होटल मजदुरको तलब फेरि घट्यो «

होटल मजदुरको तलब फेरि घट्यो


कोरोना महामारीको असर लम्बिँदै जाँदा होटल व्यवसायीले मजदुरको तलब पुनः घटाएका छन् । यसअघि गत असार अन्तिम साता पनि मजदुरको तलब घटाएका व्यवसायीले विभिन्न ट्रेड युनियनसँग सहमति गरी त्यसको पनि थप आधा बराबर तलब घटाएका हुन् । पर्यटक आगमन शून्य बनेसँगै सञ्चालन खर्च नै धान्न नसक्ने अवस्थामा पुगेका व्यवसायी र मजदुरबीच भएको पछिल्लो सहमतिपछि अब मजदुरले न्यून तलब पाउनेछन् ।
होटल व्यवसायीहरूको संस्था हान र तीनवटा मजदुर संगठनबीच भएको सहमति पर्यटकस्तरीय तथा तारे होटलमा मात्र लागू हुनेछ । मंगलबार बेलुका भएको सहमतिअनुसार पाँच, चार, तीन, दुई र एक तारे होटेलमा कार्यरत कर्मचारीलाई क्रमशः पाँच हजार, चार हजार, तीन हजार, दुई हजार पाँच सय र दुई हजार मासिक दिने सहमति भएको छ । यसअघि पाँच तारे डिलक्स होटलमा कार्यरत मजदुरले १० हजार तथा पाँचतारे होटलले ९ हजार पाउने सहमति थियो । यस्तै, चारतारे होटलका मजदुरको ८ हजार ४ सय ५५ रुपैयाँ तथा तीनतारे र दुईतारे होटलका मजदुरका लागि क्रमशः ५ हजार र ४ हजार ३ सय रुपैयाँ पाउने सहमति थियो । एक तारे तथा पर्यटकीयस्तरका मजदुरको भने आपसी सहमतिमा तय गर्ने उल्लेख थियो ।
असारमा भएको सहमति डिसेम्बरसम्म लागू हुने भनिएको थियो । उक्त सहमतिको समयावधि सकिएसँगै होटल संघ नेपाल र पर्यटन तथा होटल क्षेत्रमा क्रियाशील केन्द्रीय ट्रेड युनियन संघ संगठनहरूबीच सहमति भएको हानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कोभिड–१९ को विश्वव्यापी महामारीका कारणबाट सरकारद्वारा गरिएको बाध्यात्मक लकडाउनबाट होटल व्यवसाय व्यापारको लागि पूर्ण रूपमा ठप्प भइ काबु बाहिरको विषम परिस्थितिको निरन्तरता भएकोले यस्तो सहमति गरेको जनाइएको छ । पर्यटन क्षेत्रमा कोभिड–१९ का कारणले कुनै सुधार नआएको हुनाले श्रमिक तथा कर्मचारीको जीवनयापनसहित रोजगारीमा सहजीकरण होस् भन्ने हेतुले नयाँ सहमति गरिएको हानले जनाएको छ । जसअनुसार चाडपर्व खर्च, बोनस र भ्रमण भत्ता श्रमिक तथा कर्मचारीहरूलाई उपलब्ध गराइने छैन । होटल सञ्चालनका लागि चक्रीय प्रणालीमार्फत आवश्यकताको आधारमा आलोपालो गरी श्रमिक तथा कर्मचारीहरूलाई काममा लगाइने सहमतिमा उल्लेख छ । काममा लगाइएका त्यस्ता श्रमिक तथा कर्मचारीहरूलाई निजहरूले खाइपाई आएको पारिश्रमिक उपलब्ध गराइने जनाइएको छ ।
सहमतीको समयावधिभर तालिमे, करार, दैनिक ज्यालादारी र आउटसोर्सिङका श्रमिकहरूलाई काममा नलगाउने सहमति भएको छ । तर बैंकट सेवाका लागि मात्र आवश्यक पर्ने देखिएमा तालिमे, करार, दैनिक ज्यालादारी र आउटसोर्सिङका श्रमिकहरूलाई व्यवस्थापनले काममा लगाउनसक्ने सहमतिमा भनिएको छ । सहमति अवधिभर काममा नबोलाइएको समयमा बिदाको सुविधा श्रमिक तथा कर्मचारीहरूले दावी गर्न पाउने छैनन् भने यो सहमति सन् २०२१ डिसेम्बर ३१ सम्म कायम रहने उल्लेख छ ।
सहमतिमा होटल संघ नेपालको तर्फबाट अध्यक्ष सृजना राणासहित अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघका अध्यक्ष माधव पाण्डे, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन, नेपालका अध्यक्ष खेमराज खड्काले हस्ताक्षर गरेका छन् ।
नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनका अध्यक्ष सूर्यबहादुर कुँवरले रोजगारी ग्यारेण्टीका लागि सहमति भएको बताए । उनले भने, “यो विषम परिस्थितिमा पनि मजदुरले रोजगारी गुमाउनु परेन, नेपालको ट्रेड युनियनको इतिहासमा पहिलो पटक यस्तोे सम्झौता भएको छ । घरमा बसेर पनि मजदुरले तलब पाउने भएका छन् ।”

प्रतिक्रिया दिनुहोस्