६ महिनामा १६ प्रतिशत मात्र खर्च «

६ महिनामा १६ प्रतिशत मात्र खर्च

बागमतीको बजेट खर्च निराशाजनक

हेटौंडा-बागमती प्रदेशमा वर्षेनी बजेटको आकार बढाइए पनि खर्च गर्ने क्षमतामा भने वृद्धि हुन सकेको छैन । चालु आर्थिक वर्ष २०७७–०७८ को ६ महिनामा बजेट खर्च १६.१९ प्रतिशत मात्र रहेको छ ।
अघिल्लो आर्थिक वर्षको ६ महिनाको अवस्थासँग तुलना गर्दा यस वर्ष खर्चमा केही सुधार भएपनि अपेक्षित प्रगति हासिल हुन सकेको छैन । गत वर्ष ६ महिनामा ९.१० प्रतिशत मात्र खर्च भएको थियो । यस वर्ष कुल ५१ अर्ब ४२ करोड ७४ लाख रुपैयाँको बजेट विनियोजन गरेको प्रदेश सरकारले पुस मसान्तसम्म ८ अर्ब ३२ करोड ६९ लाख ६३ हजार रुपैयाँ मात्र खर्च गर्न सकेको छ । पुँजीगत खर्च त झनै निराशाजनक रहेको छ । कुल २५ अर्ब ३१ करोड ३५ लाख ७९ हजार रुपैयाँ पुँजीगत खर्चको अनुमान गरिएकोमा ६ महिनाको अवधि बितिसक्दा पनि ३ अर्ब २५ करोड २९ लाख १३ हजार रुपैयाँ अर्थात १२.८५ प्रतिशत मात्र खर्च हुन सकेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
चालुतर्फको खर्चको प्रगति भने १७.८२ प्रतिशत रहेको छ । कुल २५ अर्ब ११ करोड ३९ लाख १५ हजार रुपैयाँ चालु खर्च छुट्याइएकोमा पुस मसान्तसम्ममा ४ अर्ब ४७ करोड ४० लाख ५० हजार रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख हरिप्रसाद उपाध्यायले जानकारी दिए ।
उनका अनुसार स्थानीय तहहरुलाई विनियोजन गरिएको बजेट खर्चको अवस्था भने सन्तोषजनक रहेको छ । स्थानीय तहहरुलाई विभिन्न ४ प्रकारका अनुदानस्वरुप छुट्याइएको कुल ७ अर्ब २४ करोड ३१ लख ६१ हजार रुपैयाँमध्ये पुस मसान्तसम्ममा २ अर्ब ३६ करोड ७९ लाख ५१ हजार रुपैयाँ अर्थात ३२.६९ प्रतिशत बजेट निकासा भइसकेको छ । समपुरक र विशेष अनुदानका कार्यक्रमहरु यस वर्ष चाँडै नै छनौट भएर आएकाले स्थानीय तहमा सबै प्रकारका अनुदान निकासा नियमित भइरहेको उपाध्यायले बताए ।
मन्त्रालयगत रुपमा सबैभन्दा बढी प्रगति सामाजिक विकास मन्त्रालयको रहेको देखिएको छ । मन्त्रालयले ६ महिनाको अवधिमा एक अर्ब १६ करोड ९९ लाख अर्थात छुट्याइएको बजेटमध्ये १७.७७ प्रतिशत खर्च गरेको छ । त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयले पनि पुस मसान्तसम्ममा २ अर्ब ९४ करोड २७ लाख ६५ हजार रुपैयाँ अर्थात मन्त्रालयलाई प्राप्त बजेटमध्ये १६.५२ प्रतिशत खर्च गरिसकेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले २ करोड ४९ लाख १५ हजार अर्थात १५.५१ प्रतिशत खर्च गरेको छ भने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पनि ६ महिनाको अवधिमा १३ करोड ४६ लाख ४७ हजार अर्थात १५.३० प्रतिशत खर्च गरेको प्रमुख लेखा नियन्त्रक उपाध्यायले बताए ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ४७ करोड ५० लाख ६२ हजार रुपैयाँ अर्थात १२.८ प्रतिशत बजेट खर्च गर्दा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ४५ करोड १९ लाख २६ हजार रुपैयाँ अर्थात ११.९७ प्रतिशत बजेट खर्च गरेको लेखा नियन्त्रक कार्यालयको तथ्यांकमा उल्लेख छ ।
प्रदेश सरकारले वित्तीय व्यवस्थातर्फ सरल कृषि कर्जाका लागि एक अर्ब रुपैयाँ छुट्याएकोमा ६० करोड रुपैयाँ खर्च भइसकेको जनाइएको छ । चालु वर्षको पहिलो चौमासिकमा ८.११ प्रतिशत मात्र बजेट खर्च देखिएकोमा २ महिनाको अवधिमा बजेट खर्चको दर बढेको देखिएको छ ।
प्रदेशले बितेको आर्थिक वर्षमा कुल ५८ प्रतिशत मात्र बजेट विनियोजन गरेको थियो । त्यसअघिको वर्षमा ६२ प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले वर्षेनी बजेटको आकार थप्दै लगेता पनि खर्चको अवस्थामा भने सुधार गर्न सकेको छैन । सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेशले यो वर्ष भने खर्चमा उल्लेख्य प्रगति गर्ने दावी गरे । प्रदेश सरकारले काम गर्ने शैलीलाई व्यवस्थित गर्दै लगेको बताउँदै उनले यो वर्ष बजेट खर्च ८० प्रतिशतभन्दा बढी हुने अनुमान गरे । कोरोनाका कारण स्वास्थ्य तथा अन्य क्षेत्रमा बढी खर्च भएको बहुवर्षीय कामहरुको भुक्तानी पनि चालु वर्षमै हुने भएकाले खर्चको अवस्था सुधार हुने उनको दावी छ

आम्दानीको अवस्था सन्तोषजनक
प्रदेशको आम्दानीको अवस्था भने सन्तोषजनक नै देखिएको छ । अघिल्लो वर्षको राजस्व बचतबाट १६ अर्ब ५६ करोड रुपैयाँ सरेर आएकाले आम्दानीको प्रतिशत बढेको देखिएको छ । ६ महिनामा कुल आम्दानी अनुमानको ६१.१९ प्रतिशत लक्ष्य हासिल भइसकेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । ५१ अर्बको अनुमानमा ३१ अर्ब ४७ करोड १ लाख रुपैयाँ जम्मा भइसकेको प्रमुख लेखा नियन्त्रक उपाध्यायले बताए ।
६ महिनाको अवधिमा प्रदेशले आन्तरिक आम्दानीतर्फ २ अर्ब २८ करोड १५ लाख ४७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ भने राजस्व बाँडफाँडबाट ७ अर्ब ३८ करोड ७१ लाख ३४ हजार रुपैयाँ प्राप्त गरेको छ । यस अवधिमा संघीय सरकारबाट ४ अर्ब ३१ करोड १७ हजार रुपैयाँ अनुदान पाएको छ । गत वर्षको नगद दाखिलाअन्तर्गत ९३ करोड ७ लाख ४३ हजार रुपैयाँ प्रदेशको खातामा जम्मा भएको छ ।

प्रतिक्रिया दिनुहोस्