्षण नगरिएको वासलातमा देखिएको छ । धेरै बैंकको नाफाको वृद्धिदरमा कमी आएको छ भने केही बैंकको खराब कर्जा पनि बढेको छ । समग्र अर्थतन्त्रमा समस्या आउँदा स्वाभाविक रूपमा वित्तीय मध्यस्थकर्तालाई असर पर्छ नै । तैपनि बैंकहरूको दोस्रो चौमासको आफ्नो वासलात सकेसम्म राम्रो र सफा देखाएका छन् । वास्तवमा दोस्रो चौमासको वासलातले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको चालू आर्थिक वर्षको प्रगति कतातिर जाँदै छ भन्ने अनुमान गर्न सकिन्छ । त्यसैले बैंक तथा वित्तीय संस्थाका दोस्रो चौमासको वासलात हेर्दा अन्य क्षेत्रमा कोरोना महामारीको असर तत्काल देखिए तापनि बैंक तथा वित्तीय क्षेत्रमा भने बल्ल देखिन सुरु भएको स्पष्ट छ । नेपालका अन्य क्षेत्रको दाँजोमा बैंक तथा वित्तीय संस्था बढी पारदर्शी छ । साथै, नियामक निकाय नेपाल राष्ट्र बैंकले एक प्रकारको नाफा पनि सुनिश्चित गरिदिएको छ । तर यस्तो क्षेत्रमा पनि वैश्विक महमारी कोरोनाले पारेको असर देखिन थाल्नुको अर्थ वास्तवमा नेपाली अर्थतन्त्रमा कोरोनाले राम्रै धक्का दिएको छ । सरकारले अर्थतन्त्रमा कोरोनाले पारेको असरको मूल्यांकन कम ठाने पनि बैंक तथा वित्तीय संस्थाहरू साँच्चै समस्यामा पनि परेका छन् ।
त्यसैले कोरोना महामारीका कारण चालू आर्थिक वर्षको पुससम्ममा वाणिज्य बैंकहरूको नाफा खुम्चिनु स्वाभाविक हो । अघिल्लो आर्थिक वर्षको दोस्रो चौमासको दाँजोमा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूको अर्धवार्षिक वित्तीय विवरणअनुसार करिब ३ प्रतिशत खुद नाफा खुम्चिएको छ । गत आर्थिक वर्षको दोस्रो चौमाससँग दाँज्न त्यति उपयुक्त नभए तापनि बैंकहरूको व्यवसाय प्रभावित भएकाले नाफाको वृद्धिदर घटेको छ । कोरोनाका कारण नियमित आम्दानी गर्नेको आम्दानीमा नै असर परेको हुनाले समयमा नै कर्जा असुलीमा समस्या भयो, जसको असर नाफामा देखियो । तर, पछिल्लो समय मर्जर वा एक्विजिसनमा गएका केही बैंक तथा वित्तीय संस्थाको नाफाको वृद्धिदर नघटेको पनि छ । कोरोना महामारीकै कारण संक्रमण रोक्न सरकारले बन्दाबन्दी गरेका कारण व्यवसाय नचल्दा बैंकहरूले चालू आर्थिक वर्षमा नयाँ लगानी बढाउन सकेका छैनन्, जसका कारण असार मसान्तसम्ममा त बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएकै थियो । असोजपछि बिस्तारै नयाँ लगानी हुन थालेको भए तापनि छोटो अवधिको ससानो लगानी गरिरहेका बैंक तथा वित्तीय संस्थाले कर्जा तिर्नकै लागि सर्वसाधारण तथा उद्योगी–व्यवसायीलाई सहजीकरण गर्न कर्जा पनि दिएका छन् । तर, आर्थिक क्रियाकलाप पूर्ण रूपमा नियमित हुन जति ढिलो हुन्छ, त्यति नै बैंकहरूलाई मार पर्छ । त्यसैले सरकारले यसलाई कति गम्भीरतापूर्वक लिएको छ, त्यसले अर्थतन्त्रलाई चलायमान पनि बनाउँछ । साथै, पछिल्लो समय नियमित लगानी नबढ्दा बैंकहरूसँग उच्च तरलता उच्च भई प्रतिस्पर्धा बढेका कारण ब्याजदर पनि घटेको छ । यसरी सस्तो ब्याजदरमा प्रतिस्पर्धा गर्दा बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने सर्वसाधारणलाई मर्का पर्छ भने सस्तो ब्याजदरले लगानी अनुत्पादक क्षेत्रमा जाने खतरा पनि बढ्छ ।