तीन करोडको क्षति, २५६ परिवारको बिचल्ली «

तीन करोडको क्षति, २५६ परिवारको बिचल्ली

गोठीगाउँ आगलागी

जुम्ला-तिला गाउँपालिका–७ गोठीगाउँमा मंगलबार साँझ साढे ५ बजे भीषण आगलागी हुँदा ३२ घर जलेर नष्ट भएका छन् । स्थानीय बरब रोकायाकोे चुलोको पाइपबाट एक्कासि सल्किएको आगोले गाउँ नै खरानी बनाएको हो । गोठीगाउँमा रहेका जम्मा ५४ घरधुरीमध्ये ३२ घर एकाएक खण्डहरमा परिणत हुँदा सयौं स्थानीयको विचल्ली भएको छ ।
स्थानीय परिमल रोकायाले भने, “गोठी गाउँका ३२ घर खरानी भएपछि ३२ घरका २ सय ५६ घरपरिवारको बिचल्ली भएको छ । शरिरमा लगाएको बाहेक न त आँगनमा लगाउने लत्तो छ, न खाने गाँस नत बस्ने बास छ । कठ्यांग्रिँदो जाडोमा घरबारविहीन बन्न पुगेका बालबालिका र ज्येष्ठ नागरिक सबैभन्दा बढी पीडित बनेका छन् ।”
जुम्ला सदरमुकाम देखि ४२ किलोमिटर टाढा पश्चिममा पर्ने गोठीगाउँका २ सय ५६ घरपरिवार विस्थापित भएका छन् । आगोले जल्न बाँकी रहेका घरमा कोचिएर बसेका छन् । अधिकांश खुला आकाशमुनि त्रिपाल टाँगेर बस्न बाध्य भएको रोकायाले उल्लेख गरे । आगलागीले दुईवटा घरमा सामान्य क्षति पुगेको छ । ३० घर जलेर पूर्णरुपमा नष्ट भएको र बाँकी २२ घरलाई आगलागीबाट बचाउन सफल भएको घटनास्थलमा पुगेका प्रहरी निरीक्षक नवीन थापामगरले बताए ।
गाउँमा सडक पुगेपनि तिला नदीमा पुल नहुँदा दमकल, सुरक्षाकर्मी समयमै आउन सक्ने अबस्था छैन । जसका कारण हेर्दा हेर्दै घर खरानी भएको स्थानीय गोविन्द रोकायाले दुखेसो गरे । गोविन्द रोकाया जस्तै लाल बहादुर रोकाया, परिमल रोकाया, बल रोकाया, धन बहादुर रोकाया, परे रोकाया लगायत ३२ जनाको घर जल्दा विस्थापित भएका हुन् ।

३ करोड १८ लाखको क्षति
गोठीगाउँ आगलागीबाट ३ करोड १८ लाखको क्षति भएको छ । प्रहरीको मुचुल्का अनुसार मानवीय क्षति नभए पनि करिब तीन करोड १८ लाखबराबरको भौतिक धनमाल क्षति भएको हो । जसमा ३२ घरभित्र राखिएका अन्नपात, लत्ताकपडा, भाँडावर्तन सबै जलेर नष्ट भएको प्रहरी निरीक्षक नविन थापामगरले बताए । चुलाको पाइपबाट आगोको झिल्को बाहिर गएर छतमा राखिएको घाँसमा टिपेको र त्यहीँबाट आगलागी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ ।
आगलागीको खबर आएलगत्तै मंगलबार राति नै १८ प्रहरी र सशस्त्रका नौ प्रहरीको टिम घटनास्थल पुगेको थियो । आगलागीबाट ९२ गाईगोरु, ४० भेडाबाख्रा, २० वटा खरायो र २६ कुखुरा जलेर मरेको स्थानीयले बताएका छन् । त्यस्तै दुई सय ४८ क्विन्टल अन्नपात, ६ लाख ४७ हजारबराबरको लत्ताकपडा जलेर नष्ट भएको स्थानीय परबहादुर रोकायाले बताए ।

एकद्वार प्रणालीबाट राहत वितरण
गोठीगाउँका अग्निपीडितलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय भएको छ । स्थानीय गैरसरकारी संस्थासँग समन्वय गरेर अग्निपीडितलाई राहत दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । उनका अनुसार प्रशासनबाट पाँच जनासम्मको परिवारलाई १५ हजार र पाँचजनाभन्दा बढी परिवार भएकालाई २० हजारका दरले तत्काल राहत उपलब्ध गराउने निर्णय भएको छ ।
साथै, विहिबार विहानै कर्णाली प्रदेशका कानुन मन्त्री नरेश भण्डारी र प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको टोली राहत सामाग्री लिएर हेलिकप्टरमा गोठीगाउँ पुगेको छ । प्रशासनको तर्फबाट हातमै नगद तथा लत्ताकपडा राहत दिइएको छ ।
कर्णाली प्रदेश सरकारले गोठीगाउँबासीका लागि ८९ थान न्यानो कम्बल, सात रोल पि–फर्म, नौ क्वीन्टल चामल, दुई बोरा नुन, सात पेटी तेल, १५० केजी दाल, २० केजी खुर्सानी बेसार र २८ सेट भाँडाकुडा राहत मन्त्रालयले दिएको मन्त्री भण्डारीले बताए । अग्निपिडितको दिर्घकालिन पुनस्र्थापनाका प्रक्रिया अघि बढाइने कानुन भण्डारीको भनाइ छ ।
गाउँपालिका अध्यक्ष रतननाथ योगीले सरकारका गृहमन्त्री राम बहादुर थापा संग अग्निपिडितको पुनस्र्थापनाका लागि पहल गरेको र प्रति परिवारलाई ५ लाख राहत दिने प्रतिबद्धता गरेको उल्लेख गरे । साथै जुम्लाका गैरसरकारी निकायहरु पनि विभिन्न राहत सामाग्री दिन तयार रहेका छन् । तर हाल केहि दिनका लागि पुग्ने राहत दिएपनि सडकको पहुँच नभएका कारण नाग्म तथा नजिकैको सेरी बजारबाट केहि दिनमा पर्याप्त खाद्यान्न वितरण गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्