Logo

कोभिडले बैंकको नाफा खुम्चियो


कोभिड–१९ महामारीका कारण चालू आर्थिक वर्षको पुससम्ममा वाणिज्य बैंकहरूको नाफा खुम्चिएको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूमध्ये बिहीबारसम्म २६ बैंकले अर्धवार्षिक वित्तीय विवरण प्रकाशित गरेका छन् । यस अवधिमा यी बैंकहरूले २९ अर्ब २६ करोड रुपैयाँ खुद नाफा गरेका छन् । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.१८ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिसम्ममा यी बैंकहरूले २९ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा गरेका थिए ।
कोभिडका कारण बैंकहरूको व्यवसाय प्रभावित भएकाले नाफा घटेको बताउँछन्, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय । “कोभिडको प्रभावले बैंकहरूको व्यवसाय वृद्धिमा असर प¥यो,” उनले भने, “अर्कोतर्फ कर्जा असुलीसमेत राम्रोसँग हुन नसक्दा नाफामा असर देखिएको छ ।”
२०७७ पुससम्म वित्तीय विवरणमा अधिकांश बैंकहरूको नाफा घटेको छ । वित्तीय विवरण प्रकाशित गरेका २६ बैंकमध्ये १० वटाको बैंकको मात्र नाफा वृद्धि भएको छ भने १६ बैंकको घटेको छ । नाफा बढेका बैंकहरूले पनि हालै अन्य बैंक तथा वित्तीय संस्था मर्जर वा एक्विजिसनका कारण मात्र नाफा बढाएको देखिन्छ ।
पुससम्ममा कुमारी, एमएमबी, प्रभु, ग्लोबल आइएमईलगायत बैंकहरूको नाफा वृद्धि हुँदा हिमालयन, एसबिआई बैंक, स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्टलगायत बैंकको नाफामा गिरावट आएको छ । पुसमा सबैभन्दा बढी नाफा कुमारी बैंकको ५१ प्रतिशतले वृद्धि भएको छ । यसैगरी सबैभन्दा बढी नाफा घट्नेमा हिमालयन बैंकको करिव ६३ प्रतिशतले गिरावट आएको छ ।
कोरोनाका कारण व्यवसाय नचल्दा बैंकहरूले चालू आर्थिक वर्षमा नयाँ लगानी बढाउन सकेका छैनन् । छोटो अवधिको स–सानो लगानी गरिरहेका बैंकले कर्जा तिर्नकै लागि समेत कर्जा दिएका छन् ।


यसैगरी बैंकहरूसँग तरलता उच्च भई प्रतिस्पर्धाका कारण ब्याजदर पनि घटेको छ । कोरोनाका कारण समस्यामा रहेका उद्योगबाट कर्जाको साँवा तथा ब्याजको किस्तासमेत उठ्न सकेको छैन । राष्ट्र बैंकले गत आर्थिक वर्षको कर्जा तिर्ने म्याद गत पुस मसान्तसम्म दिएका कारण बैंकहरूले असुलीमा त्यति चासो दिएका छैनन् । यसैगरी, कालोसूची र लिलामीको प्रक्रिया सुरु भएलगत्तै विरोध हुन थालेपछि समेत बैंकहरू ऋण असुलीमा आक्रामक हुन सकेका छैनन् । जसका कारण पनि बैंकको नाफा खुम्चिएको विश्लेषण गरिएको छ ।
बैंकहरूको अर्धवार्षिक नाफा (रु. करोडमा)

प्रतिक्रिया दिनुहोस्