ड्रोनबाट विमानस्थल सर्भे «

ड्रोनबाट विमानस्थल सर्भे

वि.सं. २०१९ सालमा साबिकको बेलाहारा ५ फौदेटारमा विमानस्थल बन्ने चर्चा चल्यो । मोटर समेत नदेखेका गाउँले करेसामै विमानस्थल बन्ने भएपछि खुसीले उफ्रिए । अढाइ सय वर्षदेखिको प्रशासनिक केन्द्र रहेको धनकुटामा विमानस्थल सहित सडक, खानेपानी, शिक्षा, संचार, स्वाथ्यलगायतका पूर्वाधार बन्ने भाएकाले स्थानीयले आफूलाई भाग्यमानी सम्झे । छानै उडाउला जस्तो गरेर गाउँ नै थर्काउँदै हेलिकप्टर बस्यो । हेलिकप्टर चडेर आएका मान्छेले सात दिन लगाएर पाखाभित्ता नापेर गए तर हवाइजहाज मैदानको काम एक रति अघि बढेन । त्यसपछि स्थानीयको आशा हरायो । त्यस्को करिब २३ वर्षपछि धनकुटाको बेलहरा डाँडामा विमानस्थल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन सुरु भएको छ ।
धनकुटा नगरपालिका वडानम्बर आठ बाघखोरमा मध्यम खालका विमान उडान र अवतरण गर्न सक्ने विमानस्थल निर्माणका लागि ड्रोन क्यामेरा प्रयोग गरी अध्ययन भइरहेको छ । पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमार्फत आएको कन्सल्ट्यान्ट इन्जिनियर गुरुदत्त अधिकारीको नेतृत्वमा आएको पाँच सदस्यीय टोलीले विमानस्थल निर्माणका लागि प्रस्तावित स्थलको विस्तृत अध्ययनपछि आउँदो ६ महिनाभित्र आफूले तयार पारेको डिपिआरको अन्तिम प्रतिवेदन बुझाउनेछ । एक हजार तीनसय मिटर लम्बाइको धावन मार्ग तथा दुई सय मिटर चौडा रहने विमानस्थलमा धावनमार्ग, पार्किङस्थल, टर्मिनल भवन, सुरक्षा पोस्टलगायतका संरचना तयार पार्न मुअब्जाबाहेक करिब दुइ अर्ब रुपैयाँ खर्च लाग्ने इन्जिनियरहरूको प्रारम्भिक अनुमान छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिपछि चालु आर्थिक वर्षका लागि विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन तथा अन्य प्रारम्भिक कामका लागि अर्थमन्त्रालयले दुई करोड रुपैयाँ उपलब्ध गराइसकेको छ । विमानस्थल निर्माणका क्रममा बाघखोरका करिब ५० घरपरिवार विस्थापित हुने वडा नम्बर नौ का अध्यक्ष सन्दीप रायमाझीले बताए । विस्थापित हुन सक्ने स्थानीयलाई मुअब्जा दिने वा अन्यत्र स्थानान्तरण गर्ने भन्ने विकल्पका बारेमा छलफल भइरहेको उनले बताए । विमानस्थल बन्ने भएसंगै स्थानीयमा पनि खुसी छाएको छ । रायमाझीले भने, “वर्र्षाैं देखिको विमानस्थलको सपना पूरा हुने भयो । यसले बेलाहाराको मात्र नभएर समग्र धनकुटा र पहाडी जिल्लालाई समेत आशा बढाएको उनले बताए ।

विमानस्थल सर्भेका लागि उडाएको ड्रोन हेर्दै स्थानीय

प्रतिक्रिया दिनुहोस्