चलचित्र क्षेत्रलाई सम्मानित क्षेत्रको रुपमा स्थापित गर्न सुझाव «

चलचित्र क्षेत्रलाई सम्मानित क्षेत्रको रुपमा स्थापित गर्न सुझाव


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालको चलचित्र र संगीत क्षेत्रलाई सम्मानित पेशको रुपमा स्थापित गर्नुपर्ने बताएका छन् । महासंघको चलचित्र तथा मनोरञ्जन फोरम विस्तार गर्दै अध्यक्ष गोल्छाले कला संस्कृति मुलुकको पहिचान भएकाले सबैले संरक्षण गर्नुपर्ने बताएका हुन् ।
उनले समग्र चलचित्र र यससंग जोडिएका अन्य व्यवसायलाई सम्मानित ढंगबाट अगाडी लैजान र सम्पूर्ण कलाकार, गीतकार, सर्जकहरुको संरक्षणमा काम गर्न समेत फोरमलाई आग्रह गरे । चलचित्र तथा गीत संगीत उद्योगले आयात गर्ने उपकरणहरूमा राज्यले विशेष छुट दिनुपर्नेमा अध्यक्ष गोल्छाको जोड छ ।
चलचित्र क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा राज्यको ध्यान जानुपर्ने भन्दै अध्यक्ष गोल्छाले यस क्षेत्रलाई अझबढी सम्मानित क्षेत्रको रूपमा स्थापित गराउने कार्यमा विशेष भूमिका निर्वाह गर्न फोरमलाई आग्रह गरे ।
महासंघको कार्यकारिणी समितिका सदस्य आकाश अधिकारीकोे सभापतित्वमा गठित चलचित्र तथा मनोरञ्जन फोरमका सह–सभापतिहरूमा नेपाल चलचित्र संघका मधुसुदन प्रधान र नेपाल संगित उद्योग संघका अध्यक्ष सूर्यबहादुर मगर चयन भएका छन् ।
फोरमका सदस्यहरूमा रविन्द्रकुमार रिजाल ‘शशी’, सुनिल कटुवाल, मदन घिमिरे, छविराज ओझा, निर्मल ढकाल, तुलसी पराजुलीलगायतका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्