Logo

कोषमा योगदान आठ गुणा बढ्यो

अनौचारिक क्षेत्रका ७ प्रतिशत श्रमिक सूचीकृत
सामाजिक सुरक्षा कोषमा श्रमिकको योगदान रकम चालू वर्षमा उत्साहजनक रूपमा बढेको छ । योगदानमा आधारित सामाजिक सुरक्षाको योगदान रकम गत वर्षको पहिलो ६ महिनाको तुलनामा चालू आवको सोही अवधिमा आठ गुणाले वृद्धि भएको पाइएको छ ।
गत आर्थिक वर्षको पुषसम्म श्रमिकले ४३ करोड रुपैयाँ जम्मा गरेकोमा चालू आर्थिक वर्षको ६ महिनामा वृद्धि भएर ३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा कोषमा योगदान गर्ने श्रमिक तथा कर्मचारीको संख्यामा वृद्धि भएसँगै योगदान रकम बढेको सामाजिक सुरक्षा कोषले जनाएको छ । गत वर्षको सो अवधिमा १ लाख ३६ हजार ८ सय ४७ सूचीकृत योगदानकर्ता रहेकोमा चालू आवमा सो संख्यामा ३६ प्रतिशत वृद्धि भएर १ लाख ८७ हजार १ सय ७ पुगेको छ । यसैगरी योगदान रकम पनि ४३ करोड १७ लाख ६२ हजार ७ सय ६ बाट ८ सय प्रतिशत वृद्धि भएर ३ अर्ब ८१ करोड ८१ लाख ७० हजार १३१ रुपैयाँ पुगेको छ । यसैगरी सूचीकृत रोजगारदाताको संख्या यो अवधिमा १२ हजार ३४ बाट ९ प्रतिशत वृद्धि भएर १३ हजार १ सय ४० पुगेको छ ।
कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले हालसम्म ८३ हजार ७ सय ६४ योगदानकर्ताबाट नियमित रुपमा योगदान वापत जम्मा भएको रकम ३ अर्ब ८१ करोड ८२ लाख पुगेको बताए । उनका अनुसार कोषले सञ्चालन गरेका विभिन्न सुविधा योजनाअन्तर्गत जम्मा १ हजार ७ सय ७७ योगदानकर्ता र निजका आश्रित परिवारका सदस्यहरूलाई करिब ३ करोड़ ९ लाख रकम दावी भुक्तानी समेत गरिसकिएको छ ।
योगदान रकम वृद्धि भए पनि पछिल्लो समय योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागिको संख्यामा न्यूनता आएको देखिएको छ । हाल औपचारिक क्षेत्रमा २६ लाख ७५ हजार रोजगार रहे पनि १ लाख ८७ श्रमिकमात्र योजनामा आवद्ध रहेका छन् । कूल रोजगारीमा रहेका व्यक्तिको संख्या करिब ७० लाख ८६ हजार रहेकोमा सोको ३७.८ प्रतिशत अर्थात २६ लाख ७५ हजार औपचारिक क्षेत्रमा रोजगार रहेका छन् ।
हालसम्म अनौपचारिक क्षेत्रका ४४ लाख श्रमिक योगदानदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुन सकेका छैन । कोष यस्ता श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने तयारी गरेको छ । सूचीकरणको लागि सरकार तथा कोषबाट आवश्यक अभियान सञ्चालन गरिएको भएपनि कूल रोजगारीको अवस्था तथा रोजगारदातको संख्याको आधारमा हालसम्म सूचीकृत रोजगारदाता तथा योगदानकर्ताको संख्या पर्याप्त नभएको ट्रेड अधिकारकर्मीको भनाइ छ ।
औपचारिक क्षेत्रमा कार्यरत सबै श्रमिकलाई कोषमा आवद्ध गर्नको लागि समेत कठिन भइरहेको अवस्थामा अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउनु थप चुनौतिपूर्ण रहेको छ । रोजगारीका अनौपचारिक क्षेत्रमध्ये कृषि क्षेत्रको योगदान २० प्रतिशतभन्दा बढी रहेको छ अर्थात १४ लाख ३४ हजार जना कृषिको अनौपचारीक क्षेत्रमा कार्यरत छन् । अनौपचारिक क्षेत्र अन्तर्गतको अस्थायी र मौसमी प्रकृतिको कृषि क्षेत्रमा कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन कोषवाट विशेष योजना तथा कार्यक्रम तय हुनु पर्ने अधिकारकर्मीको भनाइ छ ।

रोजगारदातालाई रकम जम्मा गर्न अनुरोध
कोषले योगदानकर्ताहरूको योगदान रकम निर्धारित समयमा जम्मा गर्न रोजगारदाताहरूलाई अनुरोध गरेको छ । केही रोजगारदाताले समयमै श्रमिकको योगदान रकम कोषमा जम्मा नगरेका कारण योगदानकर्ताले कोषबाट प्राप्त हुने सुविधाहरूबाट बन्चित हुने जनाउँदै रकम समयमा जम्मा गर्न अनुरोध गरेको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा ४ को उपदफा ४ मा महिना समाप्त भएको १५ दिनभित्र योगदान रकम कोषमा दाखिला हुने गरी जम्मा गरिसक्नु पर्ने कानुनी व्यवस्था रहेको छ । यसरी निर्धारित समयभित्र रकम जम्मा नगरेमा ऐन बमोजिमका सामाजिक सुरक्षा सुविधा प्राप्त नगर्ने व्यहोरा ऐनको दफा ३ मा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्